रत्नकेतु महाविहारमा प्रबज्या संबर अन्तर्गत मूल (प्रबज्या) सम्पन्न

काठमाडौं, ९ फागुन २०७७

श्रुतीकथन अनुसार परापूर्वकालमा थँहितीबाट दक्षिणपट्टि लस्करै तीन जातका मानिसहरु बज्राचार्य, उराय र ज्यापुको बसोबास रहेको झ्वाबहाःका एक गुरुजुले ज्योतिषशास्त्रको अध्ययनपश्चात रत्न वर्षा हुने दिन पत्ता लगाई पूजापाठ गरेपछि सो दिन सो स्थानमा रत्नहरु बर्षाहरु भएको रहेछ । सो रत्नहरु संकलन गरी बहाल भरी रत्नले जडी सो बहालको नाम रत्नकेतु महाविहार नामकरण गरिएको थियो । कालान्तरमा सो स्थानका मानिसहरुको लोभ लालच बढी  मूल्यवान रत्नहरुको चोरी चकारी पछि सम्पूर्ण रत्नहरु हराएकोले सो स्थानको नाम झ्वाबहाः रहन गएको भनिन्छ । हुँदा हुँदा सो विहारमा रहेको मूल मूर्ति पनि चोरी लगि हालको न्ह्याय्कंत्वाः भन्दा पश्चिमपट्टि चोकमा रहेको सिस्नुको झाङ्गमा फालिएको भेट्टिएपछि सोही स्थानमा नयाँ बहाल अर्थात् न्हुबहाः निर्माण गरी सो देवतालाई सोही स्थानमा स्थापना गरिएको रहेछ । त्यसैले रत्नकेतु महाबिहारको या यसका सदस्यहरुको कुनै पनि मांगलिक कार्य गर्नुपरेमा यही न्हूबहाःमा गर्ने चलन चल्दै आएको हो ।

यसै अन्तर्गत महाबिहारका नवयुवा बज्राचार्यहरुको प्रबज्या संबर अन्तर्गत गत फागुन ५ गते ग्वय्दां तयेगु, फागुन ७ गते अधिबासन सम्पन्न भएको थियो भने हिजो मूल अर्थात प्रबज्या सम्पन्न भयो ।

मूलाचार्य प्रा. डा. नरेशमान बज्राचार्यलाई र उपाध्याय दिपेन्द्र बज्राचार्यले चैत्य भराड, प्रज्ञापारमिता, लोकेश्वर, कलश, सगुन, कुँधार, लुँख्वचा, वहख्वचा लगायत आवश्यक अन्य सामाग्री र यज्ञकुण्ड स्थापना गरी प्रबज्या संबर अन्तर्गत मूल (प्रबज्या) सम्पन्न गरिएको थियो ।

सर्व संघका थकाली स्थविरहरुले स्नान गराई अधिबासन गरिएको केस काटि गुरुमण्डल पूजा गरिएको थियो । तत्पश्चात चिबर प्रदान गरिएको थियो भने संघमा प्रवेश गराई भगवान् बुद्धका उपदेशहरुको पालना गर्नको लागि बुद्धको शिष्य बनाएका थिए । सम्पूर्ण पूजा एवं प्रबज्या ग्रहण पश्चात प्रवर्जितहरुलाई दान दिइएको थियो । अन्तमा बिहारबाट भिक्षुहरुलाई देशाटन अन्तर्गत थनेपुंइ परिक्रमा अन्तर्गत बिहारबाट श्रीघः, थहिति, त्यौड, असन, जनबहाः, इन्द्रचोक हुँदै हनुमानढोका दरबार पुगि त्यहाँबाट नरदेवी, त्यंघः हुँदै पुनः बिहारमा पुगि देशाटन सम्पन्न गरिएको थियो ।

प्रबज्या व्यवस्था समितिका सह–संयोजक आनन्द रत्न बज्राचार्यका अनुसार रत्नकेतु महाविहार (झ्वाबहाः) को जिसिं आजु गुठीको प्रबज्या संवर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न सो प्रबज्या संवर कार्यक्रमका लागि मूलसमितिले ५ वटा उपकमिटिहरु अर्थ व्यवस्थापन, पूजा व्यवस्था, खाद्य व्यवस्थापन, स्थान व्यवस्थापन र अतिथिसत्कार उपकमिटिहरु पनि गठन गरिएको थियाे । सो कार्यक्रम सम्पन्न गर्नको लागि मूल कमिटिले रु. ४० हजार सहयोग गरेको छ भने अन्य खर्चहरु प्रबज्या संबरमा सहभागी युवाका परिवारबाट संकलन गरिएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *