संस्कृति

गथु (माली) समुदाय एक अध्ययन

१२ बैशाख २०८२, काठमाडाैं ।

– शरण डंगोल
नेपाल उपत्यकामा गथु समुदाय छरिएर रहेको पाइन्छ । गथुहरुको मुख्य पेशा फूलको व्यवसाय गर्नु रहेको देखिन्छ । परापूर्व कालमा यिनीहरुले फूलहरुको व्यापार गर्दा वस्तु विनियम प्रणालीमा आधारित भै फूल दिने र अन्नपात लिने गर्दै आएको भनिन्छ । यसरी यिनीहरुले ठाउँ ठाउँबाट अन्न लिंदा फरक फरक जातको अन्नहरु प्राप्त गर्ने गरिन्छ । उदाहरणको लागि धान दिनेहरुले हरेक स्थानको धान एकै जातको नहुने, मकै दिनेहरुले दिएको मकै पनि एकै जातको नहुने, यसरी दिएको अन्न पात धान भए धानकै भाँडोमा, मकै भए मकैकै भाँडामा जम्मा गर्ने गर्दछन् । अहिले पनि कतै जात्रा लग्दा यसरी दिएका छुट्टाछुट्टै जातका अन्नपात एकै ठाउँमा राख्ने गरिएको पाइन्छ । जसलाई अहिले चलनचल्तीमा ‘केपू’ भनिन्छ । यसै कारण गथु अर्थात् माली, मालाकार, बनमालाहरुलाई “घालःमूलः” उपनाम दिइएको पाइन्छ । यिनीहरुले संचालन गर्ने गर्दै आएको तन्त्रप्रधान नाच अर्थात् तान्त्रिक नाचलाई ‘गथु प्याखँ” भनिन्छ ।
पचली भैरव १२ वर्षे खड्गसिद्धि जात्राका ताःगुरु भरत मालीका अनुसार उपत्यकामा गथु, गथः, माली, बनमाली, मालाकार गरी विभिन्न थरहरुमा रहेको पाइन्छ । भक्तपुरमा बनमाली, बनमाला, ललितपुरको थेचो र नागदहमा माली, मालाकार, काठमाडौं र कीर्तिपुरमा माली र मालाकार रहेका छन् । यी विभिन्न स्थानमा रहेका गथुहरुको आ–आफ्नै छुट्टै गुथि परम्परा रहेको पाइन्छ । कसैले नाच संचालन गर्दै आएको पाइन्छ भने कतै नाच नभएको तर गुथि संचालन गर्दै आएको पाइन्छ भने कतै नाच बन्द भएको किम्बदन्ती पाइन्छ ।
भक्तपुर, काठमाडौं, ललितपुर र कीर्तिपुरका गथुहरुले नाच संचालन गर्दै आएका पाइन्छ भने काठमाडौंको हाँडिगाउँमा रहेका गथ,ु जसलाई यहाँ नरःगथः भनिन्छ, ले संचालन गर्दै आइरहेको नाच बन्द भै सकेको किम्बदन्ती सुन्न पाइन्छ । जस अनुसार नरः (हाँडिगाउँ) मा परम्परागत रुपमा न्यालम टोल, कोताल टोल र थथु टोल गरी तीन टोल रहेका छन् । जसमध्ये न्यालम टोलमा सायमी समुदाय, कोताल टोलमा स्यस्य (श्रेष्ठ) समुदाय र थथु टोलमा ज्यापु (डंगोल, महर्जन, प्रजापति आदि) समुदायको बसोबास रहेको पाइन्छ । यी समुदायहरुमध्ये यहाँ माली (गथु) को समुदायको अस्तित्व अहिलेसम्म पनि पाउन सकिन्छ । जसलाई यहाँ गथः भनी भन्ने गरिन्छ । हाल तिनीहरुले माली या गथु या गथःबाट महर्जन, डंगोल, प्रजापति, श्रेष्ठ समेत भएको पाउन सकिन्छ ।
किम्बदन्ती अनुसार प्राचीनकालमा शंखमुलदेखि बुढानिलकण्ठसम्म एक विशाल राज्य थियो रे । यहाँ नौवटा गण भएको गथुहरुको प्राचीन देवी नाचहरु पनि प्रचलनमा रहेको किम्बदन्ती सुन्न पाइन्छ । सम्भवतः लिच्छवी कालमा या यस पश्चात् यस स्थानमा माली समुदायको पनि अधिपत्यता रहेको जानकारी हामीले किम्बदन्तीहरुमा सुन्न सक्छौं । यहाँका माली समुदायलाई गथः भनेर सम्बोधन गरिन्छ जसलाई अहिले पनि यहाँ फाट्टफुट्ट रुपमा ‘नरः गथः’ अर्थात् हाँडिगाउँका माली समुदाय या गथु समुदाय भनी भनिदै आएको पाइन्छ ।  एउटा गण नाच संचालन गर्न झण्डै १०० भन्दा बढी व्यक्तिहरुको संलग्नता रहेको हुनुपर्नेमा यसरी यहाँको नाच संचालन गर्न नसकिने भएर यहाँ संचालनमा रहेको देवी नाचका सस्त्रअस्त्र, मुकुण्ड, वस्त्र आदि यहींकै एक स्थान (जहाँ अहिले घर ठडिसकेको जानकारी प्राप्त भयो) मा गाडेर यो नाच बन्द गरिएको भन्ने कुरा यहाँका बुढापाकाहरुबाट सुन्न सकिन्छ । हुनत हाल जीवन्त रहेका माली समुदायबाट संचालन हुँदै आएका श्री पचली भैरवको १२ वर्षे खड्गसिद्धि जात्रा (काठमाडौं), श्री भद्रकाली लुँमधि अजिमाको १२ वर्षे खड्गसिद्धि जात्रा (काठमाडौं), श्री नवदुर्गा नाच (भक्तपुर), श्री नवदुर्गा नाच (थेचो) र श्री बाघभैरव १२ वर्षे नाच (कीर्तिपुर) गथु समुदायबाट संचालन गरिदै आएको पाइन्छ जसमा सहभागी व्यक्तिहरु १०० भन्दा बढी भएको अद्यापि देख्न सकिन्छ । यसरी उपयुक्त नरः गथःमा नाच बन्द भएतापनि अहिलेसम्म पनि अक्षय तृतिया अघि वा सकेपश्चात तत्कालै यहाँका नरः गथः समुदायबाट ‘नौ गण’ पूजा गरेपछि मात्र यस क्षेत्रमा देवाली पूजा प्रारम्भ हुने गरेको पाइन्छ ।
माली जाति नेपाल मण्डलको एक प्राचीन जाति हो । यस जातिलाई तत्कालीन सामन्ती व्यवस्थाबाट भारो र भावो मध्ये तल्ल तहको जातिमा परिणत गरे । माली जातिलाई गथु या गाथा या गथः आदिबाट चिनाउने पुरानो परम्परा छ । गौतम बज्र बज्राचार्यका अनुसार मालीहरु पहिले गणथुवा थिए । यही गणथुवाशब्द अपभ्रंश भइ गथु भएको हो । उहाँको विचारमा कुनै हाम्रो तान्त्रिक देवी देवताहरुको गणको अर्थात समूहको हेरविचार गर्ने नित्य पूजाआजा, नाचगान आदिको संचालन गर्ने अख्तियार पाएका वर्ग हुन् ।
संस्कृतिविद् इन्द्रमालीका अनुसार वंशावलीमा माली जाति वंशावलीमा माली जातिको कुनै छुट्टै पहिचान हुने गरी वर्णन गरेको पाइदैन । जब यी जातिले आफ्ना पहिचान मेटाइ श्रीकृष्णसँग या उनको कथासँग हिन्दू ब्राह्मणहरुले कहेको कथामा डुबुल्की मार्न थाले तब आफूलाई बनमाला, बनमाली र वनमालाकार भन्न रुचाए । तब आफ्ना कुटुम्बहरुका परम्परा र अस्मिताबाट टाहिन थाले । सामन्ती सत्ताबाट शोषण र दमनको कारणले पूmल व्यवसायमा आवद्ध भए पनि यस जातिको मुख्य पुख्र्यौली व्यवसाय खेतीपातीको साथसाथै तन्त्र आदि कार्य पनि हुन् । प्राचीन समयमा यस जाति तन्त्रमा निकै सामथ्र्यवान देखिन्छ । सिरि आजाजु तान्त्रिक शक्तिले सम्पन्न व्यक्तिको रुपमा देखा पर्दछ । त्यस्तै कलंकीमाई स्थानान्तर गर्ने तान्त्रिक पनि माली जाति कै सदस्य हुन् । पचली भैरव, वाघभैरव, भद्रकाली, नवदुर्गा, अष्टमातृका नाच सबै तान्त्रिकविधिमा आधारित नाचहरु हुन् । यी नाचका लागि तान्त्रिक ज्ञान हुनु अनिवार्य छ । तर समय, परिस्थिति र वातावरणले गर्दा आजभोली साधना कम र त्यस अनुशासनभित्र रही कार्य गर्न नसकेकोले सामथ्र्यतामा निकै क्षिण भएको छ । आज पनि केही मालीका सुपुत्रहरु छन् जसले केटाकेटीहरुको उपचार, असम्भव प्रायः मानेको रोगको तन्त्रको माध्यमबाट उपचार गरी आफ्ना क्षेत्रका बच्चाहरु र अन्य व्यक्तिहरुको उपचार गरी गाउँमा बसी समाज सेवा गरि आएको पाइन्छ । तर यस किसिमको सेवा गर्ने व्यक्तिहरुलाई सामाजिक जुन मान्यता पाउनु पर्ने थियो सो नभई नकारात्मक रुपले हेर्ने गरेको पाइन्छ । माली जाति प्राचीन समयदेखि तन्त्रतिर विख्यात भएको अर्को तथ्य कलंकीमाईको उत्पत्ति र स्थानान्तरबाट पनि प्रष्ट हुन आउँछ । यस तथ्यलाई इतिहासकार वासुपासाले पनि प्रकाश पार्नु भएको छ । जुन प्राचीन समयदेखि बालकुमारी र कलंकीमाईको मूल बासस्थान ठीमीमा अवस्थित थिए यी दुवै देवी अनेक रुपबाट शक्तिशाली थिए । ती देवीहरुका प्रतापले ती शहर निकै सम्पन्न र उन्नयन भइरहेका थिए । त्यसले ललितपुर र काठमाडौंका तान्त्रिकहरुले मिलोमितो गरी आफ्ना तान्त्रिक शक्तिद्वारा बालकुमारीलाई ललितपुरमा र कलंकीमाई कान्तिपुरमा ल्याई शक्तिसम्पन्न गर्ने लक्ष्यले ल्याएका थिए । यसरी कलंकीमाई कान्तिपुरको असनमा ल्याएर राखेपछि देवीलाई त्यहाँ बस्न रुचि भएन । विष्णुमती पारी त्यसवेला जंगल थियो । त्यहाँ गथु अर्थात् माली जातको एक ठूलो तान्त्रिकको निवासस्थान रहेछ । त्यस तान्त्रिकलाई कलंकीमाईले दर्शन दिनु भई तिमी महान तान्त्रिक रहेछौ तिम्रो सामु कसैको जोड लाग्दैन त्यसैले तिमीले आफ्ना तन्त्रले हामी प्रवेश भइरहेको शीलालाई लगेर विष्णुमती जंगलमा लगी स्थापना गर्नु भनी आज्ञा भयो । सोही आज्ञा मुताविक त्यस तान्त्रिकले आफ्नो विद्याको बलले न्हेपंफामा ल्याई पूजाआजा गरी स्थापना गरेका थिए । यसबाट माली जाति फूलमा सिमित भएको जाति हैन बरु आफ्ना पौरख र शक्तिले समाज र देशको  सेवा गरी आएका जाति हुन् भनिएको पाइन्छ ।
माली जाति तन्त्रप्रविण भएको सम्बन्धमा अर्को एक किम्बदन्ती पनि सुन्न पाइन्छ । श्री पचली भैरव १२ वर्षे खड्गसिद्धि जात्राका ताःउजा (ताः गुरु) भरत मालीसँगको कुराकानीमा उहाँले एक किम्बदन्ती सुनाए  । जस अनुसार पचली भैरवका पूजारी राजोपाध्यायको शरीरमा प्रत्यक्ष भएर भैरवले सिधै कुराकानी गर्ने गर्दो रहेछ । एकदिन भैरवलाई पूmल पु¥याउन आएका गथु (माली, प्राचीनकालमा यो समुदायको मुख्य काम पूmलबारीको काम गर्ने) ले पुजारीले देवतासँग कुरा गरिरहेको देखेछ । तत्कालै पचली भैरव पनि उही गथुको शरीरमा प्रवेश गरी अबदेखि हरेक १२ वर्षमा गथुकै नेतृत्वमा गण नाच नचाउनु भन्ने आज्ञा भए । सोही बेलादेखि गथु समुदायले नै हालसम्म गण नाच नचाउँदै आएको हो भनिन्छ ।
त्यस्तै अर्को किंवदन्ती अनुसार पचली भैरवका पूजारी हरेक दिन बिहान देवताहरुको पूजा आजा गर्नको लागि एक कोठा भित्र जाने गर्दथे । सो कोठामा पुग्न सातवटा ताला खोली जानु पर्ने रहेछ । त्यसको लागि तिनका बुहारीले चोकमा नजिकै रहेको इनारबाट निःल (शुद्ध पानी) सारेर ढोका बाहिर राख्ने गर्दथे । वर्षौ यो क्रम चल्दै रह्यो । एकदिन बुहारीको मनमा ससुरा बिहानै कोठा भित्र जान्छ, भित्र घण्टौं बस्छ, के गर्दो रहेछ भनी सातवटा ढोका पार गरेर अन्तिम कोठामा चियाएर हेर्दा देवगणहरु नृत्यरत रहेछन् । यो कुरा देवताहरुले थाहा पाई तिमीलाई कसैलाई बारेमा कसैलाई नभन्नु भनेको होइन, तिम्री बुहारीले हामीलाई देख्यो, अबदेखि यहाँ आउँदैनौं भनि गुह्यश्वरी शक्ति पिथमा लीन भएछन् । पूजारीलाई डाहा भयो, कैयौं साधना गरे सकेन । आफ्ना छोरा, इष्ट मित्र सबैलाई दिक्षा दिई साधना गर्न लगाए, तैपनि देवताहरुलाई फिर्ता ल्याउन सकेन । यसै बिच त्यहाँ एक किसिमको महामारीले ग्रस्त बनाएको थियो । एक दिन सँधै झै गथु (मालाकार) ले देवताहरुको लागि पूmल पु¥याउन आएका थिए, पुजारीले सोधी हाले, तिमीले एउटा काम गर्छौं ? गथुले अलि अन्कनाउँदै सकुँला र ? भनी जवाफ दिए । देवताको काम हो सक्छौं भनी सम्झाई बुझाई गरी निजलाई पूजा कोठामा लगे । तिनलाई पनि दिक्षा दिई साधना गर्न लगाए । उता देवताहरु पनि अहो आज त हामीलाई सँधै पूmल पु¥याउन आउने सेवकले हामीलाई साधना गरेका रहेछन्, जाऔं हामी तिनलाई खुशी पारौं भनी फर्के र भने के भयो तिमीलाई, किन बोलाएको हामीलाई ? भनी सोधे । गथुले पनि तपाईहरु यहाँबाट गएदेखि यहाँ रोगव्याधीले ग्रस्त पारे त्यसको उपाय केही छ की भनी हजुरहरुको साधना गरेको भनी भने । ल त्यसो हामी तिमीमा लिन हुन्छौं, सम्पूर्ण देवगणको राजासँग खड्गसिद्धि जात्रा गर्नु सबै समाधान हुन्छ भनी भने र खड्गसिद्धि जात्रा चलाए । जसलाई गथु प्याखँ पनि भनिन्छ, जुन हालसम्म पनि निरन्तररुपमा चलि आएको छ ।
अष्टमातृका नृत्यमा महालक्ष्मीको नृत्य किन हुँदैन भन्ने प्रश्नको उत्तरमा एक जनश्रुती रहेको छ । जस अनुसार गुह्येश्वरी शक्ति पिथबाट अष्टमातृका भगवानलाई जात्रा गर्दै ल्याउँदा महालक्ष्मीले हरेक पाइला पिच्छे बलि भोग माग्दो रहेछ । ध्यान दृष्टिले हेर्दा चरा चुरुङ्गीको बलि दिंदै ल्याउनु भनेछ । यसरी ल्याउँदा ल्याउँदा नक्साल पुगे पछि चराहरु पनि पाउन छोड्यो । पुनः ध्यान दृष्टिले हेर्दा महालक्ष्मीलाई सिद्ध बनाएर पठाउनु भन्ने आदेश भएछ । तत्पश्चात नक्साल पुगेपछि त्यहाँ पूजा होमादि गरी महालक्ष्मीलाई सिद्ध गरी पठाए र उनको उपस्थितिको लागि उनको मुकुट तिकथि (निगालो) मा ठड्याई त्यहींबाट जात्रा पुनः शुरु गरेको भन्ने जनश्रुति रहेको छ । अहिले यसरी गुहेश्वरीबाट नक्साल पुग्न १२ वर्ष लागेको थियो रे, त्यसैले हरेक १२ वर्षमा यो जात्रा शुरु गरिएको जनविश्वास रहिआएको छ । यस जनश्रुतिसँग पचली भैरवको कुनै सम्बन्ध भएको नदेखिएतापनि यस १२ वर्षे जात्रामा पनि महालक्ष्मीको मुकुण्डो तिकथिमा राखिएको हुँदा प्रसंगवश यहाँ प्रस्तुत गरिएको हो । यसरी तिकथिमा राखेर जात्रा गरेपनि खटमा भने यही तिकथिलाई तुख्वःमा जात्रा अवधिभर गाडेर राख्ने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *