सम्माननिय प्रधानमन्त्रीज्यू समक्ष ग्वय्दां हस्तान्तरण
१३ मंसिर २०७८, काठमाडौं ।
१८ औं राष्ट्रिय ज्यापु दिवसको निमन्त्रणा दिन समारोहका समिति प्रधानमन्त्री निवास बालुवाटार पुगि सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवाज्यूलाई १८ औं राष्ट्रिय ज्यापु दिवस समारोह समितिको ग्वय्दां (परम्परागत निमन्त्रणा) हस्तान्तरण गरे ।


सो ग्वय्दां हस्तान्तरण कार्यक्रममा सम्माननिय प्रधानमन्त्रीज्यूले उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा यहाँका आदिवासी ज्यापु समुदायको योगदान उच्च रहेको बताउनुभयो ।
यहि आउँदो पुष ४ गते यःमरि पुन्हीका दिन सांस्कृतिक झाँकीका साथ बसन्तपुरमा भव्यताकासाथ मनाउन गइरहेको १८ औं राष्ट्रिय ज्यापु दिवसमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई प्रमुख आतिथ्यता ग्रहणका लागि निमन्त्रणा स्वरुप ग्वय्दां (माटोको सानो पालामा चामलमाथि सिंगो सुपारीहरु, चाँदीको सिक्का राखिएको हुन्छ) र निमन्त्रणा पत्र ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहले हस्तान्तरण गरेका थिए ।

ज्यापु दिवसको निमन्त्रणा दिन आयोजक ज्यापु संस्कृति विकास कोष तथा संयोजक गोफः त्वाः माकः गल्ली ज्यापु समाजका पदाधिकारीहरु परम्परागत बाजागाजा सहित हिजो प्रधानमन्त्री निवास पुगेका थिए ।
कार्यक्रममा ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको कार्याकालमा नेपाल सरकारबाट आर्थिक वर्ष २०५७/५८ मा ज्यापु समुदायको बाजा संरक्षणको लागि प्राप्त १२ लाख ६० हजार रुपियाँ अक्षयकोषबाट ज्यापु संस्कृति विकास कोषको स्थापना भएको स्मरण गराउँदै हरेक वर्ष सार्वजनिक विदा दिंदै आइरहेको यःमरिपुन्हि/ज्यापुदिवसको पर्व विदा विगत दुईवर्षदेखि सम्बन्धित जातिलाई मात्र दिने निर्णयलाई सार्वजनिक विदामा परिणत गर्नको लागि सम्माननीय प्रधानमन्त्री समक्ष अनुरोध गरेको थियो ।

