जात्रा पर्वसंस्कृति

ऐतिहासिक नगरी खोकनाको सिकाली जात्रा चैत्र २२ गतेबाट काठमाडौंमा

२१ चैत्र २०८०, काठमाडौं ।
राष्ट्रकै पहिचानको रुपमा स्थापित परम्परागत अमूर्त सम्पदाहरुलाई राज्यस्तरबाटै संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्न सरोकारवालाहरुले माग गरेका छन् । ललितपुर खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली जात्रा काठमाडौं ल्याइने सम्वन्धमा जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका वक्ताहरुले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा ज्यापु महागुथि काठमाडौं महानगर समितिका अध्यक्ष साथै सिकाली अजिमा जात्रा व्यवस्थापन तथा समन्वय समितिका संयोजक पंच नारायण महर्जनले समुदायले जोगाइराखेको मूर्त अमूर्त सम्पदामा राज्यले अपनत्व लिइ सरोकार देखाउनुपर्ने माग राखे । ‘यस्तै देवी नाच लगायत समुदायले बनाएको विभिन्न अमूर्त सम्पदाहरु राष्ट्रकै पहिचान बनेको छ । यसको संरक्षण, दीगो व्यवस्थापनका लागि राज्यले नै अपनत्व लिएर अघि बढ्नुपर्ने देखिन्छ’ संयोजक महर्जनले भने ।

पत्रकार सम्मेलनमा आउँदो चैत्र २२ गते सिकाली अजिमा जात्राका देवगणहरु खोकनाबाट पैदल नै काठमाडौं आउने बताइएको थियो । चैत्र २२ गते खोकनाबाट देवगणहरु काठमाडौं पचली पुग्ने र पचलीबाट काठमाडौं विभिन्न क्षेत्र हुँदै हनुमानढोका नासल चोक पुग्नेछन् । सो क्रममा पचलीबाट देवगणहरु मचली, चल्खुमा सुनको ढोकाबाट प्रवेश गर्दै मुसुंबहाः हुँदै सिकाली, कुमाःननि, ओन्दे, ह्यूमत, जोसीदेवल, कोहिती, भीमसेनस्थान, मरु, प्याफल, कम्पुकोटको आर्मी गेटबाट मखन महेन्द्रेश्वर महादेव हुँदै हनुमानढोका दरबार क्षेत्रको नासलचोकमा पुग्नेछन् ।

परम्परा अनुसार हनुमान ढोका दरवारमा तीन वटा नाच प्रदर्शन गरिनेछ । २२ र २३ गतेका दिनमा नासल चोकमा देवी नाच प्रदर्शन गरिनेछ भने २९ र ३० गते तलेजु मन्दिर अगाडीको त्रिशुल चोकमा सिकाली अजिमा देवगणको नाच प्रस्तुत हुनेछ । २०८१ बैसाख ९ र १० गतेका दिनमा हनुमानढोका बाहिर रहेको कालभैरव पछाडीको डबलीमा नाच प्रदर्शन हुनेछ । त्यसैगरी जन समुदायबाट माग र व्यवस्थापन भएमा इन्द्रचोक, लगन र सिंहसतल लगायतका स्थानमा पनि नाच प्रदर्शन गरिने व्यवस्थापन तथा समन्वय समितिले जनाएको छ । हनुमानढोकामा हुने तीनवटा नाचको लागि करीब १७ लाख रुपैयाँको आवश्यक हुने र अन्य स्थानमा नाच प्रदर्शन गर्न स्थानीयबाटै सबै व्यवस्थापन हुनुपर्ने समितिले जनाएको छ ।

यस वर्ष सिकाली जात्राको १२ वर्षे मेला भएकोले सिकाली अजिमा देवगण काठमाडौं प्रवेश भएर विभिन्न ठाउँमा देवी नाच प्रदर्शन गर्न लागिएको ललितपुर महानगरपालिका २१ वडाका वडाध्यक्ष रविन्द्र महर्जनले बताए । ‘यो नाच विगतमा कीर्तिपुरमा पनि लग्ने गरिन्थ्यो, जुन परम्परा अहिले टुटेको छ । त्यस्तै अरु विभिन्न ठाउँहरुमा पनि लग्ने गरिन्छ । ललितपुर महानगरपालिकाबाट पनि बजेट छुट्याएर परम्परालाई निरन्तरता दिन खोजिरहेका छौं’ वडाध्यक्ष महर्जनले भने । १२ वर्षे नाच भएकोले देवगणको नयाँ पोशाक, मुकुण्डो बनाउन, पूजा व्यवस्थापन आदिका लागि ६० लाखको कोष बनाएको महर्जनले जानकारी दिए । सिकालीको १२ वर्षे जात्रा अन्तर्गत काठमाडौंको यात्रा पहिले पहिले रोपाई सकिसकेपछि हुने गरिएकोमा समय परिस्थितिका कारण छिट्टै हुन आएकोले श्री पचली भैरव १२ वर्षे खड्गसिद्धि जात्रा चलिरहेको र ज्याबहालस्थित द्यःछेँ खाली नभएको कारणले अन्यत्र बस्न जानु परेको कारणले वहाँहरुले गर्न पाउने सेवाको अवसरबाट बञ्चित भएकोमा दुःख व्यक्त गर्दै आगामी जात्रामा यसलाई निराकरण गर्ने वचन दिनुभयो ।

x
कार्यक्रममा ज्यापु महागुथि काठमाडौं महानगर समितिका पदाधिकारीहरु, काठमाडौं महानगरपालिका १२ वडाका अध्यक्ष बालकृष्ण महर्जन, वडा सदस्यहरु र स्थानीय बुद्धिजीविहरु लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *