कलामनाेरञ्जन

२९ गतेबाट ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ सांस्कृतिक संस्थानमा

२८ मंसिर २०८०, काठमाडौं ।
लोकसंस्कृतिको संरक्षण, प्रवर्द्धन तथा प्रस्तुतिका क्षेत्रमा क्रियाशील सांस्कृतिक संस्थानले सांस्कृतिक पर्यटनको विकासमा टेवा पु-याउन, विदेशी पर्यटकलाई नेपालको मौलिक संस्कृतिबारे अवगत गराई प्रस्तुतिजन्य लोकसंस्कृतिलाई विश्वमाझ चिनाउन, देशभरका लोकसंस्कृतिकर्मी एवं कलाकारलाई चलायमान बनाउन, लोकसंस्कृतिलाई पुँजी निर्माणतर्फ अग्रसर गराउन विदेशी पर्यटकलाई लक्षित गरी साप्ताहिक रूपमा ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रमका प्रस्तुतिहरुमा मनोरञ्जनभन्दा बढी प्राज्ञिक, खोजमूलक र यथार्थपरक रही नेपालको मौलिक एवं रैथाने संस्कृति, सभ्यता, रहनसहन तथा जीवनशैली झल्कने प्रस्तुतिहरु समावेश गरिने जानकारी हिजो यहाँ आयोजित एक पत्रकार कार्यक्रममा गरेको थियो । छन् । विभिन्न जातजाती, समुदाय एवं भेगमा प्रचलित प्रस्तुतिजन्य लोककलालाई प्रामाणिक, आधिकारिक र प्रभावकारी बनाउन सम्बन्धित विषय विज्ञहरूको परामर्श, मूल्यांकन तथा सुझाव लिन प्रस्तुति छनोट तथा परामर्श समिति पनि गठन गरीएको छ । समितिको सल्लाहकारमा डा. भक्त राई, प्रेमनाथ अधिकारी, धीरेन्द्र प्रेमषि, नारायणदेवी प्रधान हुनुहुन्छ भने प्राज्ञ अशोक राई संयोजक एवं मनोज जोशी, कृष्ण गुरुङ, खडग बुढामगर र सुदर्शन थापा सदस्य रहनुभएको छ ।

भोलि मंसिर २९ गते सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूद्वारा उद्घाटन हुने सो कार्यक्रममा लोकसांस्कृतिक प्रस्तुति सहित गौतम बुद्ध, अरनिको, भृकुटी (हरीततारा), सीतालगायत नेपालका विभिन्न विभुति एवं अग्रज साधकहरुलाई विश्वमाझ चिनाउन उहाँहरुको जीवनीलाई संक्षिप्त रुपमा नाटकीकरण गरी प्रस्तुत गरिने छ ।

कार्यक्रमलाई सफल बनाउन नेपाल पर्यटन बोर्डसहित संस्कृति तथा पर्यटन क्षेत्रमा क्रियासिल विभिन्न निजी तथा सरकारी संघसंस्थासंग सहकार्य हुनेछ भने केही महिना साप्ताहिक रुपमा आयोजना हुने यो कार्यक्रमलाई नेपाली परिकारका साथ रात्रीभोजसहित दैनिक रुपमा प्रस्तुत गर्ने तयारी रहेको जानकारी गराए ।

पुषको पहिलो सातादेखी सःशुल्क टिकटमा कार्यक्रम सुरु गरिनेछ जसमा पहिलो चरणमा कार्यक्रम प्रवर्द्धनका लागि विशेष छुटका साथ नेपाली नागरिकलाई रु. ५००/–, छिमेकी मुलुक भारत र चीनका नागरिकका लागि रु. १,०००/– र अन्य विदेशी नागरिकका लागि रु. १५००/– तय गरिएको छ भने कार्यक्रममको विस्तृत रुपमा जानकारी दिन एपको विकास गरी त्यही एपबाटै बुकिङ्ग गर्न सकिने व्यवस्था पनि निकट भविष्यमै हुने जानकारी समेत आयोजकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *