महिला

मिस नेवाः ११४१ कृषा महर्जन सम्मानित

काठमाडौं, ८ चैत्र २०७७ ।

मिस नेवाः ११४१ को उपाधि जित्न सफल भएका कामपा १५ का कृषा महर्जनलाई नेवाः देय् दबू १५ वडा समितिले कामपा १५ वडाका वडाध्यक्ष एवं कामपा प्रवक्ता इश्वरमान डंगोलको प्रमुख आतिथ्यतामा नेवाः परम्परा अनुरुप सगुन दिई सम्मान गरियो ।

प्रमुख अतिथि डंगोलले काठमाडौं महानगरपालिकामा पाइलै पिच्छे धेरै सम्पदा रहेको र ती सम्पदाहरु संरक्षण गर्नको लागि सचेतना कार्यक्रम मिस नेवाः महर्जनबाट सञ्चालन गर्ने जानकारी दिंदै नेवार भाषाका कारणले नै नेवार संस्कृति, सम्पदा संरक्षण भइरहेको कुरालाई मनन गरेर कामपाबाट स्थानीय भाषाको माध्यमबाट काठमाडौंका सम्पदा संस्कृति संरक्षणका लागि स्थानीय विद्यालयमा अनिवार्यरुपमा कक्षा १ देखि ८ सम्म ‘येँ देय् म्हसिके’ पाठ्य पुस्तक समावेश गरिएको बताए ।

विशेष अतिथि नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले नेवार समाजमा छोरीहरुलाई अन्य समाजमा भन्दा आवश्यकता अनुरुप उच्च प्राथमिकता दिइ रहेको कारणले गर्व महसूस गरे ।

‘मिस नेवाः ११४१ कृषा महर्जनले अब चाँडै हुन लागेको जनगणनामा नेवारहरुको संख्या कम हुन नदिन सचेतना कार्यक्रमबाट आफ्नो भूमिका खेल्ने विश्वास लिएको छु ।’ ताम्राकारले भने, ‘नेवाः देय् दबूको पहिलो वडा शाखा १५ वडा समितिले सम्मानित गरेकी कृषा महर्जनले समग्र नेवार जाति, भाषा, कला, संस्कृति उत्थानमा सफलता मिलोस् ।’

कार्यक्रममा नेवाः देय् दबू बागमती प्रदेशका अध्यक्ष उमेश स्थापित, काठमाडौं महानगरपालिकाका अध्यक्ष मचाराजा महर्जनका साथै सम्मानित मिस नेवाः ११४१ की बुबा कृष्णकाजी महर्जन र आमा हसना महर्जन पनि उपस्थित थिए ।

कार्यक्रममा समितिकी सदस्य निर्मला डंगोलले स्वागत मन्तव्य राखेका थिए भने सभापति नेवाः देय् दबू १५ वडा कमितिका अध्यक्ष मनराजा रंजितले सम्मान कार्यक्रममा सहभागिता जनाएर टेवा दिनुभएका सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *