सम्माननिय राष्ट्रपतिद्वारा रानिपोखरी र बालगोपालेश्वर मन्दिरको उद्घाटन
कार्तिक ६, काठमाडौं ।
मन्जित महर्जन
२०७२ को विनाशकारी महाभूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको राजधानीको ३ सय ५२ वर्ष पुरानो रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुरानै शैलीमा पुनःनिर्माण पछि हिजो सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले विधिवत प्राण प्रतिष्ठासहित ताम्रपत्रको अनावरण गर्दै उद्घाटन गर्नुभयो ।

उद्घाटन सत्रलाइ सम्बोधन गर्दै सम्माननिय राष्ट्रपति भण्डारीले रानीपोखरी, खुलामञ्च र टुँडिखेललाई समेत समावेश गरी प्राधिकरणले बनाएको बृहत्तर गुरुयोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै यसको कार्यान्वयन पछि ऐतिहासिक महत्वको सम्पदा क्षेत्र सुरक्षित रहने बताउनु भयो ।
सम्बोधनको क्रममा सम्माननिय राष्ट्रपति भण्डारीले ढिलै भए पनि भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणमा भएसंगै विनाशकारी महाभूकम्पका कारण क्षतिग्रस्त अन्य सम्पदाको पनि पुनर्निर्माण छिट्टै सम्पन्न हुनेछ भन्नेमा आपूm विश्वस्त रहेको बताउनु भएको छ ।
यसअघि बालगोपालेश्वर मन्दिरको प्राणप्रतिष्ठामा सहभागी भई राष्ट्रपति भण्डारीले विभिन्न तीर्थस्थलबाट ल्याइएको जल रानीपोखरीमा सेचन गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी ओली, मन्त्रीलगायत सरकारी उच्च अधिकारीको उपस्थिती रहेको थियो ।
सो अवसरमा पुनःर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ४ वर्ष ९ महिनाको हाराहारीमा रानीपोखरी वरिपरिको संरचनासहित बीचमा रहेकोे बालगोपालेश्वर मन्दिर पुनःनिर्माण सम्पन्न भएको जानकारी दिनुभएको थियो ।
राजधानीको मुटुमा अवस्थित अत्यन्तै महत्वपूर्ण यी दुवै ऐतिहासिक र पुरातात्विक संरचना पुनःनिर्माणमा रु २८ करोड खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।