गुरुको पहिचान र जीवनमा गुरुको महत्व


बिष्णु प्रसाद रुपाखेती

गूरु को हुन् ?
हिन्दू धर्मशास्त्रमा गुरुलाई भगवान भन्दा माथिल्लो दर्जा दिइएको छ । भगवानलाई चिनाइ दिने व्यक्ति गुरु भएकोले यस्तो मानिएको हो । भगवानको शक्ति बिना यो संसार निमेषभरमा ध्वस्त हुन्छ । यो सम्पूर्ण चराचरजगत् उनकै परिकल्पना हो, उनकै सिर्जना हो । भरणपोषण उनैले गर्दछन् । उनको कृपा बिना न एउटा पात हल्लिन्छ, न जलको एक बुँद धर्तिमा झर्दछ । न जलचर, न थलचर न उभएचर कसैको पनि अस्तित्व रहँदैन । यो अदृश्य, अकल्पनिय शक्तिको स्रोतसँग साक्षात्कार गराउने उनै गुरु हाम्रा पथ प्रदर्शक हुन् ।

” गुरुर्ब्रम्हा गुरुर्बिष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुःसाक्षात् परब्रम्ह तस्मै श्रीगुरुवे नमः । “

संस्कृत भाषाको यो गुरुबन्दनाले गुरुको महत्व स्पष्ट पारी दिएको छ । यसको अर्थ हुन्छ की – गुरु ब्रम्हा हुन् । ब्रम्हालाई संसारको सृष्टिकर्ता (generator) मानिन्छ । गुरु बिष्णु हुन् । बिष्णुलाई (operator) मानिन्छ । गुरु महेश्वर हुन् । महेश्वरलाई (destroyer) मानिन्छ । Generator को G, Operator को O, र Destroyer को D मिलेर GOD बनेको हो । उक्त बन्दनाको पहिलो शब्द गुरु पनि गु र रु दुई अक्षरहरु मिलेर बनेको छ । गु को अर्थ अन्धकार र रु को अर्थ अन्धकारलाई हटाउने व्यक्ति भन्ने हुन्छ । यसर्थ अज्ञानतारुपी अन्धकारबाट ज्ञानरुपी उज्यालो तर्फ डो-याउने व्यक्ति नै गुरु हुन् ।

गुरुको आवश्यकता किन पर्दछ ?
मानवको जीवन लिएर जन्मेपछि उसले जीवनकालमा समयचक्रसँगै तत्कालीन र दिर्घकालीन उद्देश्य तय गर्दछ । कुनै पनि उद्देश्य ब्यक्तिको आफ्नै मेहनतले मात्र प्राप्त हुँदैन । उसलाई मार्गदर्शन चाहिन्छ । यो मार्गदर्शन गुरुले मात्र दिन सक्नुहुन्छ । गुरुको पथप्रदर्शन र चेलोको मेहनतको क्रममा कृपा, आशिर्वादको शख्त जरुरी पर्दछ, जसरी रोपेको बिरुवालाई हेरचाह गर्नको लागि मालिको जरुरत पर्दछ । गुरुको ज्ञान, अनुभव र कृपाद्धारा मात्र ब्यक्ति गन्तब्यमा पुग्न सफल हुन्छ । तसर्थ यो मानवरुपि जीवनमा गुरुको अत्यन्त आवश्यकता पर्दछ । भौतिकवादको चरमोत्कर्षको यो समयमा ब्यक्तिले गुरुको साक्षात्कार, कल्पना र अस्तीत्वको महशुश गरेको हुँदैन र धेरैमा विश्वास पनि हुँदैन । गूरुको रुपमा उसले पाएको प्रथम गुरु माताको भूमिकालाई आफु माता पिता नबनुन्जेल कुनै व्यक्तिले महशुुस नै गर्न सक्तैन । आफ्ना बालबच्चाको लालनपालन, शिक्षादिक्षा, भरणपोषण गर्ने समयमा मात्र उ पहिलोपटक ब्युझन्छ । मातापिताले धेरै कुरा दिएका हुन्छन् । यस त्यस अवस्थामा दिएको कुराको महत्व बझिदैन । जब व्यवहारले उसलाई बुझ्ने बनाउँदछ, मातापिताको यो धर्तिबाट परलोकगमन भैसकेको हुन्छ । मातापिता ब्रम्हलोक प्रस्थान गरेपछि दोस्रो पटक ब्यक्ति ब्यूझन्छ । अलिकति गुरुतत्वको महशुुस गर्दछ ।

यो अवस्थामा आइपुग्दा ब्यक्तिहरुले ब्रम्हचर्य सकेर गृहस्थीजीवन विताइरहेका हुन्छन् । आफ्नो औपचारीक शिक्षा सकेर पेशागत जीवन यापनको क्रममा धेरै हण्डरठक्कर पाईसकेको हुन्छ र अन्य धेरै व्यक्तिहरुको संगत, विचारलाई अनुशरण गर्ने क्रममा आफ्नो वास्तविक क्षमता र अस्तीत्व बुझ्न थाल्दछ । आफुलाई सकारात्मक र नकारात्मक सुझाव दिने ब्यक्तिहरुको तुलनात्मक मूल्यांकन गरेर ठीक र बेठीक ब्यक्तिहरु छुट्याउन थाल्दछ । विविध समयखण्डमा भगवानको दुत बनेर उसलाई प्रत्यक्ष्य, अप्रत्यक्ष्य ज्ञान दिइरहेका गुरुहरुलाई चिन्न थाल्दछ । अध्यात्मको अलिकति पनि विजारोपण भएको रहेछ भने उसको जीवनयापन सात्वीक हुन थाल्दछ । गुरुको महत्व, आवश्यकता बुझेपछि गुरुको चरणस्पर्श गर्न पुग्दछ । शारीरीक शक्ति, विश्वविद्यालयको डिग्री, पद, प्रतिष्ठा, बैंक व्यालेन्स, आलिशान महल र सुविधासम्पन्न जीवनशैलीले उसलाई तामसी बनाइदिएको हुन्छ । यसैलाई स्वर्गको उपमा दिएर अज्ञानताको खाल्डोमा चुर्लुम्म डुबेको हुन्छ । मानिसको सोचाई र बुझाइको पराकाष्ठले पानी सुकिसकेको कुवाको अर्थ महशुस हुन थाल्दछ । यहि डुबाइबाट उतार्नको लागि जीवनमा गुरुको आवश्यकता पर्दछ । सामाजिक रुढीवादी विचारबाट उन्मुक्त जीवन जिउने कला गुरुले नै सिकाउनु हुन्छ । वर्वरताबाट भावनात्मक बनाउने उनै गुरु हुन्छन् । सिर्फ गुरु हुन्छन् ।

गुरुको गुणहरु
गुरु नि:स्वार्थी हुन्छन् । सत्यवादी हुन्छन् । आदर्शले भरपुर हुन्छन् । सद्गुणि हुन्छन् । सांसारीक मोहजालबाट छुट्कारा पाएका हुन्छन् । ब्रम्हज्ञान पाएका हुन्छन् । आत्मज्ञानी हुन्छन् । भगवान प्रति समर्पित हुन्छन् । अहंकारलाई जीतेका हुन्छन् । चराचर जगत प्रति समभाव दर्शाउने हुन्छन् । व्यक्तिगत अनुभवबाट अनुशासीत हुन्छन् । न उनलाई भौतिक सम्पती चाहिन्छ, न भौतीक सम्पतीमाथि स्वामित्व नै । धर्तीलाई सिरानी बनाएर आकाशको सिरकले पनि निद्रा मिल्दछ उनलाई । न उनलाई शांसारीक शुख चाहिन्छ, न कसैको प्रशंसा । न विलासिता न सार्वजनिक प्रतिष्ठाको आवश्यकता । उनको नाम प्रचारको लागि न विज्ञापन चाहिन्छ न चेला । त्यसैले त राजनेता कुनै एउटा देशको कुनै भौगोलिक शिमाभित्र मान्य हुन सक्दछ, त्यो पनि लाखौं करोडौंमा एक । तर गुरुको न कुनै भौगोलीक क्षेत्रभित्रको सिमा हुन्छ, न कुनै भाषा, न जातपात भित्रको । उनी त तीन त्रीलोक चौध भुवनमा पुजनीय हुन्छन्, प्राथनिय हुन्छन् । यस्ता गुरुको विशेषतालाई विर्सेर मानिस २÷४ घण्टा कुनै विद्यालय, विश्वविद्यालयमा पेशागत शिक्षण गर्नेलाई गुरु मानेर गुरुपूर्णिमा मनाइरहेको हुन्छन् । जीवनयापनको लागि दुइटा रोटी कमाउन सक्ने बनाउने व्यक्तिको रुपमा उनलाई पनि सम्मान गर्नु नराम्रो होइन तर गुरु तिनै हुन् भनेर मात्र चिनाउने, चिनीने र स्वनामधारी हुने हो भने वास्तविक गुरुको अपमान हुनसक्दछ । सबै गुरु अशल शिक्षक हुन सक्दछन्, सबै शिक्षक गुरु बन्न पक्कै सक्दैनन् । पुर्वीय सभ्यतामा त गूरु असख्य थिए र छन् । रामानुज, संकराचार्य, राघबेन्द्र, गोरखनाथ, अभिनवगुप्ता, रमण महर्षि आदि । धेरै त अहिले पनि जीवीत हुनुहुन्छ, मानवजीवनलाई धन्य बनाउन लागि पर्नु भएको छ ।

वैदिककालमा गुरुको धेरै नै सम्मान गरीन्थ्यो । जसले ब्रम्हज्ञान प्राप्त गरेको छ, उनलाई गुरु मानिन्थ्यो । उनी वेदको ज्ञाता हुन्थे । जुनसुकै जात र थरका व्यक्तिहरुले वेदको अध्ययन गरेर आफ्नो व्यवहारमा पालना गरेका हुन्थे । सबै रुपले शुद्ध हुन्थे । राजपरिवारमा राजकुमार राजकुमारीलाई शिक्षा दिक्षा दिन लगाइन्थ्यो । राजकिय सभामा सम्मानको साथ आशनग्रहण गराइन्थ्यो । शाशास्त्र हुन्थ्यो । आध्यात्मिक प्रवचन गराइन्थ्यो । त्यसैको आधारमा न्याय अन्याय छुट्याइन्थ्यो । अष्टाबक्रलाई यसै आधारमा जनक राजाको राजमहलमा बोलाइएको थियो । अष्टाबक्र र राजा जनकको बिचको संवाद नै साँख्ययोगको बिजारोपण हो । उनी साँख्ययोगका प्रवर्तक मानिन्छन् ।

गूरु चेलाका मननिय केहि प्रशंगहरु
गुरुहरु कतिसम्म सामान्य हुन्थे तर दार्शनिक हुन्थे भन्ने कुरा ग्रीसका दार्शनिक सुकरातको एउटा प्रशंग उल्लेखयोग्य छ । सुकरातको वासस्थानमा धेरै व्यक्तिहरुको आवतजावत हुन थालेपछि त्यसकै वरीपरीका युवाहरु सुकरातलाई गुरु मानेर आफुहरु पनि त्यहिबाटोमा लाग्ने उद्देश्यले भेट्न गए । सुकरातले स्वीकार गरे । दैनिक प्रवचनमा आउने तिथिमिति मिलाएर फर्किए । फेरी बाटोमा सुकरातसँग त्यस्तो के ज्ञान छ, जुन अरुमा छैनहोला भन्ने प्रशंग उठेकाले तत्काल उनलाई सोध्नको लागि युवाहरु फेरी गए र उनलाई सोधि पनि हाले । गूरु हजुरलाई त्यस्तो के कुरा थाहा छ, जुन अरुलाई थाहा छैन र हजुरलाई सबैले मान्दछन् ? उनले तत्काल जवाफ दिए मलाई केहि कुरा पनि थाहा छैन भन्ने कुरा थाहा छ । युवाहरुले यो कुरालाई बुझ्न सकेनन्, हावादारी माने र फर्किए । दोस्रो दिनदेखि फर्केर गएनन् । उनै सुकरात प्लेटोका पनि गुरु थिए । अरिष्टोटलको गुरु प्लेटो थिए । पछि उनै सुकरातलाई हेम्लक नामक बिष पिलाएर मारियो । सत्यको बाटो नछोड्ने प्रणले उनको भौतिक शरीर त तत्कालै सकियो, उनको विचार अजर अमर छ । स्वामि रामकृष्ण परमहंश घाँटीको क्यान्सरले पिडित थिए । भनिन्छ उनी देवीका भक्त थिए । उनीसँग साक्षात्कार हुन्थ्यो । उनले चाहेको भए त्यो क्यान्सरबाट मुक्ति पाउनको लागि शक्ति माग गर्न सक्दथे । तर मागेनन् । परमात्माको चाहना यस्र्तै हो भने किन लामो आयु बाँच्नु भन्ने विचारले छोटो आयुमै ब्रम्हलिन भए । ज्ञानको खजानाबाट डाँकु रत्नाकार बाल्मीकि भए । द्रोणाचार्यले एकलब्यको गुरु बनि दिने प्रस्ताव अस्वीकार गरेका थिए । एकलब्यले द्रोणाचार्यको मूर्ति बनाएर गूरु मानेर धनुर्विद्या सिके । उनै द्रोणाचार्यलाई के गूरुदक्षिणा टक्¥याउँ भनी सोध्न जाँदा दाहिने हातको बुढीऔंला मागे । बिना कुनै हिचकिचाहट आफ्नो औंला काटेर दिए । तन्त्र विद्याका प्रवर्तक शिव विश्वकै महान् गुरु मानिन्छन् । पार्वतीका गुरु पनि उनै थिए । बिष्णु, कृष्ण पनि संसारकै गुरु मानिन्छन् । घाँसी, भानुभक्तका गुरुको रुपमा प्रस्तुत भए । देवता र अशुर दुवैका आ–आफ्ना गुरु थिए । सबै देवताका गुरु बृहस्पती थिए । सुक्राचार्य असुरहरुका गुरु थिए । असुरहरुलाई त राम्रो आसुरी विद्याको लागि गुरु चाहिन्थ्यो भने, हामी त मानव जाती । अति नै आवश्यक छ ।

आज गुरुपूर्णिमा, गूरु व्यासको जन्मदिन् । गुरु शिष्यको परम्पराको शूरुवात गर्ने उनै व्यास थिए । आध्यात्मीक व्यक्तिहरुको लागि त आज विशेष उत्सवको दिन हो । यदि गूरु पाउनु भएको छ भने आज भेटघाट गर्नुहोस् । सकेको उपहार प्रदान गर्नुहोस् । टाढा हुनुहुन्छ भने सन्देश प्रवाह गर्नुहोस् । यदि गुरु पाउनु भएको छैन भने, आफ्ना जीवित मातापिता जो हुनुहुन्छ उहाँलाई गुरु मान्नुहोस् । यदि उहाँहरु जीवीत हुनुहुन्न भने उहाँको सम्झनामा दान गर्नुहोस् । गुरुलाई आत्मसात गर्दै गुरुपुर्णिमालाई सफल बनाउनुहोस । जीवनलाई धन्य बनाउनु होस् । सबै ज्ञात अज्ञात गुरुहरुलाई प्रणाम् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *