आजबाट सोह्र श्राद्ध शुरु
भाद्र १७, काठमाडौं ।
चन्द्रमास अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसीसम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो । कसैकसैले सोह्र दिनको गणना गर्दा आश्वीन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन् । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ । कतै असोज शुक्ल प्रतिपदा तिथिमा गरिने मातामह श्राद्धको दिनलाई समेत गणना गरिएको पनि भेटिन्छ।पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन्। केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ ।

सोह्र श्राद्ध गरिने प्रमुख तिथीहरु ः
आश्विन कृष्णपक्ष पञ्चमी श्राद्ध – यस तिथिमा ती परिजनहरूको श्राद्ध गर्नु महत्त्वपूर्ण मानिन्छ जसको मृत्यु अविवाहित स्थितिमा भएको छ । यसलाई कुमार पञ्चमी पनि भन्दछन् ।
आश्वीन कृष्णपक्ष नवमी श्राद्ध – यो तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ । त्यसैले यसलाई मातृनवमी भन्दछन् । यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवङ्गत महिलाहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ ।
आश्विन कृष्णपक्ष एकादशी एवं द्वादशी श्राद्ध – यस तिथिका दिन परिवारका ती व्यक्तिहरूको श्राद्ध गर्ने विधान छ जसले संन्यास लिएको छ ।
आश्वीन कृष्णपक्ष चतुर्दशी श्राद्ध – यो तिथि ती परिजनहरूको श्राद्धका लागि उपयुक्त छ जसको अकाल मृत्यु भएको छ, जस्तै( दुर्घटना, हत्या, आत्महत्या, शस्त्रद्वारा मृत्यु आदि ।
आश्वीन कृष्णपक्ष अमावस्या – कुनै कारणले पितृपक्षका सबै तिथिमा पितृहरूको श्राद्ध सम्पादन गर्न विघ्न परेमा अथवा कुनै पनि पितृको तिथि सम्झना नभएको अवस्थामा यस तिथिमा सबै पितृहरूको श्राद्ध गर्न सकिन्छ । यस दिन श्राद्ध गर्नाले कुलका सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता पनि छ।
आश्वीन कृष्णपक्ष शुक्ल प्रतिपदा – यो तिथि मावली बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ। यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ र यसबाट घरमा सुख(समृद्धिको प्राप्ति पनि हुन्छ।
श्राद्धमा के गर्ने के नगर्ने
प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ । पितृपक्षमा श्राद्ध आफ्नै घरमा गर्नुपर्छ, अर्काको घरमा गर्न निषेध छ । श्राद्धमा तीन वस्तु पवित्र मानिन्छन् ः( छोरीको छोरा (नाति), दिनको आठौँ भाग र कालो तिल । श्राद्धमा तीन प्रशंसनीय कुरा छन् ः(बाहिरी र भित्री शुद्धता, क्रोध नगर्ने र हतार नगर्ने । श्राद्धकालमा गीता, भागवत, पितृसूक्त, पितृसंहिता, रुद्रसूक्त, ऐन्द्रसूक्त आदि पाठ गर्नु बुद्धि, मन र कर्म तीनै कुराको शुद्धिका लागि फलप्रद छ ।