संस्कृति

श्री नवदुर्गा भवानी ठेचोको बाह्रवर्षे नाच भोलिबाट शुरु हुने

९ साउन २०७८, प्रशान्त माली, ललितपुर ।

भोलि अर्थात् साउन १० गते गथामुगःचह्रे देखि ठेचोमा नवदुर्गा नाचको १२ वर्षे जात्रा सुरु हुनेछ । जात्रा अवधिभर बस्तीमा बिहे, भोजभतेर, व्रतबन्ध गर्न निषेध गरिनेछ । नवदुर्गा गुठीको बाजाबाहेक अन्य बाजा, घण्ट, सिठ्ठी, ताली बजाउन पाइनेछैन । राती हिँडडुल गर्न, खुट्टा झुन्ड्याएर बस्न र घरमा रात बस्ने गरी पाहुना बोलाउन पनि पाइनेछैन । यो बन्देजलाई मान्छेहरूले वर्षैभरि पालना गर्नुपर्ने नियम छ । र, फागुन/चैत महिनातिर श्री नवदुर्गाको धुखः नाचपछि मात्रै निषेध फुकुवा हुनेछ ।

निषेधबारे बस्तीमा ‘नाय खिं’ बाजा बजाई मान्छेहरूलाई सूचित गराइनेछ । सूचना पनि टाँसिनेछ । यो निषेध किन ? गुठीनाइके भक्तलाल माली भन्छन्, ‘देउता गुप्तबासमा अर्थात् दुःखमा बस्ने भएकाले देश (ठेचो) मा खुसियाली मनाउन नहुने र विभिन्न शक्तिपीठबाट तन्त्र साधनामार्फत गोप्य पूजा गरी देवता र जल मन्दिरमा ल्याउनुपर्छ । त्यसैले परापूर्वकालदेखि नै राति हिँडडुल गर्न निषेध गरिएको हो ।’ स्थानीयहरू यस्तो निषेधबाट दुःखी हुँदैनन् । निषेधलाई सहजै स्विर्काछन् ।

फाइल फाेटाे ः शरण डंगाेल

गठेमंगलमा ठेचोस्थित नवदुर्गा मन्दिरको मूल ढोकामा तान्त्रिक विधिपूर्वक पूजा गरी ताल्चा लगाएपछि जात्रा सुरु भएको मानिन्छ । त्यसपछि नवदुर्गा गुठियारहरू राष्ट्रप्रमुखलाई सुपारी चढाउँछन् । मन्दिरमा १२ वर्षे जात्रामा एक पटक मात्रै ताल्चा लगाइन्छ । नत्र ३ सय ६५ दिनै मन्दिर खुला रहन्छ ।

ठेचोको नवदुर्गा नाचमा १३ देवगण छन् – भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिंहिनी, बाघिनी, इन्द्रायणी र श्वेत भैरव । गणेश बन्ने देवगणले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको विश्वास गरिन्छ । देवगणको तान्त्रिक र यान्त्रिक तवरबाट छुट्टाछुट्टै नृत्य हुन्छ । इन्द्रायणी देवीको भने नृत्य गराइँदैन । १२ वर्षमा एक पटक मात्रै श्वेतभैरवको नृत्य गराइन्छ ।

इन्द्रायणी देवीको नृत्य–कथा विषेश छ । नवदुर्गालार्ई शक्ति–देवीका रूपमा पुजिन्छ  । किंवदन्ती भन्छ– इन्द्रायणी देवगण बनेर नृत्य गर्ने हरेक गुठियारको मृत्यु हुन थाल्यो । कालान्तरमा इन्द्रायणी देवीको भेषमा नृत्य गर्न सबै डराए । र, अहिलेसम्म त्यो नृत्य गर्ने आँट कसैको छैन ।
१२ वर्षे जात्रा अवधिमा २८ वटा पर्वपूजा गरिन्छ । यसमा ६० वटा पशु–बलि आवश्यक पर्छ । पाटन दरबार क्षेत्र, सुनाकोठी, ठेचो, चापागाउँ, बुङमतीमा नृत्य प्रस्तुत गरिन्छ । जात्राभरि आँग सिं अर्थात् स्वः सि (चापको काठ) ल्याउने, नवदुर्गाको मूल डबलीमा छाप्रो बनाई देवता प्रतिस्थापन गर्ने, दे भ्वए (देश भोज) भनी ठेचो र सुनाकोठीवासीलाई भोज खुवाउने चलन छ ।

विभिन्न स्थानमा हुने नाचमध्ये पाटन दरबारको नाचको विशेष आकर्षण छ । ठेचोमा नवदुर्गा देवीलाई ‘शिवद्यःचाः’ वा ‘शिभिल द्यःचाः’ नामले सम्बोधन गरिन्छ । शिवद्यःचाः र पाटन दरबारको लिच्छवि राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवीबीच मीत साइनो थियो भनिन्छ । मनमानेश्वरी देवीलाई भगवतीका रूपमा पुजिन्छ । सत्ययुगमा भगवतीले शिवद्यःचाको साथ लिई असत्यमाथि विजय प्राप्त गरेको विश्वास छ । यो जात्रा लिच्छविहरूले पाटनमा किरात वंशलाई पराजय गरेको इतिहाससँग पनि जोडिन्छ ।

फाइल फाेटाे ः शरण डंगाेल

भाषा वंशावलीमा उल्लेख भएअनुसार, पाटन दरबार क्षेत्रकेन्द्रित लिच्छविकालीन खड्ग जात्रा सञ्चालन गर्ने श्रेय लिच्छवि राजा गुणकामदेवलाई दिइएको छ । नवदुर्गा नाचलाई खड्ग जात्राको रूपमा पनि लिइन्छ । वंशावलीमा लेखिएको छ, ‘यिनी राजाका पालामा मनमानेश्वरी देवीको प्रसादले मागल देशमा खड्गी टोल बनाई मूःस्वाँ नामक पुष्पका निमित्त माली जात प्रख्यात गरेको… ।’ राजा मानदेवको पालामा मू छेँ आँगमघर स्थापना गरी खड्ग जात्रा चलाएको वंशावलीमा लेखिएको छ ।

जात्राको मुख्य आर्कषण सुनाकोठीको कुल्पी यज्ञ पनि हो । रातैभरि यज्ञ गरी नयाँ मुकुट, पोसाक, खड्गमा तन्त्र साधना गरी देउता प्रतिष्ठापन गरिन्छ ।

फाइल फाेटाे ः शरण डंगाेल

नवदुर्गा नाचमा मालीबाहेक नेवारभित्रकै अन्य जातिलाई प्रवेशनिषेध छ । तर, कुल्पी यज्ञ सम्पन्न भइसकेपछि मन्दिरसम्म ल्याउँदा सिंहिनी देवगणलाई ठेचोको महर्जन समुदायका न्हुछें गुठीका मूल थकालीले बाटो देखाएर ल्याइन्छ । त्यस दिन न्हुछें गुठीका थकालीले पनि नवदुर्गा नाचमा सहभागी हुन अनुमति पाउनुको पछि विशेष कथा छ ।

किंवदन्तीअनुसार, उबेला नवदुर्गा नाच महर्जन समुदायका न्हुछें गुठीका गुठीयारले सञ्चालन गर्थे । प्रत्येक १२ वर्षे जात्रामा नरबलि दिने चलन थियो । न्हुछें गुठीयारले जात्रा अवलोकनमा आएका खोकनाका एक जना पुरुषको बलि चढाए । बलि चढाइएका व्यक्ति आफ्नै ज्वाइँ भएको गुठियारले थाहा पाए । र, गुठियारकी छोरीले दिएको श्रापपछि नाचबाट न्हुछेंहरू पछि हटे । अनि तन्त्रविद्यामा निपुण माली समुदायलाई यो नाच हस्तान्तरण गरियो । र, १२ वर्षे जात्रामा सिंहिनी देवगणलाई न्हुछें गुठीका थकालीले बाटो देखाउने चलन चल्यो । बाटो देखाउँदा सिंहिनीलाई आफ्नो गुठीमा प्रवेश गराउन सके नवदुर्गा नाच न्हुछें गुठियारले नै सञ्चालन गर्न पाउने किंवदन्ती छ । त्यो बलिको कथाले अझै मान्छेहरू १२ वर्षे जात्रामा ठेचो आउन डराउँछन् । अभिलेखहरूमा भेटिन्छ, अंशुवर्मा (सातौं शताब्दी) भन्दा पहिलाका राजा शिवदेवले चैतको कुनै दिन वत्सला देवीलाई प्रत्येक वर्ष नरबलि दिने चलन चलाएका थिए । र, सूर्यवंशी राजा शिवदेवका पालामा सर्वप्रथम नवदुर्गा पूजामा नरबलिको चलन चल्यो ।

फाइल फाेटाे ः शरण डंगाेल

भद्रकाली खड्ग सिद्धि नाच, पचली भैरव, नरदेवी, दी प्याँख (देवी नाच), कीर्तिपुरको बाघ भैरव, भक्तपुरको नवदुर्गा, बोडेको नीलबाराही, ललितपुरको हरिसिद्धि भवानी देवी, खोकनाको रुद्रायणीमा नाचकै १२ वर्षे जात्रा मनाइन्छ । उपत्यकाका अधिकांश देवी नाच मालीहरूले नै सञ्चालन गर्दै आएका छन् ।

श्राेत ः https://ekantipur.com/koseli/2022/07/23/16585430519088996.html?fbclid=IwAR3JrG9cAGUq115gduwnUwPcAdwC1l1OqTYInb_QxrSF-uJ0XYrIpgdnAqg

Leave a Reply

Your email address will not be published. Required fields are marked *