स्थानीय ज्यापू समुदायले स्वयम्भू महाचैत्यलाई पुलुले छोपे
३० असार २०७९, काठमाडौं ।
ह्यूमत तुकंबहाका ज्यापू समुदायले संचालन गर्दै आएको पुलुं भुनेगु गुथिद्वारा हिजो गुरु पूर्णिमा अर्थात् असार शुक्ल पूर्णिमाका दिन स्वयम्भू महाचैत्यको त्रयोदश भुवनको वरिपरि पुलुले छोपियो ।
पहिले परम्परागत रूपमा भलभल अष्टमीको दिनदेखि यो कार्य शुरु गरी असार शुक्ल पूर्णिमाका दिन सम्पन्न गरिन्थ्यो भने आश्विन शुक्ल अष्टमीका दिन सो पुलु निकाल्ने गरिन्छ ।

गुथिका नाइके पूर्णमान महर्जनका अनुसार २६ जना सदस्य रहेको सो गुथिबाट उक्त कार्य गर्न पुलु र डोरीको लागि यस वर्ष बिस बाइस हजार खर्च लागेकोमा सो सम्पूर्ण खर्च गुथिबाटै गरेको बताए ।
भलभल अष्टमीका दिन मुसं माहारानीले द्य पुलु ल्याई पूजा आजा गरेर च्वका बां भनी माथिल्लो क्षेत्रबाट पुलुले छोप्ने कार्य शुरु गरिन्छ भने चह्रेको दिन दथु बां भनी बिचमा र अन्तिममा असार शुक्ल पूर्णिमाका दिन प्व बां भनी पुरै त्रयोदश भुवन पुलुले छोप्ने गरिन्छ ।
विशेषतः महाचैत्यको त्रयोदश भुवनलाई साउने झरीको पानीबाट बचाउन यसरी पुलुले छोप्ने गरिन्छ । सोही गुथिले तुकंबहामा रहेको चैत्यलाई पनि पुलुले छोप्ने गरिंदै आएको छ ।
