ख्याल ख्याल हैन कोभिड जसबाट मैले उन्मुक्ति पाएँ

रामकृष्ण डंगोल
काठमाडाैं, नेपाल ।

ख्याल ख्याल हैन कोभिड जसबाट मैले उन्मुक्ति पाएँ

साथीहरू मेरो स्वास्थ्य स्थिति बुझ्न घरीघरी फोन गर्थ्याे । म कुरा गर्न सक्दिनथें र साथीहरूको आवाज पनि सुन्न सक्दिनथें । किनकि मलाई लाग्थ्यो साथीहरूको मनमा मलाई कोरोना लागेको छ, रोग सर्ला र म मर्न लागेको छ, ल बाईबाई भनेर भन्न लागेको जस्तो भान हुन्थ्यो र मैले आँसु थाम्नै सक्दिनथें । त्यस्तै दुईजना साथी ढोकासम्म आएर भाईसँग भुनभुन कुरा गरिराखेको सुने, श्रीमती झ्यालको पर्दा उघारेर च्याइराखेको थियो । आफ्नो साथीहरूलाई न मैले बोल्न सकें न मैलै हेर्न नै सकें, न साथीहरू मेरो कोठामा आएर मलाई हेर्ने आँट गरे । मेरो आँखाबाट आँसु मात्र बररर आइ राख्यो । अक्सिजन लिएको ३ दिन पछि अक्सिजनको मात्रा बिस्तारै बढ्दै गयो, जीउ पनि दुखेन र मलाई खाना पनि मन लाग्दै आयो । २–३ दिन पछि त राति २ बजे नै भोक लागेर दूध बिस्कुट पनि खाएँ ।

आज मलाई कोरोनाले सताएको ३३ सौं दिन भयो, यो कोरोना हुँदा के कस्तो हुन्छ तपाईहरू माझ राख्न मन लाग्यो । ताकि यो महामारीमा तपाईंहरूलाई केहि सहयोग मिल्छ होला ।

सबभन्दा पहिला रूघा लाग्यो, सम्झें औषधि खाए एक हप्ता नखाए ७ दिन मै निको हुने त हो नि भनेर औषधि खाइन । ३–४ भयो झन् खोकि पनि शुरू भयो अलि अलि कमजोर भएको जस्तो पनि अनुभव भयो । परिवार अनि साथीहरूले भन्न थाले पिसिआर गर । म चाहिं रूघाखोकि हो केहि दिनमा ठिक हुन्छ, संधै बेसार पानी खाएको छँदैछ नि भन्दै आराम गरिराखें । तर बिस्तारै खोकि बढ्दै गयो, ज्वरो आए जस्तो, कुरा गर्न गाह्रो हुँदै आयो । परिवार आँटिन थालेको मैले देखें । पिसिआर गर्न परिवारको साथसाथै साथीहरूको दवाब आउन थाल्यो । म चाहिं रूघाखोकी भन्दै ढिपी गरेर बसिरहें । बिस्तारै मैले आत्मसमर्पण गरें पिसिआर गर्नको लागि । पिसिआर गर्न जान गाडी चलाउन आँट थियो तर मोटरसाइकल चलाउन आँट आएन । सबैको सल्लाहमा घरैमा बोलाउने सहमति भयो र हामी दुई बूढाबुढीको पिसिआर जाँचियो । अक्सर जस्तो शंका गर्छ त्यो भन्दा अर्को रिपोर्ट आऊँछ । त्यस्तै मलाई भन्दा श्रीमतीको रिपोर्ट पोजिटिभ आयो भने के गर्ने भनेर सोचें, राति निन्द्राले सतायो । भोली त्यस्तै करिब ११ तिर रिपोर्ट आऊँछ भनेको कोहि केहि बोल्दैन, सुनसान छ, आफ्नो कोठामा श्रीमती मात्रै, उनी पनि चुपो लागेर बसीराखेको । पक्कै पोजिटिभ आएको हुनुपर्छ भनी अनुमान लगाएँ तर पनि सोध्न मन लागेन । बिस्तारै श्रीमती, म सुतिराखेको ओछ्यानमा बसेर, थाहा भयो भनेर सोध्यो । मैले मलाई थाहा छ म पोजिटिभ आयो होला नि होइन भनि सोधें । श्रीमतीले तपाईं मात्र होइन म पनि पोजिटिभ भन्यो । म श्रीमतीलाई हेरि राखें, श्रीमतीको संक्रमनको केहि पनि संकेत छैन कसरी पोजिटिभ भयो होला भनेर सोचें । पिसिआर जाँच्ने बेला मलाई खोकि आईराखेको थियो, नर्स हो कि प्राविधिक हो उसले कस्तो खोकि लागेको भनेर भनेको पनि थियो र पोजिटिभ कै शंका गरेको थियो । त्यहि भएर मलाई पोजिटिभ, यसको बूढीलाई पनि पोजिटिभ लेखिदेउ भनेर पठाएको जस्तो लाग्यो । तर होइन रहेछ, मैले २४ अंक पाएँ भने बुढीले २० मात्र पाएको रहेछ ।

झन्झन् मलाई त बोल्न गाह्रो, खाना मन नलाग्ने हुँदै गयो । यसै बीच बहिनी ज्वाईं सन्तपालले डा. सर्वोत्तम श्रेष्ठसँग सल्लाह गरी औषधोपचारको व्यवस्था गर्नुभयो । डाक्टरको सल्लाह अनुसार भिटामिन सि, डी, इ, जींक र आन्टिबायोटिक औषधिहरू लिएँ, अक्सिजन पनि तयारी अवस्थामा राख भन्नुभएको थियो । कोहि साथीहरूले आयुर्वेदिक औषधि ल्याए त कोहिले झारपात जस्तो पातको मुठै ल्याई दिए, कोहिले बट्टाईं चराको अण्डा ल्याइदिए । सहयोग त भटाभट ओइरिन थाल्यो ।

१३–१५ दिनमा शरिरमा अक्सिजनको कमी हुँदै गयो, खाना पटक्कै खाइन, सुतेको सुत्यै । खाली औषधिको भरमा बसें । ३ दिन अक्सिजन पनि लिएँ । १६ औं दिनमा मलाई खाना खुवाउन मेरो श्रीमतीले उठायो, म अलि झस्के जस्तो गरि उठें, दायाँबायाँ हेरें, बुढीलाई पनि हेरें । म त अझै जीऊँदै पो छु त भनेर मनमा लाग्यो । खाना २–३ चम्चा मात्र खान सकें ।

साथीहरू मेरो स्वास्थ्य स्थिति बुझ्न घरीघरी फोन गथ्र्यो । म कुरा गर्न सक्दिनथें र साथीहरूको आवाज पनि सुन्न सक्दिनथें । किनकि मलाई लाग्थ्यो साथीहरूको मनमा मलाई कोरोना लागेको छ, रोग सर्ला र म मर्न लागेको छ, ल बाईबाई भनेर भन्न लागेको जस्तो भान हुन्थ्यो र मैले आँसु थाम्नै सक्दिनथें । त्यस्तै दुईजना साथी ढोकासम्म आएर भाईसँग भुनभुन कुरा गरिराखेको सुने, श्रीमती झ्यालको पर्दा उघारेर च्याइराखेको थियो । आफ्नो साथीहरूलाई न मैले बोल्न सकें न मैलै हेर्न नै सकें, न साथीहरू मेरो कोठामा आएर मलाई हेर्ने आँट गरे । मेरो आँखाबाट आँसु मात्र बररर आइ राख्यो । अक्सिजन लिएको ३ दिन पछि अक्सिजनको मात्रा बिस्तारै बढ्दै गयो, जीउ पनि दुखेन र मलाई खाना पनि मन लाग्दै आयो । २–३ दिन पछि त राति २ बजे नै भोक लागेर दुध बिस्कुट पनि खाएँ ।

त्यस्तै १८ औं दिन जस्तो लाग्छ कौशीमा गएर मजाले घाम तापेर खाना खान थालें । मजाले घाम तापी टन्न खाना खाने अनि सुत्नाले पेट पनि २ इन्च बढेको छ । यसमा मेरो श्रीमती जीम्मेवार छ, जसले आफ्नो भन्दा मलाई ख्याल गरी ख्वाएको ख्वाइ गरी स्याहार सुसार गरेथ्यो । उनले ख्याल नगरेको भए सायद म मेरो स्वर्गीय पिताजीको पाउ ढोग्न पुगिसक्थ्ये होला । सायद यो महामारीमा जति पनि कोरोनाले मृत्यु भएको छ उनीहरूलाई स्याहार सुसार रेखदेख कै कमिले भएको जस्तो लाग्छ । स्वास्थ्य समस्या भएको कोरोना लागेको बिरामीलाई सुरक्षित तरिका अपनाई रेखदेख गर्नुपर्ने मलाई लागेको छ ।

आज ३३ सौं दिनमा आएर मेरो समस्या भनेको अलि कमजोरको मात्र अनुभव गरेको छु, अरू खासै समस्या छैन । ३२ सौं दिनदेखि म आफ्नो काममा शारीरिक बलको काम भन्दा अरूलाई अह्राउने काममा लागेको छु । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *