खेल

मेयर कप तेक्वान्दो प्रतियोगिता पौष ३, ४ र ५ गते

२९ मंसिर २०७८, काठमाडौं ।

जैशिदेवल युथ क्लबको आयोजनामा दोश्रो प्रदेशस्तरिय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०७८ आगामी पौष ३, ४ र ५ गते काठमाडौंमा हुने भएको छ ।

बागमती प्रदेश भित्रका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका १८ टिम र आयोजक जैशिदेवल युथ क्लबको २ टिम गरी जम्मा २० टिमको सहभागिता रहने जानकारी आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राजेश प्रजापतिले बताए ।

२० स्वर्ण, २० रजत र ४० काँश्य पदकका लागि प्रतिस्पर्धा हुने उक्त प्रतियोगिता दशरथ रंगशालाको कभर्डहलमा आयोजना गरिनेछ ।

प्रतियोगितामा बागमती प्रदेशका काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका तोखा नगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, चन्द्रागिरी नगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमी नगरपालिका, भक्तपुर नगरपालिका, धादिङ्ग नगरपालिका, पनौती नगरपालिका, बाह्रबिसे नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चाँगुनारायण नगरपालिका रत्ननगर नगरपालिका सहित आयोजक जैशिदेवल युथ क्लबको आयोजक A र आयोजक B का खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

झण्डै १२ लाखको हाराहारीमा खर्च हुने अनुमान गरिएको सो प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौं महानगरपालिकाबाट ४ लाख र अन्य संघसंस्थाबाट ८ लाख सहयोग संकलन गरिने बताइएको छ ।

प्रतियोगितामा महिला र पुरुष पुम्से, युगल पुम्से र वेट क्याटगोरी प्रतिस्पर्धामा प्रथम, द्धितीय र तृतीय हुने खेलाडीहरुहरुलाई क्रमशः २०००, १५०० र १००० नगद पुरस्कार सहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ भने, उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई १५० डलर, उत्कृष्ट पुम्से महिला तथा पुरुष खेलाडीलाई १०० डलर, उत्कृष्ट महिला तथा पुरुष रेफ्रीलाई १०० डलर र उत्कृष्ट कोचलाई १०० डलर नगद पुरस्कार पनि प्रदान गरिनेछ । नगद पुरस्कारको प्रायोजकमा शुद्धोधन रंजित र रिता श्रेष्ठ रंजित तथा नविन शाक्य र प्रनिता श्रेष्ठ शाक्य रहेका छन् ।

कार्यक्रम संचालक तथा प्रचार प्रसार समितिका सहसंयोजक राजेन्द्र मानन्धरले क्लब विविध सामाजिक सेवामा पनि संलग्न रहेको बताए भने क्लबका महासचिव चन्द्र गोपाल प्रधानले प्रतियोगितामा स्वर्ण पदक जित्न सफल यस क्लबका खेलाडीहरुलाई आगामी दिनमा नयाँ दिल्लीमा हुने प्रतियोगितामा आफ्नै प्रायोजनमा सहभागिता गराउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *