जात्रा पर्वसंस्कृति

चाबहिल स्थित श्री चन्द्र विनायक जात्रा आज सम्पन्न हुँदै

मंसिर १८, काठमाडौं ।

हिन्दू धर्म शास्त्रानुसार गणेशका धेरै रुप छन् । कतै १०८ त कतै १००८ गणेशको रुप वर्णन गरिएको पाइन्छ । नेपालमा मुख्यःत चार गणेश अर्थात् विनायक प्रशिद्ध रहेका छन् । ती हुन् चन्द्र विनायक, सूर्य विनायक, अशोक विनायक र जल विनायक ।

तस्बिर – श्याम था/हाम्रो जात्रा

यी चार गणेशको पनि भिन्न भिन्न तिथिमा हरेक वर्ष भव्य रुपमा जात्रा हुँदै आइरहेको छ ।
हिन्दूमात्रका आराध्यदेव श्री पशुपतिनाथको पश्चिमपट्टी चाबहिलमा श्री चन्द्र विनायक विराजमान छ । झण्डै ३०० वर्ष अघिदेखि हालसम्म निरन्तर रुपमा श्री चन्द्र विनायकसँगै श्री भैरवको जात्रा हरेक कार्तिक शुक्ल पूर्णिमा अर्थात् सकिमना पून्हिका दिन भव्य जात्रा रुपमा हुँदै आइरहेको छ ।

पहिलो दिन चावहिल स्थित श्री गणेश र श्री भैरवनाथको जात्रा गर्नु अघि मन्दिर अगाडि धुनी जगाई पूजा गरिन्छ । सँगै कुटुबहालस्थित ध्वँद्यको पनि विशेष पूजा आजा हुन्छ ।

तस्बिर – श्याम था/हाम्रो जात्रा

प्रतिपदाका दिन गणेश र भैरवलाई बेग्लाबेग्लै खटमा राखी जात्रा गरिन्छ । गणेशको जात्रा गर्न गजुर राखी गहना लगाई गणेश र भैरवका खट बोकेर नगर परिक्रमा गराई जात्रा गरिन्छ । भक्तजनहरु खटका अघि पछि बाजा बजाउँदै जाने गर्दछन् । श्री चन्द्र विनायकको खट श्री गणेशका पिता देवादिदेव महादेवसँग भेटघाटको लागि पशुपतिनाथ परिसरमा पनि जात्रा गरिन्छ । गणेश र भैरवको जात्रा पश्चात् खटसँगै लस्करै कुमारी कन्याहरुलाई राखी दही चिउरा खुवाउने गरिन्छ । यो चलन अलिहेसम्म पनि निरन्तर रुपमा चल्दै आइरहेको छ । तत्पश्चात सो दिनको जात्रा समाप्त हुन्छ ।

तस्बिर – श्याम था/हाम्रो जात्रा

भोलिपल्ट दिउँसो गणेश र भैरवलाई अर्कै खटमा राखी सिन्दुर जात्रा गरिन्छ । सो दिन पनि बाजागाजा सहित धुमधामका साथ सिन्दुर जात्रा मनाउँछन् । तत्पश्चात् श्री गणेश र श्री भैरवलाई पूजा गरी पुजारीको घरमा भित्र्याइन्छ ।

तृतियाको दिन सो वर्षको पाःलाले अर्को वर्षको पाःलालाई पालो हस्तान्तरण गर्ने विशेष कार्यक्रम पश्चात जात्रा समाप्त गरिन्छ ।

यस वर्ष कोभिडको जोखिमका कारण श्री गणेश र श्री भैरवको मूर्तिलाई बाजागाजासाथ गुथियारको घरबाट जात्रा गरी पिथमै विराजमान गराई गर्नुपर्ने सम्पूर्ण विधिविधानका कार्यहरु सम्पन्न गरियो । भक्तजनको पूजाआजाको लागि स्वयंसेवकको व्यवस्था गरिएको थियो भने तृतियाको दिन अमालकोटको पूजा पछि भक्तजनहरु सिन्दूर जात्रा गर्दै फर्किएको थियो । जात्रामा नेपाल सरकारद्वारा जारी सुरक्षा मापदण्डलाई समेत विशेष रुपमा ध्यान दिइएको थियो ।

तस्बिर – श्याम था/हाम्रो जात्रा

स्मरणरहोस् श्री चन्द्र विनायकलाई घाउ खटिरा आएका मानिसहरुले भाकल गरी पूजा गर्दा निको भएर जाने जनविश्वास अद्यापि कायमै छ । श्री चन्द्र विनायकको सेवा गरिरहे सुख, शान्ति, ऐश्वर्य र धनसम्पत्ति प्राप्त हुने समेत जनविश्वास रहेको छ ।

यस वर्षको श्री चन्द्र विनायक र श्री भैरवको जात्राका केही दृश्यहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् –

Leave a Reply

Your email address will not be published. Required fields are marked *