खेल

दोश्रो हेरामाया श्रेष्ठ स्मृति महिला राष्ट्रिय चेस प्रतियोगिता सुरू

२५ फागुन २०७८, काठमाडाैं ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज काठमाडौं जिल्ला बुद्धिचाल संघको आयोजनामा दोश्रो हेरामाया श्रेष्ठ स्मृति महिला राष्ट्रिय चेस प्रतियोगिताको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यतामा सासा इभेन्ट भेन्यू विशाल बजारमा भइरहेको प्रतियोगितामा जम्मा ७ राउण्डमा खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेताले नगद २५ हजार पुरस्कार प्राप्त गर्नु हुनेछ भने दोश्रोदेखि पाँचौं हुनेले क्रमशः १५ हजार, ८ हजार, ६ हजार र ४ हजार नगदका साथै प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्नुहुनेछ । यसैगरी यू१६, यू१४, यू १२, इएलओ १०००–१२९९, इएलओ १३००–१४९९ र अनरेटेड खेलाडी उत्कृष्ट खेलाडीले जनही २ हजार नगद पुरस्कार प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।
पहिलो र दोश्रो चरण आजै सम्पन्न हुने प्रतियोगिताको समापन यही फागुन २६ गते बिहीवार गरिने भएको छ ।
बागमती प्रदेश बुद्धिचाल संघका प्रमुख सल्लाहकार अमृतचन्द्र श्रेष्ठकी आमाको नाममा यो प्रतियोगिता आयोजना भइरहेको हो ।
संघका अध्यक्ष नारायण श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षद्वय विदुर गौतम र नारायणदास गमालको पनि उपस्थिति रहेको थियो ।
प्रतियोगितामा जम्मा २६ जना खेलाडीहरुले सहभागिता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *