हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा अन्तर्गत आज नगर परिक्रमा
४ बैशाख २०८२, काठमाडौं ।
गत बैशाख १ गतेबाट विधिवतरुपमा शुरु भएको हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा अन्तर्गत आज काठमाडांै नगरको भित्री शहर परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।
बैशाख १ गते हल्चोक नगरको परिक्रमा गरिएको थियो भने सोही दिन देवघरको प्राङ्गणमा नृत्य प्रस्तुत गरिएको थियो ।
२ गते हल्चोकबाट ताम्सीपाखामा परम्परागतरुपमा छायाँतिगु कार्यक्रमपश्चात् द्यःल्हायेगु नृत्य प्रस्तुत गरी हनुमानढोका तलेजु मन्दिर अगाडीपट्टी रहेको कागेश्वर मन्दिरको सामुन्ने डबलीमा नृत्य प्रस्तुत गरिएको थियो भने ३ गते जनबहाल अगाडि डबलीमा नृत्य प्रस्तुत गरिएको थियो ।
आज ४ गते हल्चोकबाट ताम्सीपाखामा उपस्थित भै त्यहाँ छायाँतिगु गरी द्यःल्हायेगु नृत्य पश्चात भित्री शहर परिक्रमा गर्ने कार्यक्रम रहेको छ जसलाई स्थानिय नेपालभाषामा “देय् चाहिकेगु”, “देय् चाहिलेगु”, “देशा च्यायेगु” भनिन्छ ।
हल्चोक आकाश भैरव १२ वर्षे जात्राका नायः सागर पुतुवारका अनुसार आज नगर परिक्रमा अन्तर्गत ताम्सिपाखाबाट नरदेवी, किलागल, भेडासिंग, इन्द्रचोक, मखन, हनुमानढोका, बसन्तपुर, मरु हुँदै पुनः ताम्सिपाखामै पुगि यात्रा समापन गर्ने कार्यक्रम रहेको छ ।