जात्रा पर्वफाेटाे फिचरसंस्कृति

गुह्येश्वरी जात्रा

१४ मंसिर २०७८,
शरण डंगोल, काठमाडौं ।

उपत्यकामा रहेका शक्तिपीठहरुमध्ये हरेक वर्ष मार्गकृष्ण दशमीका दिन पाशुपत क्षेत्रमा रहेको एक शक्तिपीठ एक गुह्येश्वरीको जात्रा गरिन्छ ।

गुह्येश्वरी देवीको जात्रा गर्नुअघि मार्गकृष्ण अष्टमीका दिन शुभ साइतमा गुह्येश्वरी क्षेत्रमा ३२ हाते यसिं ठड्याई पूजा गरिन्छ । यसिं ठड्याइसकेपछि गुह्येश्वरीको जात्रा सुरु हुन्छ ।

तस्बीर © शरण डंगोल

नवमीका दिन जात्रा गर्ने क्रममा गुह्येश्वरीको खट जात्रा गरी हनुमानढोबाट गुह्येश्वरी र तलेजु भवानीलाई पनि खटमा राखी परम्परागत बाजा बजाई राजकीय सम्मानका साथ गुरुजुको पल्टनले तोप पड्काएर गुह्येश्वरीको खट जात्रा गरी पाशुपत क्षेत्रमा अवस्थित गुह्येश्वरीको मन्दिरमा पु-याइन्छ । गुह्येश्वरी मन्दिरमा पुगेपछि मन्दिरभित्र गुह्येश्वरी र तलेजु भवानीलाई राखिन्छ । राति बलि सहितको तान्त्रिक तथा वैदिक गुह्य पूजाहरु गरिन्छ ।

मार्गकृष्ण दशमीका दिन गुह्येश्वरी देवीको मुख्य जात्रा गरिन्छ । गुरुजुको पल्टनले सलामी स्वरुप तोप पड्काई गुह्येश्वरीको खटलाई जात्रा गर्दै हनुमान ढोकामा पु-याइन्छ ।

यस बिचमा गुह्येश्वरी देवीको खटलाई बागमती खोलाबाटै पारी ल्याई विभिन्न स्थानमा पूजा लिई खटलाई पशुपती मन्दिर भित्रै लगिन्छ र देवाधिदेव श्री पशुपति नाथसँग भेटघाट गराइन्छ । यसरी खटलाई मन्दिर भित्रै लगिने केही जात्रामा यो जात्रा पनि एक रहेको छ । त्यसपछि अमालकोटद्वारा पूजा गर्नको लागि जयबागेश्वरी स्थित डबलीमा केही बेर विसाई विशेष पूजा आजा हुन्छ ।

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

आज एकादशीको दिन गुहेश्वरी देवी र तलेजु भवानीलाई तलेजु मन्दिरमा भित्र्याएपछि गुह्येश्वरी देवीको जात्रा समाप्त हुन्छ ।

एक किम्बदन्ती अनुसार कुनै समय नेपाल मण्डलमा तेल बेच्दै आइरहेको एकजना साल्मीले जङ्गलको बाटोमा गुह्येश्वरी देवी भेटेछन् । यही भेटका कारण गुह्येश्वरी देवीलाई साल्मी मानन्धरहरूले आदरसाथ मान्ने गरेका हुन् । साल्मीहरू त्यसमा पनि झोछें र वसन्तपुरका माक परिवारका साल्मीहरूले गुह्येश्वरी देवीलाई विभिन्न किसिमका आभूषण चढाइराखेको पाइन्छ । त्यसैले अहिलेसम्म पनि मार्गकृष्ण दशमीका दिन गुह्येश्वरी देवीस्थानमा ‘तिसाः बिचाः’ गर्न जाने भन्दै पूजा गर्न जाने चलन अद्यापि कायमै छ ।

अर्को एक किम्बदन्ती अनुसार हनुमानढोकाबाट तलेजु भवानी निस्कन्छ र गुह्येश्वरी शक्ति पीठमा तान्त्रिक एवं वैदिक पूजाद्वारा शक्ति साधना पश्चात् गुह्यश्वरी देवी भै पुनः तलेजु मन्दिर भित्रै प्रवेश गराइन्छ ।

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

श्रुतिकथन अनुसार श्री ३ चन्द्र शम्शेरको पालामा जात्रामा गुह्येश्वरी देवीलाई जाँड रक्सीले पूजा गरी भोज खाइरहेको देखेपछि प्रधानमन्त्रीले जनताको स्वास्थ्यमा असर पर्ने भएकोले जाँड रक्सीमा प्रतिबन्ध लगाएको रहेछ । प्रतिबन्ध लगाएपछि भगवानलाई पनि चढाउन पाएनन् । यसै क्रममा दरबारबाट ल्याएको पूजा अन्तरगत समयबजी र १०८ अण्डा चढाउँदा सबै माथि नै रहिरहे कुण्ड भित्र गएनन् । यसरी कुण्डभित्र केही पनि नगएकाले सबैले आश्चर्य माने । सायद गुह्यश्वरी देवीकै प्रतिरुप हुनुपर्छ, एक जना बूढी आइमाई दर्शन गर्न जाने भनी भित्र गएर पटुकामा लुकाई ल्याएको रक्सी अलिकति चढाउनासाथ सबै प्रसाद कुण्ड भित्र बिलाएर गए । यसरी भएको चमत्कार थाहा पाएर तत्काल प्रतिबन्धित जाँड रक्सी फुकुवा गरी दिए र त्यसमा लाग्ने कर पनि मिनाहा गरे रे ।

तस्बीर © शरण डंगोल

Leave a Reply

Your email address will not be published. Required fields are marked *