“के गर्छस् मंगले, आफ्नै ढंगले”

ज्ञानी राजा मानन्धर
साहित्यकार
लघु कथा “के गर्छस् मंगले, आफ्नै ढंगले”
आफ्नो छोरो विदेशबाट आउन लागेको सुनेर पार्वती यति खुशी छिन् कि उनको खुशिको ठेकानै छैन । नभन्दै त्यो दिन पनि आयो, छोरो विदेशबाट फर्किए लगत्तै बिहेको कुरो चलाई हाले । साइत हेरेर बिहे पनि धुमधामका साथ गरिहाले ! बूढी आमाको बुहारी भित्र्याउने रहर पनि पूरा भो ।
छोरो आएको पनि एक महिना बित्यो, एकदिन बेलुकी खाना खाँदै बसेका छोरोले आमालाई “आमा, अब हजुरको ईच्छा मैले पूरा गरिदिएँ । अब म फर्किनु पर्छ, उता काम सबै लथालिङ्ग छ । काम गर्नेहरुको भरमा कति छाड्नु ….।”
यो कुरो सुनेर उभेर बसेकी बुहारीको अनुहार रातो पिरो भयो ।
“किन र बाबु, भर्खर त दुलही भित्र्याएँ ! यति चाँडो गइहाल्नु पर्ने छ र बाबै ?”
“हैन आमा, कुरा बुझ्नुस न । हजुरको एक्लोपनलाई ध्यानमा राखेरै मैले हजुरको करकापमा बिहें गरें । अब हजुरको सेवा गर्ने दुलही छिन नि ।”
आमा छोरोको कुरो सुनेर उभिरहेकी बुहारीले पनि मुख खोलिन् – “हजुर जानुभयो भने म एक्ली यहाँ के गरेर बस्नु नि ? म पनि हजुर संगै जान्छु ।”
“के कुरा गर्छे यो लाटी । तिमीलाई पनि सँगै लगें भने यहाँ एक्लो बूढी आमाको सेवा कसले गर्छ ? तिमी भएर मलाई ढुक्क भो । मलाई भन्दा मेरी बूढी आमालाई तिम्रो खाँचो छ ।”
यो सुनेर दुलही फनक्क फर्केर कोठामा गई र खाटमा घोप्टो परी रोइरहिन् र सोची रहीन् कि यिनीहरुलाई त दुलही हैन एउटी नोकर्नीको खाँचो रहेछ । कति न बिदेस जान पाउने रहरले यस्ता नाथेसँग लगन गाँठो बाँध्न पुगेछु, बरु त्यहि अर्जुनेसँग भागेर गएको भए आज सानो अर्जुनेले पेटमा लात हानिरहेको होला ।