संस्कृति

ग्वलःकाे लोपोन्मुख जीवन्त संस्कृति नागेंचा प्याखँले अन्ततः जीवन्तता पाउने भो

शरण ज्यापु हरि

झण्डै १० वर्ष अगाडि रोकिएको ग्वलः (चाबहिल पशुपति क्षेत्र) को नागेंचा प्याखँ यस वर्षदेखि पुनः निरन्तरता पाउने निश्चित भएको छ । यहाँका जागरुक संस्कृति एवं सम्पदाप्रेमीहरु जलद राज वैद्य, कृष्ण शाक्य लगायतको विगत ४ वर्षदेखिको अनवरत प्रयासपछि निरन्तरता पाउन लागेको हो ।

यस ऐतिहासिक नागेंचा प्याखँको लिखित इतिहास हालसम्म कुनै नभेट्टाए पनि ने.सं. ९३५ को एक लालमोहरमा नखःचखःको खर्चको लागि भनि यस नागेंचा प्याखँको लागि रु. ७ छुट्याइएको देखिन्छ ।

खिं, पश्चिमा, धाः, ताः, नायखिं, छुस्या, मुस्या, झ्याली, ब्याचाः र जोगी बाजा तथा चो, प्रताल, जति आदि तालमा गाइएको गीतमा अन्तिम पटक नाचमा सहभागी रहेका ५ जना कृष्ण शाक्य, सचिन शाक्य, रुपेश शाक्य, निरेश शाक्य र सुजित महर्जन लगायत अन्य ३० युवाहरुको यस नागेंचा प्याखँमा सहभागिता रहने छ ।

यस नाचमा महादेव हुनेको रातो मुकुट सहित सुरुवाल र पटुका लगायत वत्सलामाईको चाँदिको गहना, घंघला र औंठी लगाइन्छ, त्यस्तै पार्वती हुनेको ताज सहित तासको लुगा, जामा, घंघला र औंठी लगायत अन्य गरगहनाहरु लगाइन्छ ।

हरेक वर्ष येँयाः पुन्हिदेखि चार दिनसम्म दिनरात चल्ने यो नाचको शुरुवात जयबागेश्वरीस्थित नासल चोकमा पशुपतिको अमालकोटबाट बलि सहितको नासःद्यःको तान्त्रिक पूजा पश्चात गुथियारहरुलाई प्रसाद पठाइन्छ । साँझपख जयवागेश्वरीका आचाजुले नासल चोकमा चिलाख बाली यहाँबाट पशुपति बासुकी पट्ट चोक, पशुपति मन्दिर, भुवनेश्वरी मन्दिर, पशुपति अमालकोट कचहरी चोक, जयबागेश्वरी मन्दिरमा नाच प्रदर्शन पछि वैद्य चोकमा पुगी सम्पन्न गरिन्छ । दोस्रो दिन पशुपति मन्दिरका मुख्य चार पुजारीको निवास, राम मन्दिर, गोरखनाथ, गुह्येश्वरी, जयबागेश्वरी, नवाली टोल र अन्त्यमा पुनः चोकमा पुग्ने परम्परा छ । तेस्रो दिन चावहिल बहाल र चावहिलस्थित चन्द्रविनायक मन्दिरमा नाच देखाई जयबागेश्वरीको नासल चोकमा चिलाख बिसर्जनपश्चात नाच सम्पन्न हुन्छ ।

आनन्दी जीवन व्यतित गरिरहेका महादेवले आफ्नो प्रियसी पार्वती हराएको हुँदा पागल भै निस्कँदा अन्यमा पार्वतीको रुप देखेर तिनीहरुकै पछि लाग्ने कथाबस्तु समेटिएको नाच हो नागेंचा प्याखँ । यसमा महादेव र पार्वतीबिचको प्रेमभाव देखाइन्छ । महादेवले आफ्नो शक्ति प्रदर्शन गर्ने, पार्वती लुक्ने, महादेवले पार्वतीलाई भौंतारिंदै खोज्ने, दर्शकहरुलाई आफ्नो सम्पत्ति दिन्छु भनी प्रलोभन दिई फकाउने आदि इत्यादि विविध क्रियाकलापहरुले दर्शकहरुलाई रोमाञ्चित तुल्याउँछ ।

यो नाच प्रदर्शन गरिने ४ दिन चारुमती बिहारका सम्पूर्ण सदस्यहरु उपस्थित हुनै पर्ने नियम रहेको छ, तर पाँच थकालीहरुलाई अनिवार्य गरिएको रहेनछ । हाल चारुमती बिहारका पाँच थकालीहरु क्रमशः पूर्णरत्न शाक्य, पूर्णवीर शाक्य, कृष्ण शाक्य, मोहन रत्न शाक्य र गजेन्द्र शाक्य रहेका छन् ।

तस्वीर ः सामाजिक संजालबाट

हिन्दूहरुका आराध्य देव पशुपतिनाथ क्षेत्रका भण्डारी, वैद्य, मानन्धर लगायत र चारुमती विहारका बुद्ध धर्मका पञ्चशीलका अनुयायी बौद्धधर्मावलम्बीहरुद्वारा संयुक्त रुपमा संचालन हुँदै आएको यो नाच धार्मिक सहिष्णुताको एक नमूना रहेको छ । यहाँ पहिले नाचमा सहभागी हुनेहरुमा भण्डारी, वैद्य, मानन्धर लगायतका समुदायबाट हुन्थ्यो भने नाच सिकाउने र बाजा बजाउन सिकाउने जिम्मा चारुमती विहारका शाक्य गुरुजुहरुले गर्दथे । अहिले नागेंचा प्याखँ संरक्षण समितिको संयोजकत्वमा यहाँका शाक्य लगायत अन्य समुदायका व्यक्तिहरुको सहभागितामा गुथिद्वारा नाच संचालन गरिनेछ ।

महादेव पागल भै नाङ्गै भौतारिंदै नाच्दै हिँडेको भएर नेपालभाषामा “नांगाः च्वना हुलिगुु प्याखँ” अपभ्रंश भै “नागेचा प्याखँ”, “नगिचा प्याखँ”, “नागाचाः प्याखँ” “नागिंचाः प्याखँ” आदि हुन गएको पो हो कि ? त्यस्तै यस्ता प्याखँ (नाच) हरुमा महादेवका प्रायः मुकुटहरुमा सेतो, निलो रंगको प्रयोग भएको पाइन्छ भने यस नागेंचा प्याखँमा महादेवको मुकुट रातो रंगको छ । कि विष्णु र महादेवको संयुक्त स्वरुप हरिहर पो हो कि ? नाचको निस्किने समयको सम्बन्धमा अर्को जिज्ञासा यो छ कि यो नाच काठमाडौंको सांस्कृतिक उत्सव येँयाःको अवसरमा निकालिन्छ । यँेयाः पितृहरुलाई सम्झिने, पितृहरुको उद्धारको कामना सहित मनाइने पर्व हो । कतै यो नाच पनि पितृहरु प्रति समर्पित त छैन ? आदि प्रश्नहरुको उत्तरको निमित्त अध्ययन र अनुसन्धानको विषय बनाइनुपर्छ कि भन्ने मलाई लागेको छ ।

विगतमा पशुपति विकास कोषको आर्थिक अनुदानबाट चल्दै आएको यो नाच १० वर्ष अगाडि आर्थिक समस्याका कारणबाट रोकिएको थियो । यस नाचको गुथि गानाको अस्तित्व हराउँदै गएको कारण रोकिएको यस नाचको लागि यस वर्ष काठमाडौं महानगरपालिकाबाट प्राप्त रु. १० लाखको आर्थिक अनुदानबाट निरन्तरता पाउन लागेको हो । यस नागेचा प्याखँको लागि गत हप्ताबाट हरेक दिन साँझ तालिम सञ्चालन भै रहेको छ । ३ महिनासम्म बाजा सिकाएपछि बाजाको तालसँगै नाच सिकाइन्छ र अन्तमा नाच निकालिन्छ ।

ने.सं. ११४१ सिल्लाथ्व चतुर्दशी (२०७७ फागुन १४)

Leave a Reply

Your email address will not be published. Required fields are marked *