अर्थ

पुख्र्यौली व्यवसाय प्रबद्र्धनमा साथ दिन्छु ः मध्यपुर थिमि मेयर सुरेन्द्र श्रेष्ठ

२ साउन २०७९, केके मानन्धर ।
मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले पुख्र्याैली पेशा र व्यवसाय प्रबद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सांस्कृतिक महत्त्व बोकेको लाय्कू साः (पुख्र्यौली प्रविधिमा आधारित तोरीको तेल बनाउने कारखाना)भवन उद्घाटन गर्दै मेयर श्रेष्ठले लोप हुने अवस्थामा पुगेको मौलिक पेशालाई संरक्षण र प्रबद्र्धन गर्ने क्षेत्रमा नगरपालिकाको विशेष सहयोग रहने बताएका हुन् । उहाँले सिवा साय्मि खलःको नेतृत्वमा पुनर्निर्माण सम्पन्न भएको भवनलाई खलःकै नाममा स्थायी लालपूर्जा बनाइदिने समेत आश्वासन दिए ।
हुनपनि मानन्धर समुदायको पुख्र्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई पुनर्उत्थान गर्नुपर्ने देखिन्छ । यहि सन्दर्भमा पुख्र्यौली व्यवसायलाई सामुहिक लगानीमा कम्पनीको रूपमा विकास गर्ने अभियानको थालनी भएको छ । भक्तपुर चेम्बर अफ कमर्स र जिल्लाका विभिन्न ठाउँमा सघन रुपमा बस्दै आएका मानन्धरहरुले यस अभियानमा साथ दिइरहेका छन् । सरोकारवाला पक्षले साथ दिने हो भने भक्तपुरको स्थानिय उत्पादनको रुपमा रहेको जुजु धौ, कालो टोपी, ह्याण्डीक्राफ्ट, लोकल रक्सी, चिउरा, चाकु लगायतका बस्तुलाई अन्तर्राष्ट्रिय बजारमा बिक्रीवितरण गर्न सकिन्छ ।


कार्यक्रममा डेपुटी मेयर विजयकृष्ण श्रेष्ठले तेल उत्पादनको क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने बताए । ‘केही दसक अघिसम्म म आफै तोरीको तेल खरिद गर्न जान्थें । तर आजको दिनमा यस्तो अवस्था छैन । हामी विदेशी तेलको प्रयोग गरिरहेका छौं ।’ श्रेष्ठको भनाइ थियो । पुख्र्यौली पेशा र परम्परागत प्रविधिलाई आत्मसात गरी स्थानिय क्षेत्रमै उत्पादन हुने बस्तुलाई प्राथमिकता दिने हो भने आयात प्रतिस्थापन सम्भव भएको श्रेष्ठको भनाइ छ ।
त्यस्तै, थिमिको मल्लकालीन दरबार अर्थात लाय्कू परिसरसँगै रहेको भएर पुलां साः वा क्वथु साःलाई  लाय्कू साःको रुपमा सम्बोधन गरिएको खलःका अध्यक्ष अष्टरत्न मानन्धरले बताए । ‘लाय्कू साः पुनर्निर्माण गरिएको टोलको नाउँ साःननि र सँगै रहेको इनारको नाउँ साः तुंथि रहेको छ । यिनीहरुको नामांकरण समेत लाय्कू साःको आधारले हुनपुगेको हो ।’ मानन्धरको दाबी छ ।
कार्यक्रममा पुख्र्यौली व्यवसायको रुपमा रहेको तोरीको तेल उत्पादन गर्ने मौलिक प्रविधिमा आधारित साःलाई सांस्कृतिक, धार्मिक, सम्पदाजन्य र सामुदायिक जीवनशैलीसँग जोडेर चर्चा गरिएको थियो ।
टोलका थकाली ९१ वर्षिया मोहनलाल लाखे मानन्धरको समुपस्थितिमा मध्यपुर थिमि नगरपालिकाया मेयर सुरेन्द्र श्रेष्ठले भवन उद्घाटन गरेका हुन् । कार्यक्रममा डेपुटी मेयर विजयकृष्ण श्रेष्ठ, फर्मल मेयर मदनकृष्ण श्रेष्ठ, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर, चार वडाका वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, वडा सदस्य रामकेशरी श्रेष्ठ, पूर्व जिसस उमेश श्रेष्ठ, राजनीतिज्ञ राजेश (माइला) मानन्धर लगायतको उपस्थिति थियो । गंगाराम मानन्धरको संयोजन र मनोजलाल मानन्धरको नेतृत्वमा भवन निर्माण सम्पन्न भएको हो । भवन पुनर्निर्माणको लागि स्थानिय टोलबासीहरुले आर्थिक र भौतिक सहयोग गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *