गुरु यज्ञमानपति बज्राचार्यमा समर्पित चर्या प्रवाह भव्य रुपमा सम्पन्न
जेठ १०, २०८३, काठमाडौं ।
काठमाडौं महानगरपालिका, यूनेस्को तथा काठमाडौं सिटी अफ फिल्म्सको आयोजनामा नेपाः डान्स एकेडेमी, बौद्ध दर्शन अध्ययन पुचः र नेपा सांस्कृतिक पुचःको सहकार्यमा हिजो राष्ट्रिय नाचघर, जमलमा सम्पन्न ऐतिहासिक कार्यक्रम गुरु यज्ञमानपति बज्राचार्य एकल साँझ “चर्या प्रवाह” मा चर्या बौद्ध दर्शन तथा नृत्य क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आउनुभएका संस्कृतिविद् चर्या गुरु यज्ञमानपति बज्राचार्यज्यूलाई विशेष सम्मान अर्पण गरिएको छ । कार्यक्रममा विभिन्न कलाकारहरूले चर्या नृत्य प्रस्तुत गर्दै गुरुको योगदानप्रति श्रद्धा व्यक्त गरेका थिए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा गुरु यज्ञमान पति बज्राचार्यले भावुक हुँदै भन्नुभयो, “आजको यो वातावरणमा देवी–देवताहरूको अलौकिक उपस्थिति महसुस भइरहेको छ । यस्तो आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रम अत्यन्त दुर्लभ हुन्छ । आज मैले आफ्नो जीवनको सार्थकता भएको महसुस गरेको छु ।” उहाँले काठमाडौं महानगरपालिकाप्रति विशेष आभार व्यक्त गर्दै आफूलाई मानिस भएर जन्मिएको अर्थ आज गहिरो रूपमा अनुभूत भएको बताउनुभयो ।

आयोजकको तर्फबाट काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलज्यूले गुरु यज्ञमान पति बज्राचार्यज्यूले कुनै जात, उमेर, वर्ग वा समुदायको भेदभाव नगरी सबैलाई समान रूपमा शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले नेपाः डान्स एकेडेमीले संस्कृति संरक्षणमा निरन्तर सक्रिय गुरु व्यक्तित्वलाई सम्मान गर्न यस्तो कार्यक्रम आयोजना गरेको भन्दै सम्पूर्ण कलाकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमको संयोजन नेपाः डान्स एकेडेमीका प्रमुख संयोजक रीना महर्जन, नेपाः डान्स एकेडेमीका अध्यक्ष रोहिया महर्जन, नेपाः डान्स एकेडेमीका म्यानेजिङ डाइरेक्टर गम्भीर मान सिंहले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सदिक्षा श्रेष्ठले गर्नुभएको थियो । “चर्या प्रवाह” ले नेपालको अमूल्य अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकहरूको भनाइ रहेको छ ।

विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको अन्तमा सहयोगी हातहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।
