नेवाः जातीय महासंघ गठन हुने
मंसीर १०, काठमाडौं ।
नेवार समाजभित्रको विभिन्न जातीय संगठनहरुको साझा संगठनको रुपमा महासंघ गठन हुने भएको छ । हिजो काठमाडौंमा सम्पन्न नेवाः जातीय संगठनहरुको भेलाले नेवाः जातीय महासंघ गठन गर्ने निर्णय गरेको हो । भेलाले जातीय संगठनहरुले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएको र ती समस्याको समाधानको लागि सबै एक ढिक्का भएर अघि बढ्नुपर्ने निष्कर्ष निकाल्दै महासंघ गठन गर्ने निर्णय गरेको हो ।
![]()
कार्यक्रममा भेला संयोजक साथै नेपाल खड्गी सेवा समितिका संरक्षक मनोज नेवाः खड्गीले नेवाः जातीय संगठनको एकता र सहकार्य विषयमा अवधारणा पत्र प्रस्तुत गर्नुभयो । सो क्रममा संयोजक खड्गीले न्हूदँको -याली, नेवाः एकता दिवस, गुथि विधेयकको आन्दोलन लगायतका अभियानमा जातीय संगठनको महत्वपूर्ण भूमिका रहने तर उक्त भूमिकाको सहि मूल्याङ्कन भने कहिल्यै नभएको गुनासो गर्नुभयो ।
‘विभिन्न नेवाः गतिविधि र अभियानहरुमा जातीय संगठनले नै बाजा बजाइदिनुपर्ने, सहभागीता जनाइदिनुपर्ने, तर हामी जहिल्यै सहभागीतामै मात्र सिमित भयौं,’ खड्गीले भन्नुभयो । ‘जातीय संगठनलाई नेतृत्व भने कहिल्यै दिइएन ।’
![]()
अवधारणा पत्रमा जातीय महासंघ गठन गर्दै नेवाः समाजको परम्परागत पेशाको आधुनिकीकरण गर्दै समाजको आर्थिक उन्नतीमा योगदान दिनुका साथै जातीय समाजहरुको भवन बनाउनेसम्मका उद्देश्यहरु प्रस्ताव गरिएको छ ।
काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक साथै काठमाडौं महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष न्हुछेँकाजी महर्जनले अहिलेसम्म नेवाः जातीय संगठनलाई नेतृत्व वर्गले प्रयोग मात्रै गर्दै आएको बताउनुभयो । गुथिको स्वामित्व लिइएको जातीय संगठनले नै गुथि विधेयकको आन्दोलनको नेतृत्व गरेको भए निष्कर्षमा पुगिने महर्जनको दावी थियो ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जातीय संगठनको एकताको विषय निकै सुखद रहेको भन्दै समाज, सम्पदा, संस्कृतिको संरक्षणमा सबै लाग्न सुझाव दिनुभयो । स्थानीय भाषा, कला, संस्कृति, सम्पदाको संरक्षणमा काठमाडौं महानगरपालिकाको सधैं साथ रहने प्रतिवद्धता महानगर प्रमुख शाक्यले जाहेर गर्नुभयो ।
यसै भेलाले महासंघ गठनको आवश्यक तयारीको काम अघि बढाउनका लागि मनोज नेवाःको संयोजकत्वमा सात सदस्यीय नेवाः जातीय महासंघ तयारी समिति पनि गठन गरेको छ । साथमा, चाडबाडमा नेवाः समाजभित्र एकरुपता ल्याउन सोही तयारी समितिबाट नेपाल पंंचाङ्ग निर्णायक समितिसँग छलफललाई तीव्रता दिने निर्णय पनि भेलाले गरेको छ ।