छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) मा दैनिक १०० सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट शुरु
३ पौष २०७८, काठमाडौं ।
छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) मा दैनिक १०० सिलिण्डर क्षमता भएको अक्सिजन प्लान्ट आजबाट सुचारू भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले आज एक कार्यक्रमको बीच उक्त अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको हो ।
हेल्प नेपाल ब्रेथ र दया फाउण्डेसनको विषेश सहयोगमा १०० सिलिण्डर क्षमताको उक्त अक्सिजन प्लान्टको स्थापना भएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मन्त्री भुसालले आजभन्दा ६५ वर्षअघि स्थानीय जनसमुदायलाई प्रारम्भिक स्वास्थ्य सेवा दिने उद्देश्य स्थापना भएको चिकित्सालय वर्तमान अवस्थामा एउटा अत्याधुनिक सुविधा सम्पन्न निःशुल्क अस्पतालको रूपमा सञ्चालन भइरहेकोमा अत्यन्तै खुसी व्यक्त गर्नुभयो ।
‘अधिकार सम्पन्न स्थानीय सरकार बनेको छ । जनताको घर आगनमा पुग्ने सिंहदरवार भनेर संघीय संरचनामा गइसकेपछि तीन तहका सरकार बनायौं ।’ मन्त्री भुसालले भन्नुभयो, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहितको अधिकार सम्पन्न स्थानीय सरकार महानगरपालिका बनेको छ । यसको उद्देश्य भनेको धेरैभन्दा धेरै सुविधा यसले जनताको घरदैलोमा पुर्याउनु नै हो ।’


यसै अनुरूप काठमाडौं महानगरपालिका जस्तो देशको राजधानी भएको पालिकाले आफ्नै छुट्टै अस्पताल, मेडिकल कलेज, इञ्जिनीयरिङ कलेज, ज्येष्ठ, बालबालिका र अपांगता भएका नागरिकलाइ छुट्टै सेवा दिने केन्द्र निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले चिकित्सालयलाई चाहिने थप कुनै पनि सहयोग केन्द्र सरकारबाट दिनेमा पछि नहट्ने बताउँदै आगामि आर्थिक वर्षदेखि चिकित्सालयले खपत गर्ने विजुलीमा सहुलियत दिन नितिगत रुपमा प्रक्रिया शुरु गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा हेल्थ ब्रेथ नेपालका फण्ड रेजर इञ्जिनीयर सोनिका मानन्धरले यो अक्सिजन प्लान्टको लागी चाहिने रकम १५ दिन भित्रमा ८० प्रतिशत रकम फण्ड रेज गरेको बताउँदै परिवर्तन ल्याउनु छ भने पहिले आफ्नो सोच परिवर्तन गर्नु पर्ने बताए ।
त्यस्तै दया फाउण्डेसनका संस्थापक सदस्य कृपा माथेमाले शिक्षा, स्वास्थ्य र सम्पदामा सहयोग गर्ने संस्थाको नीतिअनुरूप चिकित्सालयले डेंगु र कोभिडको महामारीमा निभाएको उत्कृस्ट भुमिका प्रसंशा एवं कदर स्वरूप यो अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गरेको बताउनुभयो ।
वडा नं. १७ का वडाध्यक्ष नविन मानन्धरले एकता नै बल हो भन्नुहुँदै २०१३ सालमा माउ बद्रिले देखेको सपना र सोचलाई सबैले साथ दिएको हुनाले चिकित्सालय यो अवस्थामा पुग्न सफल भएको बताउनुभयो । शिक्षा र स्वास्थ्य समानान्तररूपमा अघि बढाउनु पर्नेमा जोड दिंदै उहाँले चिकित्सालयलाई सरकारले पर्याप्त मात्रामा सहयोग नगरेको गुनासो पोख्नुभयो ।
कार्यक्रमकाे अन्त्यमा चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले सहयोगी सम्पूर्ण संघ संस्था तथा व्यक्तिहरूमा विशेष धन्यवाद ज्ञापन गर्नुभयो । शुरूवातका दिनमा ३५ सिलिण्डर, ६५ सिलिण्डर हुँदै अहिले दैनिक १०० सिलिण्डरसम्म उत्पादन क्षमता भएको अक्सिजन प्लान्ट स्थापना गर्न सफल भएको बताउनुभयो ।
