विश्व रेकर्ड राख्ने पहिलो वहालवाला मन्त्री रामबीर मानन्धरलाई भारतमा सम्मान

२२ माघ २०७७ ।

नेपाल सरकारको सहरी विकास राज्यमन्त्री मानन्धरलाई मंगलबार नयाँदिल्लीमा एक समारोहबीच ‘गिनिज वल्र्ड बुक अफ रेकर्डस्’को प्रमाण पत्र प्रदान गरिएको छ । उनलाई भारतको सामाजिक विकास राज्यमन्त्री रामदास अठवालेले विश्व रेकर्ड्को प्रमाण पत्र प्रदान गरे ।

राज्यमन्त्री मानन्धर गीत गाएर विश्व रेकर्ड कायम गर्ने पहिलो वहालवाला मन्त्री बनेका छन । निजले गत २० डिसेम्बर २०२० मा काठमाडौंको अष्टनारायण सिनेमा हलमा आयोजित एकल कन्सर्टमा चार घण्टा पाँच मिनेट २० सेकेण्डको अवधिमा नेपाली र नेपाल भाषाका ५९ वटा गीतहरु नन स्टप गाएर ‘गिनिज बुक अफ वल्र्ड’ मा आफ्नो नाम लेखाई कीर्तिमान कायम गरेका थिए ।

कार्यक्रममा वल्र्ड बुक अफ रेकर्डस् लण्डनका चियरमेन दिवाकर सुकर, वल्र्ड बुक अफ रेकर्डसका अध्यक्ष सन्तोष शुक्ला, वल्र्ड बुक अफ रेकर्डस् स्वीट्जरल्याण्डका अध्यक्ष पुन जेनर, वल्र्ड बुक अफ रेकर्डस् नेपालका अध्यक्ष सागर कटवाल लगायत जर्मन, भारत र युएईका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आठवलेले मन्त्री मानन्धरले कायम गरेको विश्व कीर्तिमान राजनीतिकर्मीका लागि प्रेरणादायी अठोट भएको बताउनुभयो । नेपाली र भारतीयबीच अधिकांश विषयमा समानता रहेको बताउँदै मन्त्री आठवलेले समृद्धिको यात्रामा पनि सँगसँगै हिड्न चाहेको बताउनुभयो ।

भारत सरकारले कोरोना भाइरस नियन्त्रणका लागि महत्वपूर्ण सफलता प्राप्त गरेको बताउँदै मन्त्री आठवलेले नेपाल सरकारसँग पनि आवश्यक सहकार्य हुने बताउनुभयो । दुई छिमेकी मुलुकबीचको आपसी सम्बन्ध र सहकार्य अझै बढाउन मोदी सरकार तयार रहेको बताउँदै नेपाल सरकारले तय गरेको समृद्धीको यात्रामा भारतको सधैं साथ रहने मन्त्री आठवलेले बताउनुभयो । सायरीकासाथ प्रस्तुत भएका मन्त्री आठवलेले मन्त्री मानन्धरको आवाजको आफू पनि प्रसंशक भएको बताउनुभयो ।

कार्यक्रममा सहरी विकास राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणीक कालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्ने बताउनुभयो । विकासमा भारतीय साझेदारी महत्वपूर्ण रहेको बताउँदै मन्त्री मानन्धरले दुई देशबीचको आगामी यात्रा थप उज्ज्वल हुने विश्वास व्यक्त गर्नुभयो । आफुले कायम गरेको विश्व कीर्तिमान भारतीय राजनीतिक व्यक्तित्व र कलाकारहरुसँग पनि सेयर गर्न पाएकोमा गौरवान्वीत भएको बताउँदै मन्त्री मानन्धरले संगीतको सीमा नहुने बताउनुभयो । मन्त्री मानन्धरले नेपाल र भारतबीच कला, साहित्य र संगीतमा समानता रहेको बताउँदै संगीतको सम्वद्र्धनमा सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न विधामा विश्व कीर्तिमान कायम गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *