संस्कृतिस्थानिय समाचार

प्रवज्या संबर विषयक प्रवचन कार्यक्रम सम्पन्न

काठमाडौं, २ फागुन २०७७ ।

उपत्यकाका विभिन्न महाविहारहरुमा रत्नकेतु महाविहार झ्वाःबहाः पनि एक रहेको छ । यस महाविहार लगायत अन्य महाविहारहरुमा गरिने विभिन्न संस्कारहरु मध्ये प्रबज्या संबर पनि एक रहेको छ ।

रत्नकेतु महाविहारको जिसिं आजु गुठीको प्रबज्या संवर व्यवस्थापन समितिको आयोजनामा बज्राचार्यको परम्परागत संस्कारको रुपमा चलि आएको प्रवज्या संवर अर्थात् बरे छुइगु के, किन र कसरी भन्ने बारे विस्तृत जानकारी दिन हिजो एक प्रवचन कार्यक्रमको आयोजना गरियो ।

सभ्य र भव्य रुपमा सम्पन्न हुन गइरहेको उक्त प्रबज्या संबर के हो, किन गर्नु पर्यो र कसरी गर्ने भन्ने विषयमा प्रा. डा. नरेशमान बज्राचार्यले प्रवज्या संवर गरिने बज्राचार्य युवाहरु, तिनका अभिभावकहरु, गुठीका सदस्यहरु, यहाँका बौद्ध विहारका सदस्यहरु, बौद्ध धर्मका ज्ञाताहरुको समुपस्थितिमा सर्वसम्मत विधि र तर्कहरु विस्तृत रुपमा प्रस्तुत गरे ।

प्रा. डा. नरेशमान बज्राचार्यले प्रवज्या संबर अर्थात् बरे छुइगु भनेको सन्यासी जीवन जिउने बताउँदै प्रबर्जित भै सकेपछि संघमा प्रवेश गरी बौद्ध धर्मको अध्ययन गर्न भगवान बुद्धको शिष्य बन्ने, बौद्ध शील अध्ययन गर्ने, ध्यान र समाधि गर्ने र त्यसलाई पालन गर्न योग्य बनाउने बताए । प्रबज्या संबरको आयोजनामा रहे भएका कमि कमजोरीलाई हटाउन, तडक भडक नगर्न र एकरुपता ल्याउन पनि आयोजकहरुलाई अनुरोध गरे । कार्यक्रममा उहाँले बुद्धकालीन प्रवज्या संबर र संघका बारेमा पनि केही तथ्यहरु प्रस्तुत गरेका थिए ।

जिसिं आजु गुठीका जेष्ठ सदस्य अशोक रत्न बज्राचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रा. डा. गौतम गौतम रत्न बज्राचार्यले आफूलाई प्रबज्या संवर गर्दा र सो भन्दा पछिका आफ्ना अनुभव सहित स्वागत मन्तव्य प्रस्तुत गरे भने गुठीका सदस्य नरेन्द्र रत्न बज्राचार्यले धन्यवाद ज्ञापन गरे ।

प्रबज्या व्यवस्था समितिका सह–संयोजक आनन्द रत्न बज्राचार्यले कार्यक्रम संचालन गर्ने क्रममा यस्तो कार्यक्रम सायद पहिलो पटक आयोजना गरिएको हुनुपर्ने आफ्नो अनुभव सुनाए ।

यहि फागुन ५ गतेबाट झ्वाःबहाःका नवयुवक बज्राचार्यहरुबाट ग्वय् दा तयेगु (अध्येषणा) गरेपश्चात प्रबज्या संबर शुरु भै ७ गते दुसः (अधिबाशन), ८ गते मूल (प्रबज्या) र ११ गते आचा लुइगु (आचायाभिषेक) आदि कार्यक्रमहरु गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *