गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन उत्पादन शुरु
२० बैशाख २०७८ ।
उद्धव शाही, काठमाडौं ।
काठमाडौं महानगरपालिकाको सहयोगमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन आपूर्तिको लागि अक्सिजन प्लान्ट शुभारम्भ गरिएको छ ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले हिजाे आइतबार अस्पताल पुगेर अक्सिजन प्लान्टको शुभारम्भ गरेका थिए । प्रमुख शाक्यले अहिले अस्पतालमा बाहिरबाट आपूर्ति भइरहेको अक्सिजन बचत हुने एवं यस महामारी व्यवस्थापनमा सहयोग पुग्ने बताउनु भयो ।
प्रमुख शाक्यले गंगालाल हृदय केन्द्र र कान्ति बाल अस्पताल गरी दुई ठाउँको अस्पतालमा अक्सिजन प्लान्ट बिस्तार गरि दुई ठाउँबाट दैनिक करीब २ सय सिलिण्डर अक्सिजन उत्पादन हुने तथा अबको केही दिनमा कान्तिको प्लान्ट पनि सुरु हुने बताउनु भयो । ’
महानगरको करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट दैनिक ६३४५ लिटर अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता रहेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले गंगालालमा आउने विरामीहरुलाई निःशुल्क अक्सिजन र भेन्टिलेटर उपलब्ध गराउने बताउनु भयो । यो निःशुल्क सेवा सञ्चालन गर्न महानगरले गरेको सहयोग उल्लेखनीय रहेको बताए ।
महानगर र केन्द्रका विच गत २०७६ माघ १५ गते सहिद सप्ताह कार्यक्रम पारेर सहमति पत्रमा हस्ताक्षर भएको थियो ।