कथासाहित्य

कथा “यथार्थ“

साहित्यकार रमेश मानन्धर

कालिमाटी, काठमाण्डौं

 

कथा “यथार्थ“

“रमैया, के मबाट तिमीले केही सहयोग लिन चाहन्छौ ?”

“धन्यवाद । केही सहयोग चाहिंन्दैन । हामीलाइ यसरी नै जिउन दिनुस् । हाम्रो बारेमा कसैले सोच्न थाल्यो भने हामीमा एउटा आस जाग्दछ । सहयोगको आस ! जब एक पटक सहयोग लिन्छौं नि अनि बानि पर्छ । भोलि तपाइँ जस्तो कहां खोज्न जाने ? त्यसैले आजको यो कुरालाई यहीँ बिर्सि दिनुस् । कहिल्यै पनि नसोच्नुस् कि कुनै दिन रमैया भन्ने केटीसंग तपाइको भेट पनि भएको छ भनेर ।”

“ल यसमा साइन गर । लेख्न त आउंछ नि ?”

“किन नआउनु ? नौ कक्षा सम्म स्कूलमा संधै टप फाइभमा हुन्थें म । दश कक्षा पढ्दा पढ्दै मलाई दशा लाग्यो । हाम्रो घर गोठमा आगो लागेर सबै खरानी भो । दुई छाक भोकै बस्न सकिन्छ तर सँधैको लागि टाउको लुकाउन घरको छत त चाहियो नै । घर बनाउनु पर्यो । के गर्ने ? पैसा चाहिहाल्यो । आफ्नै बाउले गर्न पठाएकोे काम यही हो । ‘तरुनी भइस् सदरमुकाम गएर पैसा कमा’ भनेर यही बजारमा रहेकी बडिमौसिको हातमा मलाई दिएर आफूले दश हजार रुपैया लिएर गएको । मेरै कारणले झुपडी नै सही, घर बन्यो । आज मेरै कमाइले भाइहरु काठमाडौंको ठुलो कलेजको होस्टेलमा बसेर पढ्ने भएकोछ ।”

“अब के गर्ने इच्छा छ त ?”

“गर्ने इच्छा त थुप्रै छ नि । पढ्ने इच्छा छ, राम्रो काम गर्ने इच्छा छ, विवाह गर्ने इच्छा छ । तर के ? इच्छा भएर हुन्छ ? हाम्रो काम उही हो । अरु के नै गर्न आउँछ र हामीलाई ।”

“यस्तो कोरोना कालमा केही सतर्क त रहनु पर्यो नि । धन्न आज तिमी १७ दिन पछि घर फर्कदैछौ । त्यस्तो केही नराम्रो लक्षण देखिएन । फेरि पनि सतर्क भएनौ भने नराम्रोसँग बिरामी हुन सक्छ । तिमीले देखिहाल्यौ होला । कति जना मरीसके यही हस्पिटलमा मात्र यो कोरोनाले ।”

“किन र डाक्टरसाव, एकपटक निको भइसकेकोलाई फेरि कोरोना हुन्दैन हैन र ?”

“त्यस्तो भ्रममा नपर । एक पटक मात्र हैन पटक पटक लाग्न सक्छ यो कोरोना । पहिलो पल्ट भन्दा दोश्रो पटक लाग्यो भने झन खतरा हुन्छ ।”

“भोकै मर्नु भन्दा त कोरोनाले मरेकै जाति नि हैन र ? कोरोनाले सबै काम धाम बन्द छ । घरमा सबै थुनिएर बसेको छ । मैले पठाएको केही पैसाले घर चलेको छ । हाम्रो काम पनि पहिला जस्तो छैन । ग्राहक पाउँदैन । सरकारी राहत पनि छैन । सरकार लिन मात्र जानेको छ दिन हैन । यस्तो बेला पनि पुलिसले हामीलाई छोड्दैन । बाँच्नलाई त केही गर्नै पर्यो । आज यो हस्पिटलमा तिर्न लिएको सापति पैसा तिर्न पनि कति रात – दिन खाली हात सुत्नु पर्ने हो थाहा छैन ।”

“के मतलब ?”

“के मतलब, के ? मतलब सिधै छ । यो उपचार खर्चको लागि मैले दुइ चार जनासँग सापटी लिएकी छु । तिर्ने कसरी थाहा छ ? उनीहरुको इच्छा भएको बेलामा म उनीहरुसँग सुत्नु पर्ने ।”

“तिमीले भर्खरै भन्यौ नि, तिमीलाई विवाह गर्ने इच्छा छ भनेर । विवाह किन गर्दैनौ ? राम्री छ्यौ, उमेर पनि २६ बर्षकी मात्र भएको रहेछौ ।”

“इच्छा मात्र भएर हुन्छ र ? कसले गर्छ हामी जस्तासँग विवाह । तपाईं गर्न सक्नु हुन्छ मसँग विवाह …. ? यस्तो कुरा फिल्ममा मात्र लागू हुन्छ । यथार्थमा त हामी जस्तालाई यो समाजले केवल घृणा मात्र गर्न जानेको छ । अनि कुनै मानिसले आफूलाई चाहेमा हामीलाई आलु – प्याज जस्तै भाउ गरेर केही क्षणको लागि हाम्रो शरीर किन्ने मात्र गर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *