स्थानिय समाचार

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा थौंया मातृभाषा पत्रकारिता विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौ, ११ फागुन २०७७ ।

नेवा पत्रकार राष्ट्रिय दबूको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा “थौंया नेपालभाषा पत्रकारिता” विषयक अन्तरक्रिया गत फागुन ९ गते काठमाडौंमा सम्पन्न भयो ।

मातृभाषी पत्रकारको सहकार्यबाट बिग मिडिया हाउस बनाउनुपर्नेमा मातृभाषा माध्यमबाट भइरहेको पत्रकारिता क्षेत्रका विकासका लागि सम्वन्धित मातृभाषी पत्रकार र समुदायको सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित मातृभाषि पत्रकार, संचार उद्यमीहरुले समुदायको विकासको लागि संचार क्षेत्रको विकास हुनुपर्ने र यसको लागि समुदायको सहकार्य हुनुपर्ने विचार राखे ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले नेपालभाषाको पत्रकारिता क्षेत्रको विकासको लागि दबू क्रियाशील रहिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । करीब तीन वर्ष अघि पत्रकार दबूले नै २६ वटा भाषाभाषीको उपस्थितीमा मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न गरेको बताउँदै अध्यक्ष बज्राचार्यले सहकार्य र सरसल्लाहबाटै यस क्षेत्रका समस्याको पहिचान गरी समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपालभाषाको दैनिक पत्रिका नेपालभाषा टाइम्सका सम्पादक वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले नेपालभाषा पत्रकारिता क्षेत्रमा व्यावसायिकताको विकास गर्नुपर्नेमा जोड दिनुभयो । अहिले भाषा सेवाको भावनाको भरमा नेपालभाषा पत्रकारिता क्षेत्र अघि बढ्दै गरेकोमा आर्थिक पक्षलाई पनि जोडेर अघि बढ्न सक्नुपर्ने विचार वरिष्ठ पत्रकार मानन्धरले राख्नुभयो । ‘भाषाको सेवा गरौं भनेर नै नेवाः नेवाः संचारमाध्यम र नेवाः पत्रकारहरु अहिले सक्रिय छन्, तर यसमा लाखौंको लगानी भइरहेको छ । लगानी र प्रतिफलको लागि पनि योजना बनाउन सक्नुपर्छ’ मानन्धरले भने । नेपालभाषा पत्रकारिता क्षेत्रको ईतिहास निकै स्वर्णिम रहेको भन्दै मानन्धरले वर्तमान समयमा समस्या रहेपनि आउँदा दिनलाई फेरी पनि स्वर्णिम बनाउन सकिने अवस्था रहेको दावी गर्नुभयो ।

कार्यक्रममा दबूका निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जन, दबूका उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, दबूका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ, नेपालभाषाका प्रथम सिने पत्रकार एवं दबूका सल्लाहकार विजयरत्न तुलाधर, वरिष्ठ पत्रकार एवं दबूका सल्लाहकार रमेशकाजी स्थापित, नेवाः टिभि एचडिका अध्यक्ष नवीन जोशी, सञ्चारकर्मी बिराजकाजी राजोपाध्याय, सञ्चारकर्मी अस्मित मल्ल लगायत विभिन्न संचारमाध्यममा आवद्ध नेवाः पत्रकार र पत्रकार दबूका केन्द्रीय साथै जिल्ला पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *