श्री हल्चोक आकाश भैरव १२ वर्षे जात्रा सम्पन्न
१ जेष्ठ २०८२, काठमाडौं ।
२०८२ साल बैशाख १ गतेबाट विधिवत रुपमा शुरु भएको श्री हल्चोक आकाश भैरव १२ वर्षे जात्रा हिजोबाट सम्पन्न भएको छ ।

विभिन्न १० देवदेवीको दैवी नृत्य प्रदर्शन गरिने यो जात्रा हरेक १२ वर्षमा १ पटक बैशाख महिनाभरि चल्ने गर्दछ भने आगामी शनिबार हल्चोकस्थित देवघर अगाडि नृत्य प्रस्तुत गरेपश्चात विधिवत रुपमा यो जात्रा सम्पन्न हुनेछ ।

हिजो जात्राको अन्तिम दिन ताम्सीपाखामा उपस्थित भै त्यहाँ छायाँतीगु पछि द्यःल्हायेगु नृत्य पश्चात् नगर परिक्रमा गरी ताम्सीपाखा चोकमा शहर भित्र अन्तिम नृत्य प्रस्तुत गरिएको थियो । तत्पश्चात देवगणहरुको हल्चोकको लागि फिर्ती सवारी भएको थियो । हल्चोक पुग्नु अघि विभिन्न स्थानमा पूजा पनि लिएको थियो । यसरी फिर्ती सवारी हुँदा हिँडेरै जाने प्रचलन रहे अनुसार देवगण, नायः, गुरुहरु हिँडेरै हल्चोक देवघर पुगेको थियो ।

अन्य दिनहरुमा ताम्सीपाखाबाट जात्रा शुरु भै सोही स्थानमा समापन गरिन्छ र जात्राका सामाग्रीहरु बोकेर हल्चोक पुग्ने गरिन्छ ।

अन्तिम दिन हिजो शहरबाट विष्णुमती खोला तर्नको लागि बाजा बजाइदैन भने देवगणहरुको मुकुण्डो पनि छोपेर नदी तार्ने गरिन्छ ।

यस जात्रामा श्री आकाश भैरव, श्री आकाशदेवी, श्री चण्डी कुमार, श्री चण्डी कुमारी, श्री भद्रकाली, श्री दक्षिणकाली, श्री बाराही, श्री गंगा, श्री शिव र श्री पार्वती गरी जम्मा १० देवगणहरु रहेका हुन्छन् ।
जात्राका एक नायःले समग्रमा जात्रा सभ्य, भव्य र सफलरुपमा सम्पन्न गर्न सहयोग गर्ने खलः, पुचः, संघ, संस्था, सहयोगी एवं गुथि खलःका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।