जात्रा पर्वसंस्कृति

साँखुमा वज्रयोगिनीको मुख्य जात्रा सम्पन्न 

१८ बैशाख २०७८ ।
किचः सिं, साँखु ।

गत शुक्रबार १७ गते साँखुमा जात्राको दौरान चौथो दिन श्री वज्रयोगिनीको मुख्य जात्रा सम्पन्न भएको छ ।
कोभिडका कारण मूख्य जात्रा नहुने होकि भन्ने बजारमा हल्ला चले पनि साँखुबासीहरुबिच मुख्य जात्रा गर्नै पर्ने भन्ने सरसल्लाह अनुसार उक्त जात्रा सम्पन्न गरिएको हो ।

स्वास्थय सुरक्षालाई मध्यनजर गर्दै जात्राको क्रममा स्वयंसेवकहरूद्वारा सहभागीहरुलाई मास्क वितरण गरिनुका साथै सबैले मास्क लगाएका थिए भने स्यानिटाइजर पनि छर्केका थिए ।

साँखुमा मुख्य जात्राको क्रममा बिहान सखारै शुद्ध जल ल्याई पञ्चस्नान पश्चात गुँ बिहार (वज्रयोगिनी) र महांकालमा पूजा पश्चात मन्दिरमा रहेका अन्य देवदेवीलाई नयाँ वस्त्र चढाईन्छ जसबाट गुँ विहारका देवताहरु सिंघिनी र व्यांघिनीलाई स्वर्ण कपडाको लुगा लगाई दिने गरिन्छ ।

सो दिन दिनरात देवढोका खुल्लै राखिन्छ । सरकारी पूजा गरी फर्केपछि साँखुका पाःलाको टोलमा आई अन्य देवदेवीहरुलाई पूजा गरी त्यहाँ पनि नयाँ वस्त्र चढाइन्छ ।

मुख्य जात्रा भनी सो दिन जोगि चक्कर पूजा भनी साँखुको साल्खा टोल र चकुं केब गरी दुई ठाउँमा मनाइन्थ्यो भने आजकल साल्खा टोलमा मात्र मनाइदै आएको छ । यो जोगि चक्कर पूजा नसकाइकन मुख्य जात्रा शु्रु गरिदैन ।
मुख्य जात्राको दिन देवताहरुलाई खतमा बिराजमान गराई साँखु नगर परिक्रमा गराइन्छ । यस दिनको जात्राको क्रममा इल्ला टोल र पुखुलाछि टोलको बिचमा रथ पुगेपछि मरि कसि (मिठाईले भरिपूर्ण घडा) अर्पण गरिन्छ ।

मुख्य जात्राको दिन गुरुजुहरुको आगममा रहेको बसुन्धरा माजुको पनि जात्रा हुन्छ । तर बसुन्धरा माजुको खत भुईमा राख्न नहुने चलन छ । किनभने बसुन्धरा माजु विमानमा सवार भई म्हासुख्वाः माजु (वज्रयोगिनी माई)को जात्रा हेर्न आएको भनिन्छ । यहाँ चार दिनसम्म बसुन्धरा माजु वज्रयोगिनी माई र चिभाः द्य (स्तुपा) सँगै पूजा आजा गरिन्छ ।

परापूर्वकालमा साँखु शंखरापुरका राजा शंखदेवलाई श्री उग्रतारा वज्रयोगिनीले दर्शन दिन आउने बचन स्वरुप मुख्य जात्रा गर्ने गरी आएको भनिन्छ । यसैकारण गुँ बिहार (वज्रयोगिनी) मा राजाहरु जानु हुँदैन भन्ने आख्यान अद्यापि प्रचलनमा छ ।

मुख्य जात्राको दिनदेखि ग्वसि (टुक्रा नगरिएको रुखको एक भाग) बालि राख्ने चलन छ । यसै दिनबाट साँखुमा देवाःमतः (एक विशेष आकारको दियो) बालि भक्ति भाव सहित पूजा अर्चना गर्ने गरिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *