महानगर समाचार

कमलपोखरीमा ८५ प्रतिशत काम सम्पन्न, पोखरीमा २० लाख लिटर पानी भरियो

काठमाडौं, ३१ चैत्र २०७७

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुनःनिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिनु भएको छ । १ नं. वडाका वडाध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठलगायतलाई साथमै लिएर पुनःनिर्माण भैरहेको कमलपोखरीको निरीक्षणका क्रममा आज त्यहाँ पुग्नुभएका शाक्यले यस्तो निर्देशन दिनुभएको हो । निरीक्षणका क्रममा प्रमुख शाक्यले जय धनञ्जय कडेँल निर्माण सेवा जेभीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलासँग पुननिर्माणको काममा ढिलासुस्ती भएको भन्दै असन्तुष्टी मात्रै व्यक्त गर्नु भएन उहाँले पटक–पटक सयमसिमा थप गर्ने पक्षमा महानगरपालिका नरहेको प्रष्ट पार्नुभयो । ‘काम जुन गतिका साथ हुनुपर्ने हो त्यो अनुसार भैरहेको छैन,’ शाक्यले भन्नुभयो, ‘पटक–पटक समय थप गर्ने र काममा ढिलासुस्ती गर्ने भन्ने हुँदैन । के–कति काम भएको छ । त्यो सबै विवरण मलाई तत्काल उपलब्ध गराउनुहोला । मलाई परिणाम चाहिया,’ उहाँले भन्नुभयो ।

प्रमुख शाक्यसँगै रहनु भएका काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले अहिले पोखरीमा करीब २० लाख लिटर पानी हालेको जानकारी दिनुभयो । ‘पोखरीमा टनाटन पानी भर्न करीब साढे दुई करोड लिटर पानी आवश्यक पर्छ,’ उहाँले भन्नुभयो, ‘हामी केही दिनभित्रै पानी टनाटन पार्छौँ ।’

करीब एक घण्टा कमलपोखरीको निरीक्षण गर्नुभएका प्रमुख शाक्यले केही व्यक्तिले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भनी अनावश्यक विरोध गरेको भन्दै डिजाइनका बारेमा सामान्य जानकारी समेत नलिई हचुवाका भरमा विरोध नगर्न र विकास निर्माणमा अवरोध नगर्न पनि आग्रह गर्नुभयो ।

शाक्यले निरीक्षणकै क्रममा कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिनुभयो । उहाँले पहिला बेबारिसेर र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएको भन्दै डिजाइन पनि ती सबै कुरालाई ध्यान दिएको प्रष्ट पार्नुभयो । ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका सबै पोखरीहरुको प्रवद्र्धन र संरक्षण गर्ने महानगरपालिकाले अभियान रहेको भन्दै उहाँले त्यहि अभियान अन्तरगत वर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई मास्टरप्लान बनाएर पुननिर्माण गर्ने अभियान अघि बढाएको पनि स्मरण गराउनुभयो । ‘यो अभियान अघि बढाउँदा संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएका हौँ,’ उहाँले भन्नुभयो, ‘दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात कमलपोखरी प्रहरी बीट जुन भत्काइसकेका छौँ त्यो क्षेत्रमा दोस्रो चरणमा कमलपोखरीको क्षेत्र विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्छौ ।’

काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको छ ।

करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि महानगरपालिकाले जानकारी दिएको छ । पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण गर्ने पनि महानगरपालिकाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *