खेलमहानगर समाचार

क्रिकेटलाई महानगरको ५० लाख सहयोग

काठमाडौं, २१ माघ २०७७ ।

काठमाडौं मेयर्स कप — २०७७ क्रिकेट प्रतियोगिता सञ्चालन गर्न काठमाडौं महानगरले नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

हिजो राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा दुई पक्षबीच सहयोग सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भयो । सहमति पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले र संघका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षरपछि कार्यक्रममा बोल्दै प्रमुख शाक्यले महानगरको प्राथमिक क्षेत्र पूर्वाधार, सम्पदा पुनर्निर्माण र शिक्षा स्वास्थ्य भएको भन्दै खेलकुद क्षेत्रको विकास र प्रवर्दनका लागि विस्तारै लगानी बढाउँदै लगेको बताउनुभयो । ‘हामीले विगतका वर्षमा महानगरपालिका क्षेत्र भित्रका फुटवल क्लवहरुलाई सहयोग गर्दै आएका थियौँ, शाक्यले भन्नुभयो, ‘विगतमा ए डिभिजन फुटवल क्लवलाई जनही १० लाख, वी डिभिजनलाई जनही ६ लाख र सी डिभिजनलाई रु ४ लाख सहयोग गरेका थियौँ । महानगरसँगै फुटबलका माध्ययमबाट देशको पहिचानलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउन यस्तो सहयोग गरेका हौँ ।’

शाक्यले फुटबल क्लवलाई जस्तै क्रिकेट क्षेत्रको विकासलाई पनि निरन्तर सहयोग गर्ने वातावरण निर्माण गर्न र सम्झौता अनुसार आग्रह गर्नुभयो । उहाँले अन्तराष्ट्रियस्तरमा पनि नेपालको पहिचान राख्न सफल क्रिकेटसँग आवद्ध संस्थालाई सहयोग गर्न पाउँदा खुशी लागेको पनि बताउनुभयो । ‘राष्ट्रिय खेलाडीको मनोबल बढाउन र अन्तरराष्ट्रिय खेलाडी नेपाल आउँदा यहाँको सभ्यता महसुस गराउन महानगरले गएको साफमा केही सहयोग गरेको थियो,’ मेयर शाक्यले भन्नुभयो, ‘खेलाडी र खेलकुदप्रेमीलाई प्रोत्साहन हुने गरी कार्य गर्नुभयो भने आगामी दिन पनि थप सहयोगको वातावरण निर्माण गर्न सकिन्छ ।’ उहाँले आगामी वर्षको बजेटमा खेलकुदलाई प्राथामिकता दिदैँ खेलाडीहरुको मनोवल थप उच्चो बनाउनेतर्फ केन्द्रित हुने पनि बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले, क्रिकेटले अन्तरराष्ट्रिय स्तरमा नेपालको ख्याती बढाएको बताउनुभयो । ‘यो प्रसिद्धी बढाउन थप मनोबल उच्चो बनाउन र महानगरको पहिचान पनि सँगै विस्तार होस् भनेर हामीले संघलाई सहयोग गरेका हौँ,’ ज्ञवालीले भन्नुभयो ।

नेपाल क्रिकेट संघका अध्यक्ष चन्दले काठमाडौँ महानगरपालिकाले नेपाली क्रिकेटको स्तर उकास्न र स्तरीय खेलाडी उत्पादनका लागि गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो । ‘हामी यो सहयोगबाट उत्साहित भएका छौँ । यो सहयोगले खेलाडीहरुको प्रतिभामा थप निखारता आउने अपेक्षा गरेका छौँ,’ अध्यक्ष चन्दले भन्नुभयो, ‘यस्ता प्रतिस्पर्धाले नेपाली क्रिकेटले विदेशमा प्रतिस्पर्धा गर्न र सफल नजिता प्राप्त गर्न थप सहयोग पुग्ने पनि अपेक्षा गरेका छौँ । यस बर्ष महानगरले गरेको लगानीलाई अर्को बर्ष थप गर्ने गरी हामी नतिजा देखाउँछौं र त्योसँगै अन्य स्थानीय तहका लागि पनि सकारात्मक सन्देश दिन चाहन्छौँ ।’

महानगरको सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीले संघलाई सम्झौताबमोजिम २ चरणमा अनुदान रकम प्रदान गरिने बताउनुभयो । ‘पहिलो चरणमा ६० प्रतिशत रकम उपलब्ध गराएपछि संघले सञ्चालन गरेका कार्यक्रमका आधारमा दोस्रो किस्ताको रकम दिइनेछ,’ उहाँले भन्नुभयो, ‘यस रकमबाट आउँदो चैत्र मसान्तभित्र खेलका कार्यक्रम सञ्चालन गरिसक्नुपर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *