मनाेरञ्जनमहानगर समाचार

गायनमा सक्षम र नृत्यमा श्रुयति भइन् सर्वोत्कृष्ट

२० कार्तिक २०७८,

एस. बज्राचार्य, ललितपुर ।

ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिको आयोजनामा भएको १६ वडा ब्यापिं गायन प्रतियोगिता सक्षम शर्माले जितेका छन् भने नृत्य प्रतियोगिता श्रुयति शाक्यले जित हासिल गरिन् ।

ललितपुर महानगरपालिका १६ वडा ब्यापि गायन तथा नृत्य प्रतियोगितामा गायनतर्फ द्वितीय स्थान  राधिका श्रेष्ठ तथा तृतीय स्थान यजु शिल्पकारले जितिन् भने नृत्यतर्फ विशाखा शाक्यले द्वितीय तथा एन्जेला शाक्यले तृतीय स्थान प्राप्त गरिन् । प्रतिस्पर्धीहरुले प्रथम पुरस्कार २५।२५ हजार नगद, द्वितीय १५।१५ हजार नगद, तृतीय १०।१० हजार नगदसहित ट्रफी, प्रमाणपत्र तथा ट्रेनिङ प्याकेज जितेका भने ट्रेनिङ प्याकेज उत्कृष्ट १० का लागि ब्यवस्था गरिएको हो । उत्कृष्ट १० मा पर्न सफल गायनका प्रतिस्पर्धीहरु बबिन राजोपाध्याय, सिम्रन शाक्य, शैलेश बज्राचार्य, राजेश बज्राचार्य, जेनिश ज्योति शाक्य, सुनिल बज्र्राचार्य तथा अमिर शाक्य रहेका छन् भने नृत्यतर्फ श्रेशा श्रेष्ठ, विभूषणा बज्राचार्य, उत्पला बज्राचार्य, श्रृया बज्राचार्य, नैरात्मा बज्राचार्य, सुयंका बज्राचार्य तथा लक्की महर्जन रहेका छन् ।

वडाका कलाकारहरुलाई प्रोत्साहित गर्ने तथा तालिम मार्फत अझ परिष्कृत गर्ने उद्देश्यसाथ आयोजित यस प्रतियोगितामा सहभागी १२ बर्षमुनिका कलाकारहरुलाई भने “भिंतुना (शुभकामना) पुरस्कार” प्रदान गरिएको थियो । यो पुरस्कार गायनतर्फ ९ बर्षका रिभनमुनि बज्राचार्य तथा १० बर्षीय सजेना महर्जनले प्राप्त गरिन् भने नृत्यतर्फ १३ बर्षीया निष्ठा बज्राचार्य, १० बर्षीया श्रीजु श्रेष्ठ र  ८ बर्षीया स्मृति शाक्यले प्राप्त गरिन् ।

प्रतियोगितामा अनलाईनमार्फत दर्ता भएको भिडियोको फेसबुक तथा युट्युबमा सबैभन्दा बढी भ्यूज प्राप्त गरी “टप भ्यूज”को पुरस्कार गायनर्फ चल्खुकी सिम्रन शाक्य तथा नृत्यतर्फ दौबहालकी श्रीजु शाक्यले प्राप्त गरिन् ।

कार्यक्रममा संगीत प्रवीण मोहनप्रसाद जोशीलाई “ललितरत्न” उपाधिबाट विभूषित गर्दै सम्मान गरिएको थियो । सम्मान ग्रहण गरेपश्चान आफ्नो मन्तब्यमा राख्ने क्रममा विगत, वर्तमान तथा भविष्यका कलाकारलाई ध्यानमा राखी ललितपुर महानगरपालिका १६ वडाको कलाकार समितिले आयोजना गरेको कार्यक्रमबाट आफू निकै प्रभावित भएको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कलाकारहरुका लागि ललितपुर महानगरपालिका १६ वडाले गरेको कार्यलाई महानगरपालिकाले अझ ब्यापक गर्ने बताउनु भयो ।

ललितपुर महानगरपालिका वडा १६ अध्यक्ष निर्मलरत्न शाक्यले विगतको ऐतिहासिक कला, सम्पदाको संरक्षण जति महत्वपूर्ण छ वर्तमानका कलाकारहरुको विकास तथा योगदान पनि त्यतिकै आवश्यक रहेको र भविष्यले गौरव गर्ने कार्य यो पुस्ताले गर्नुपर्ने औंल्याउनु हुँदै स्थानीय तहले गर्न सक्ने कार्यमा आफ्नो तर्फबाट कुनै कसर नरहने बताउनु भयो ।

कार्यक्रममा संयोजक सुरजवीर बज्राचार्यले धन्यवाद दिँदै सबै स्थानीय तहले यसरी नै कला क्षेत्र एवं कलाकारलाई ध्यान दिने, प्रोत्साहित गर्ने हो भने समाज नै खुशी हुने बताउनु हुँदै आफ्नो नेतृत्वमा रहेको समितिले निरन्तर विभिन्न कार्यक्रममार्फत कलाकारहरुका लागि क्रियाशील रहिरहने बताउनु भयो ।

पाटन दरवार क्षेत्रको कार्तिक डबलीमा आयोजित कार्यक्रममा १६ वडाका लोकप्रिय कलाकारहरु सुरजवीर, भूपेन्द्र बज्राचार्य, नील शाक्य, मोहिद्दिन खान, अमोघवीर बज्राचार्य, अमर चित्रकारले गीत प्रस्तुत गरेका थिए भने लोकप्रिय कोरियोग्राफर निसिला शाक्यले नृत्य प्रस्तुत गर्नुभएको हो भने १६ वडाका संचार क्षेत्रमा स्थापित अनुप शाक्य, मञ्जु बज्राचार्य, सलोना बज्राचार्य, प्रलिशा शाक्यका साथै सुरजवीर र अमोघवीरले कार्यक्रम संचालन गनुभएको हो ।

कार्यक्रमको आरम्भ दुर्गालाल श्रेष्ठको रचना तथा अमरराज शर्मा संगीत एवं स्वरमा रलेन, यादवको साथ रहेको नेपाल सम्वतअनुसार नयाँ बर्ष मनाउने परम्परा विश्लेषण तथा शुभकामना ब्यक्त गरिएको लोकप्रिय गीत “न्हूदँ म्हिगःथें थौं नं वइच्वन” गीतको प्रस्तुतिबाट भएको थियो भने वडा समिति, कलाकार समिति, सल्लाहकार एवं प्रतिस्पर्धीहरुको समूहले उक्त गीत प्रस्तुत गरहेका थिए । प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने प्रतिस्पर्धीको गीत तथा नृत्य पनि प्रस्तुतिबाट कार्यक्रम समापन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *