नेपालभाषा साहित्य नखः विविध कार्यक्रमसहित भव्यताका साथ सम्पन्न, स्थानीय पाठ्यक्रम लागू गर्ने जनप्रतिनिधिहरु सम्मानित
१३ चैत्र २०७८, काठमाडौं ।
चौथो नेपालभाषा साहित्य नखः हिजो सम्पन्न भएको छ । कीर्तिपुरमा आयोजना भएको दुई दिने महोत्सव आज सकिएको हो ।
नखः अन्तर्गत आज पांगा लाछिमा विद्यालय तहमा स्थानीय भाषामा स्थानीय पाठ्यक्रम लागू गरिएको काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका प्रमुख र कीर्तिपुर नगरपालिकाका प्रमुख र उपप्रमुखहरुलाई सम्मान गरिएको थियो ।
जनकवि दुर्गालाल श्रेष्ठ, नेपालभाषा एकेडेमीका भाइस चान्सलर मल्ल के सुन्दर र नेपालभाषा टाइम्सका प्रकाशक रमेश स्थापितले विद्यालय तहमा नेपालभाषामा पाठ्यक्रमको व्यवस्था गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललतिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र उपप्रमुख सरस्वती खड्का रिजाललाई सम्मानित गरेका थिए ।
सम्मान ग्रहण गर्दै काठमाडौं महानगरपालिकाका मेयर शाक्यले इच्छा शक्ति भए आफूले सोचेको कुरा पूरा गर्न सकिने बताए । नेपालभाषा पाठ्यक्रम लागू गर्न मेयरको मात्रै नभइ उप्रप्रमुखदेखि सबै वडा जनप्रतिनिधि र कर्मचारीहरुको पनि उत्तिकै भूमिका रहेको उनले बताए ।
‘नीतिलाई कार्यान्वयन गर्न बाहिर बसेर सहयोग गर्नेहरु धेरै छन् । त्यसैले उहाँहरुकै साथमा पाठ्यक्रम बनाएर लागू गरेका हौं,’ उनले भने । शाक्यले पाठ्यक्रम लागू भएको तर अझै गर्न पर्ने धेरै काम बांकी रहेको पनि बताए ।
‘हामी अझै सफल भएका छैनौं । हामी सबै मिलेर अझै यसलाई सफल बनाउनपर्छ । राज्य धर्म हाम्रो हो । संविधान अनुसार काम हामीले गरेको हो । त्यसैले कोही रिसाउनुपर्दैन,’ उनले भने ।
यस्तै ललितपुर महानगरका प्रमुख महर्जनले पनि आफूहरुले संविधान अनुसार स्थानीय पाठ्यक्रम लागू गरेको बताए । ललितपुर महानगरमा हाल कक्षा ३ सम्म पाठ्यक्रम लागू भएको जानकारी दिँदै उनले कक्षा १२ सम्म नेपालभाषा पाठ्यक्राको पढाइ हुनुपर्ने उनले बताए । ‘पाठ्यक्रम लागू गराउन धेरैले सहयोग गर्नु भएको छ । उहाँहरु पनि सम्मानको हकदार हुनुहुन्छ,’ उनले भने, ‘हामीले सुरुवात गरेको हो । अब १२ कक्षासम्म पढाउनुपर्छ ।’
त्यस्तै, कीर्तिपुर नगरपालिकाका मेयर रमेश स्थापितले स्थानीय पाठ्यक्रम लागू भएपछि नगरवासीहरु खुशी भएको बताए ।
‘नेवारसँगै गैरनेवारहरु पनि खुशी छन् । गैर नेवार समुदायका मानिसहरु आफ्ना छोरा छोरीले एउटा थप भाषा सिक्ने अवसर पाएको भनेर भनिरहेका छन् । यसमा सबैको साथ छ,’ कीर्तिपुर नगरका प्रमुखले भने ।
यस्तै, कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्का रिजालले नेपालभाषा सबैले सिक्न पर्ने बताइन् । कार्यक्रमको सुरुवातमा नेपालभाषामा नै सम्बोधन गरेकी उनले आफूलाई पनि सुरुमा गाह्रो भएको तर अहिले नेपालभाषा बुझ्न सक्ने र बोल्ने प्रयासमा रहेको बताइन् ।
उनले नेपालभाषामै पाठ्यक्रम लागू गर्नु सफलता भएको भन्दै कीर्तिपुरमा गैरनेवारहरु पाठ्यक्रम लागू भएपछि खुशी भएको बताइन् । साथै, विद्यालयमा गैरनेवारले नै नेपालभाषा पढाउने गरेको समेत बताइन् ।
सम्मान कार्यक्रम अघि कीर्तिपुरको संस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनाबारे छलफल भएको थियो । वक्ताहरुले काठमाडौं, भक्तपुर र ललितपुरमा आउने पर्यटकलाई कीर्तिपुर तान्न नसकिएको भन्दै कीर्तिपुरलाई पर्यटकीय क्षेत्र बनाउन ‘मार्केटिङ’ र ‘ब्रान्डिङ’को आवश्यकता रहेको बताएका थिए । अब कीर्तिपुर नेवार परिकारहरुको रेष्टुराँ हब भएको भन्दै उनीहरुले कीर्तिपुरका सांस्कृतिक सम्पदा र त्यहाँ एड्भेन्चर टुरिजमको सम्भावनाको प्रचारप्रसार हुनुपर्ने बताएका थिए ।
महोत्सवमा नेपालभाषाका नाटक, गीत, कविता समेत प्रस्तुत गरिएको थियो। साथै नेपालभाषा पठनपाठनले साहित्यलाई कसरी टेवा दिन्छ भन्ने विषयमा पनि अन्तर्क्रिरया भएको थियो ।
शुक्रवार भने ‘नेवाः ऋतु म्ये’ विषयमा वरिष्ठ संगीतकर्मी रामकृष्ण दुवालसँग अन्तरकृया भएको थियो । विभिन्न साहित्यिक कार्यक्रमसँगै शुक्रवार पाँचवटा पुस्तकहरू पनि विमोचन गरिएको थियो ।