सम्पदास्थानिय समाचार

अन्ततः भोलिबाट काष्ठमण्डप सर्वसाधारणका लागि खुला हुने

२० चैत्र २०७८, काठमाडौं ।
२०७२ सालको महाभूकम्पको चपेटामा परी पूर्ण रुपमा ध्वस्त भएको काष्ठमण्डप पुनर्निर्माण पश्चात भोलिबाट सर्वसाधारणका लागि खुला हुने भएको छ ।
भोलि सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट काष्ठमण्डपलाई सर्वसाधारणका लागि खुला गर्न लोकार्पण गर्ने कार्यक्रम रहेको बागमती प्रदेशका सांसद एवं काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले आज आयोजित पत्रकार भेटघाटमा बताए ।
२०७५ साल बैशाख १८ गते भएको एक भेलाले अध्यक्ष शाक्यको अध्यक्षतामा गठन गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिबाट का.म.पा.को आर्थिक अनुदानबाट पुनर्निर्माण सम्पन्न गरिएको थियो ।
कार्यक्रममा सातौं शताब्दीमा निर्माण भएको विश्वास गरिएको काष्ठमण्डपको पुनर्निर्माणको क्रममा जनताको अपनत्व हुने गरी स्थानिय जनसहभागिता र मौलिक विधिको अनुसरण गरी दिगो हुने गरी पुनर्निमाण गरिएको बताइयो ।
३ वर्ष ८ महिनाको अवधिमा साढे एघार करोडको लागतमा उक्त काष्ठमण्डपको पुनर्निमाण सम्पन्न भएको थियो भने यसमा संलग्न सिकर्मी, डकर्मी, अवाल, नकर्मी भक्तपुरबाट तथा तामाको कामको लागि ललितपुरका ताम्राकारहरुबाट गराइएको थियो ।
कार्यक्रममा अध्यक्ष शाक्यले यस काष्ठमण्डप पुनर्निमाण अभियानमा सरिक हुन पाउनुलाई आफ्नो अहोभाग्य ठानेको र यसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलगन भै साथ र सहयोग दिनुहुने समस्त निकाय, संघसंस्था, गुठी, समुदायहलाई हार्दिक आभार पनि व्यक्त गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *