दुदु च्याँच्याँ जात्रा

दुदु च्याँच्याँ जात्रा
–शरण डंगाेल, काठमाडाैं
हरेक वर्ष चैत्र कृष्ण अष्टमी अर्थात् सितलाष्टमीका दिन हिन्दूहरुको आराध्यदेव श्री पशुपतीनाथ मन्दिर परिसरबाट श्री पशुपतिनाथको प्रतिमूर्ति सहितको खट जात्रा पवित्र पाशुपत क्षेत्रबाट शुरु भै काठमाडौंको ऐतिहासिक दक्षिणकोलिग्रामका आराध्यदेव श्री पचली भैरवको शक्तिपिठ टेकुसम्म पुग्ने जात्रा हो दुदु च्याँच्याँ जात्रा ।
आराध्यदेव श्री पशुपतिनाथ स्वयम् खटमा बिराजमान भइ प्राचीन काठमाडौं नगरभित्रका देवीदेवतालाई पाहाँचह्रे भोजको निमन्त्रणा दिन आउने चलन रहेको पाइन्छ जसलाई दुदु च्याँच्याँ जात्रा भनिन्छ । नगरभित्रको शक्तिपिठमा रहेका आजुअजिमाहरुलाई निमन्त्रणा दिँदै गर्दा बजाइने बाजाको बोलबाट नै यस जात्राको नाम दुदु च्याँच्याँ भएको भन्ने मान्यता रहेको पाइन्छ ।

दुदु च्याँच्याँ जात्राको खट पशुपति मूल मन्दिरबाट सिफल, कालोपुल, ज्ञानेश्वर, नक्साल, कमलपोखरी, जमल, असन, त्यंगः, ङतभुलु अजिमा, जैसीदेवल हुँदै लगनसम्म पुगेर परम्परागत बाटो हुँदै यंगाल, मजिपात, हनुमानढोका, असन, जमलबाट पुनः पशुपति पुगेपछि यो जात्रा सम्पन्न हुन्छ । यात्रा गरी यस क्षेत्रका देवी देवतालगायत स्थानीयवासीलाई जात्रा हेर्न निमन्त्रणा गरिएको छ । यस क्षेत्रका दुध खाने र साना रुने बालकालिकालाई पनि जात्रा हेर्न निम्ता गरिने भएकाले दुदु च्याँच्याँ नामकरण गरिएको भनाइ छ ।
दुदु च्याँच्याँ जात्रा नगर प्रवेशका लागि स्वागत सत्कार तथा बिदाई गर्न ङतभुलु अजिमाखलःले हालसम्म निरन्तर बाजागाजा तथा धुन्या धिमेले साथ दिइरहेको हामी पाउछौं । बाजागाजा र खट लगन पुगेपछि पूजारीहरु चुपचाप श्री पचली भैरव र श्री मतुली अजिमा पूजा र निमन्त्रणा दिन जाने गर्दै आएको पाइन्छ ।