समाजसेवास्वास्थ्य

विश्वको उच्च स्थानमा सामुहिक रक्तदानको कीर्तिमान

३० कात्तिक २०७८ ।

केके मानन्धर, काठमाडाैं ।

लायन्स क्लब अफ काठमाण्डु ब्लड सर्कलले साेलुखुम्बुकाे सल्लेरीस्थित याेङ स्टार क्लबसँगकाे सहकार्यमा दुई हजार तीन सय पचास मिटर उच्च ठाउँमा ७१ जनाले रक्तदान गरेर विश्व कीर्तिमान बनाएकाे छ । सल्लेरी बजार प्रदेश नं. १ अन्तर्गत सगरमाथाकाे आधार शिबिर जाने मुख्य नाका तथा जिल्लाकाे सदरमुकाम हाे ।

आयाेजक टिमका अनिल तुलाधरले साेही दाबीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डकाे लागि पहल गर्ने समेत जनाए । ‘यसअघि यति धेरै अग्लाे ठाउँमा धेरै जनाले एकैपटक रक्तदान गरेकाे हामीले भेट्टाएनाैं । त्यसैले पनि विश्व जगतले चिन्ने सगरमाथाकाे काखमा आएर हामीले विश्व कीर्तिमानकाे लागि प्रयास गरेका छाैं ।’ तुलाधरकाे दाबी थियाे ।


हुनपनि चिसाे ठाउँ, ब्लड बैंक नभएकाे र प्राविधिक जनशक्ति अभाव भएको ठाउँमा रक्तदान गर्नु चुनाैतिपूर्ण छ । समग्र साेलुखुम्बु जिल्लामै ब्लड बैंक छैन । त्यसैले पनि यस्ताे दुर्गम ठाउँमा रक्तदान गर्नु चुनाैतीपूर्ण छ । एक त रक्तदान गरे लगत्तै त्यसलाई सुरक्षित तबरले निर्धारित तापक्रममा सम्बन्धित ठाउँमा राख्नुपर्ने हुन्छ भने अर्काेतर्फ रगत संकलन गरेर प्रयाेग गर्नु बेस हुन्छ । साेलुखुम्बुमा यी आधारहरू बनिसकेका छैनन् ।


त्यस्तै साेलुस्थित याेङ स्टार क्लबका दिपक राजभण्डारीले जटिल स्वास्थ्य समस्यालाई जिल्लामै उपचार गर्न/गराउन असमर्थ रहेकाेमा दुःख व्यक्त गरे । स्वास्थ्य सम्बन्धिकाे थप उपचार गराउन हेलिकप्टरमार्फत काठमाडौं लानुपर्ने बाध्यता रहेकाेमा स्थानिय स्तरमै सुविधा सम्पन्न अस्पताल हुनुपर्नेमा जाेड दिए ।

कार्यक्रमकाे लागि सञ्चार संयाेजनकाे जिम्मेवारी पाएका लक्ष्मण जाेशीले दुर्गम ठाउँकाे रक्तदान कार्यक्रमले रगत सम्बन्धिकाे महत्त्व र आवश्यकता विषयमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।


काठमाण्डुदेखि कात्तिक २५ गते हिँडेकाे टाेलीले सल्लेरीकाे सुरक्षा संयन्त्र, जनपथ प्रहरी, सशस्त्र प्रहरी, स्थानिय खेलकुद समिति तथा अन्य संस्थाहरूसँग सहकार्य गरेकाे छ । कार्यक्रममा कान्तिपुर अस्पतालकाे ब्लड स्टान्सफ्यूजन सेन्टरले प्राविधिक रूपमा सहकार्य गरेकाे छ भने स्थानिय जनप्रतिनिधि, राेटरी क्लब अफ ठमेल, पिएमजेएफ दिपक खरेल, सेकेन्ड भिडिजी मणिश्री रत्न बज्राचार्य, याेगेश जाेशी, टीका हाेलिडेज्, हिमाली ब्रेड, हिलबर्ड सेभिङ एण्ड क्रेडिट लिमिटेड, तारा एअर, तारामण्डल महिला सशक्तीकरण अभियान, रिलायन्स सिमेन्ट, धालासिक्व टाेल संरक्षण परिवारले सहयाेग गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *