सर्जक हरिप्रशाद बैद्यकाे चित्रकला प्रदर्शनी बैशाख १० गतेबाट आर्ट काउन्सीलमा
६ बैशाख २०७८, काठमाडाैं ।
पुरातात्विक सम्पदा एवं वास्तुकलाका ज्ञाताका साथ साथै वरिष्ठ चित्रकार एवं संगीतज्ञ भ्वाइलिन गुरु हरिप्रशाद बैद्यका चित्रकलाको प्रदर्शनी आगामी बैशाख १०, ११ र १२ गते आर्ट काउन्सील, बबर महलमा हुने भएको छ ।

नेवाः ग्वाहालि पुचः नेपाः १३/१५ वडा काठमाडौंको आयोजनामा हिजो आयोजित पत्रकार सम्मेलनमा उक्त प्रदर्शनीमा सर्जक वैद्यलाई सम्मान पनि गरिने बताए ।
शाखाका अध्यक्ष कपिलमुनि बज्राचार्यको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य एवं शाखाका सदस्य विष्णु चित्रकारले सर्जक वैद्यका बारेमा आफ्नो भनाई राखेका थिए ।

शाखाका सदस्य रवि रञ्जितले धन्यवाद ज्ञापन सहित समाप्त भएको उक्त कार्यक्रममा पत्रकारहरुले कार्यक्रमको सम्बन्धमा केहि जिज्ञाशा पनि राखेका थिए ।

सर्जक हरिप्रसाद वैद्य –
देशको गौरव, राष्ट्रिय अस्तित्व र पहिचानको संरक्षण गर्न निस्वार्थ भएर आफूलाई समर्पित गर्न सक्ने व्यक्तित्वहरु नै साँचका राष्ट्रवादी हुन्छ । यस्ता सिर्जनशील कलाकारहरु बीचमा बृहप्रतिभा युक्त वरिष्ठ कलाकार हाे हरि प्रसाद वैद्य । ने.सं. १०५७ (वि.सं. १९९३ मा काठमाडाैं टेंगल टोल, रक्तकालिमा आमा नानी छोरी र बुबा रुद्र देवानन्दबाट जन्मनु भएका हरि प्रसाद बैद्य, आजकाल स्वयम्भु डल्लकोु निपुहितिमा आफ्नो कलाकारिताको पचासिऔं (८५औं) बसन्त पूरा गरिरहनु भएको छ ।
ने.सं. १०७५ (बिसं २०५१) तिर नेपालमा आधुनिक चित्रकलाका एकजना अगुवा स्वनामधन्य श्री चन्द्रमान मास्केसँग सम्पर्क भएपछि उहाँलाई गुरु मानी चित्रकलाको आधारभूत शिक्षा लिएर आफूमा लुकेर रहेका चित्रकलाको प्रतिभा आफ्नै प्रयत्नले प्रस्फुरित गर्नुभयो । यसरी नै ने.सं. १०७६ (वि.सं. २०१२) तिर काठमाडौं भिमसेन टोलका वरिष्ठ पियानो वादक श्री कृष्णलाल तण्डुकारसँगको सम्पर्कपछि उहाँबाट संगीतका आधारभूत ज्ञान प्राप्त गरी आफूमा लुकेको संगीत प्रतिभालाई आफ्नो ठूलो र अथक प्रयत्नले भ्वाइलेनको संगीतमा प्रस्फुरित भएको छ ।
उहाँले भारतबाट डिप्लोमाको उपाधि प्राप्त गर्नुभयो । साथै उहाँले अष्ट्रेलियाबाट अंग्रेजी इन्टेन्सीभ कोर्ष गर्नुभयो । त्यसपछि उहाले नेपालको परम्परागत संगीत, वास्तुकलाको ज्ञान र आधुनिक चित्रकलाको ज्ञान आफ्नै ठूलो प्रयत्नद्वारा सिक्नु भयो । यसलाई विशेष रूपले नेपाल संगीतलाई भारत, चीन, अष्ट्रेलिया र युरोपका विभिन्न ठाउंमा प्रदर्शन गरेर नेपालको परिचय दिनुभएको छ । यसैको क्रममा उहाँले इन्टनेशनल इभिनिङ्ग नाममा नेपालको संस्कृति उजागर गर्ने आफ्नो चित्रकला र परम्परागत नेपाल संगीतलाई अष्ट्रेलियाका सुप्रशिद्ध विभिन्न बरिष्ठ संगीतकारहरुको साथमा जास्मीन नाममा अष्ट्रेलियाका विभिन्न ठाउँमा भव्य कन्सर्ट प्रस्तुत गरी आफ्नो नाम मात्र होइन नेपालका कला र संगीतको परिचय दिने काम गर्नु भयो । उहाँले प्रस्तुत गर्नुभएको यस्तो प्रदर्शनीको क्रममा युरोपमा आफ्नो चित्रकलाको तस्वीरहरूले भरेको बाकस नै हराउनु पर्याे । यसले नेपालको कला भण्डारमा ठूलो क्षति हुन पुगको थियो। उहाँले अष्ट्रेलिया र युरोपमा दिएका विभिन्न अन्तरक्रिया र रेडियो अन्तर्वार्तामा नेपाल संगीत भारतीय संगीतको एउटा भाग हो भन्ने भ्रमलाई मेटी नेपाल संगीतको अलग्ग स्वरुप प्रस्तुत गरी नेपाललाई चिनाउने काममा सफलता प्राप्त गर्नुभयो ।
चित्रकलाको क्षेत्रमा विशेष गरी नेपाल संस्कृतिले भरिपूर्ण दृष्यचित्र र व्यक्ति चित्र लेख्नमा उहाँको हृदय आकर्षित भएपनि व्यक्ति चित्रमा मानिसको अभिव्यक्ति वा अनुभूतिमा उहाँको दक्षता राम्ररी प्रस्फुटित भएको छ । उहाँले आफ्नो चित्र लेखनमा बाहिरी वस्तुस्थितिलाई भन्दा आन्तरिक सुक्ष्मता र भित्रको भाव प्रस्फुरित वा मनोलोकको खोजमा एकाग्रचित्त गर्नुभएको देखिन्छ । यसले जीवनको अध्ययन र सांस्कृतिक सभ्यतालाई बुझ्न सहयोग गर्नेछ । उहाले आफ्नो चित्रकलामा चार्कोल, पानीरंग, पेस्टल र तेलरंग प्रयोग गरेर आफ्नो अनुभव र अनुभूतिबाट नेपालको संस्कृतिलाई प्रस्तुत गर्न प्रयत्न गर्नु भएको छ ।
उहाँको अर्को ठूलो विशेषता भनेको उहाँ नेपालको पुरानो परम्परागत वास्तुकलाका ज्ञाता हुनु हुन्छ । उहाले विभिन्न ठाउँमा अवस्थित पुराना मन्दिर, क्वापाछें, सतल, फल्चा र पुराना कलात्मक घरका साथै विभिन्न परम्परागत, पुरातात्विक वास्तुकलाको जिर्णोद्वार, पुनर्निर्माण गर्ने वा निर्माण गर्ने जस्ता अति नै संवेदनशील कामका लागि नेपालको मौलिकताले सम्पन्न काममा आफुलाई समर्पित गर्नु भयो ।
उहाँले यस कार्यलाई आफ्नो घरमा बसी कागजमा डिजाइन गर्ने र नक्सांकन गर्ने काम मात्र गर्नु भएको छैन, उहाँ कार्यक्षेत्रमा उपस्थित भई निरन्तर रुपमा आवश्यकता अनुसार दकर्मी, सिकर्मीसँग बसी यहाँ यसरी यस प्रकारले गर्नु पर्छ भनी प्रत्यक्ष निर्देशन गर्ने काम गर्नु भई लोप हुन लागेको, मासिन लागेको नेपालको वास्तुकलाको मौलिकता जगेर्ना गर्ने काममा कुनै पारिश्रमिकको आशा नगरी निरन्तर लागि रहनु भयो । यस कार्यमा उहाँ ने.सं. १०९८ (वि.सं. २०३५) सालदेखि निरन्तर लागिरहनु भएको हो । यसको केही प्रमाणको रुपमा इन्द्रचोकको आकाश भैरव (आजुद्यः) को घर (द्यः), महाबौद्धको क्वाःपाःछेँ, मखनको वडाछेँ (वडाभवन), नारायण मन्दिर र गणेश मन्दिर र बांगेमुढाको नासः द्यः (नृत्यश्वर मन्दिर) र विभिन्न ठाउँमा विभिन्न मन्दिर र विहार निर्माण गर्ने काममा सहयोग गरी सम्पदा संरक्षण र सम्बर्द्धन गर्ने काम गर्नु भएको छ ।
उहाँको कला, संगीत र सम्पदाको सम्बर्द्धनमा आफ्नो विशिष्ट प्रकारको धारणा र विश्लेषण छ। यस कुरा उहाँको विभिन्न लेख र भाषणले पुस्टयाएको छ । उहाँ भन्नु हुन्छ, ‘अदुरदर्शिता अनसार हाम्रो पुरातात्विक वास्तुकलाको निर्माण कार्यमा आधुनिक निर्माण प्रविधि मिसाउनु भनेको हाम्रो पुरातात्विक वास्तुकलालाई विगार्ने काम मात्र हो ।’
उहाँको अर्को दक्षता भनेको लोगो बनाउने र विभिन्न डिजाइन गर्ने पनि हो । उहाँले काठमाडौं महानगरपालिकाको लोगो, नेपालभाषा मंकाः खलःको लोगो, नेपालभाषा एकेडेमिको लोगोंदेखि पुरानो राष्ट्रिय पञ्चायतका सदश्यहरुको लोगो चिन्ह, अनि नेपाल सेना, नेपाल प्रहरीको चिन्ह र लोगोका साथ विभिन्न लोगो बनाउने, विभिन्न पुस्तक डिजाइन गर्ने र विभिन्न नमुना चित्रहरु पनि बनाउनु भएको छ ।
आजभोलि उहाँलाई बैस र स्वास्थ्यको कारणले धेरै कार्य गर्न नदिए तापनि नायाँ पुस्ताका कलाकारहरुलाई मूलरुपमा भ्वाइलेन प्रशिक्षण र निर्देशन दिने र परम्परागत वास्तुकलाको ज्ञान दिने, प्रेरणा दिने कार्य गरिरहनु भएको छ उहाँको उक्त कार्यलाई उच्च मूल्यांकन गरी उहाँलाई काठमाडौं महानगरपालिका, नेपालभाषा मंकाः खलः, नेपालभाषा एकेडेमि, नेपाल कला परिषदेखि नेपाल सेना, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटी, ब्लड दोनर्स क्लब, डान्स आर्ट कल्चर सेन्टर र धेरै अन्य संघ संस्था र जन स्तरबाट सम्मान कार्य भएको छ । उहाँलाई राष्ट्रपति रामवरण यादवको हालबाट धुस्वां साय्मि सृजना पुरस्कारबाट पनि सम्मान गरिएको छ ।
आजकाल उहाँका शिष्यहरु उहाँबाट शिक्षा र प्रेरणा लिई दक्ष कलाकार भएर देश र विश्वका विभिन्न भागमा फैलिएर बसेका छन् । यसरी पनि विश्वमा नेपालका मौलिक कला, संगीत र सम्पदाको प्रचार प्रसार हुन गएको छ । यसरी उहाँबाट नयाँपुस्ताले अझै पनि धेरै प्रेरणा र ज्ञान प्राप्त गरी नेपालको मौलिक कला, संगीत र सम्पदालाई संरक्षण र सम्बर्द्धन गर्ने काममा अग्रसर हुनेछ भन्ने कुरामा विश्वास गर्न सकिन्छ ।