जनगायक भृगुराम श्रेष्ठ सहित विशिष्ट व्यक्तित्वहरु सम्मानित

काठमाडौं, १५ चैत्र २०७७ ।

का.म.पा.का मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा वल्र्ड नेवाः अर्गनाइजेशन, नेपाल च्याप्टरको आयोजनामा हिजो काठमाडौंको वसन्तपुरमा चौथो विश्व नेवाः दिवसको उपलक्ष्यमा एक कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख अतिथि मेयर शाक्यले वर्षमा एक दुईवटा कार्यक्रम चलाउन संस्था दर्ता गरिएको हो भने त्यसको अर्थ नरहने हुँदा समुदायलाई एकजुट गरी त्यसको उत्थान गर्ने कार्यहरुमा महानगरपालिका सदैव साथ रहने बताउँदै सम्पदाको नाममा राजनीति नगरी सम्पदा जोगाउन लागि पर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपालभाषा क्षेत्रमा आ–आफ्नो क्षेत्रबाट अमूल्य योगदान दिने व्यक्तित्वहरु समाजसेवी लक्ष्मीदास मानन्धर, मोतिलाल शिल्पकार, प्रा. प्रेमशान्ति तुलाधर, जनगायक भृगुराम श्रेष्ठ, साहित्यकार भूषणप्रसाद श्रेष्ठ, कलाकार राजकुमार शाक्य, गायक जुजुकाजी रंजित, खेलाडी सब्बारानी महर्जनलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबू, वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरका संस्थापक अध्यक्ष नरेन्द्रभक्त हाडा पुर्व अध्यक्ष पुष्कर माथेमालाई पनि सम्मान गरिएको थियो थियो ।

साथै उक्त कार्यक्रममा उत्तरी र दक्षिणी दुवै मोहडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी वल्र्ड बुक अफ रेकर्डमा नाम दर्ता गराउन सफल नेवाः महिला पत्रकार कल्पना महर्जनलाई नगद सहित सम्मानित गरिएको थियो ।

 

कार्यक्रममा विश्व नेवाः संगठनका केन्द्रीय संरक्षक तथा बौद्धिक व्यक्तित्व स्वर्गिय प्रा. माणिकलाल श्रेष्ठकाे  दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै एकमिनेट मौनधारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

साथै उक्त कार्यक्रममा वल्र्ड नेवाः अर्गनाइजेशनका विविध गतिविधिहरु संलग्न गरीएको विशेषांक पनि विमोचन गरिएको थियो ।

नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेन, कोषाध्यक्ष एवं समारोह समितिका संयोजक सुरेन्द्रभक्त श्रेष्ठ, साहित्यकार भूषणप्रसाद श्रेष्ठ, गायक जुजुकाजी रंजित, विश्व नेवाः संगठनका केन्द्रीय सचिव रश्मिला प्रजापति लगायतले कार्यक्रममा आआफ्नो मन्तव्य राखेका थिए ।

कोभिड संक्रमणको जोखिमका कारण चौथो नेवाः दिवसको अवसरमा तय भएका अन्य कार्यक्रमहरु रद्द गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *