संस्कृतिस्थानिय समाचार

ललितपुरको भण्डारखालमा शुरु गरियो ६ सय वर्ष पुरानो परम्परा

आकाश राजोपाध्याय, ललितपुर, २८ फागुन २०७७ ।

ललितपुरको भण्डारखाल बगैंचास्थित मणिकेश्वर महादेवको रुद्रि गर्ने परम्पराले पुनः निरन्तरता पाएको छ । सय वर्षभन्दा बढी समयदेखि रोकिएको यो परम्पराले हिजोबाट फेरी निरन्तरता पाएको हो । पाटन संग्रहालयको पहलमा हिजो ललितपुर तलेजुका पुजारीहरुले मणिकेश्वर महादेवको रुद्राभिषेक पूजाको साथमा चण्डि पाठ गरेका थिए । तलेजुका पूजारीहरु वासुदेव ज्वालानन्द राजोपाध्यायले एकादश आवृत्ती रुद्राभिषेक पूजा गरेका थिए भने रक्षण राजोपाध्यायले सप्तसती चण्डि पाठ गरेका थिए ।


रोकिएको परम्परालाई निरन्तरता दिन हिजै क्षमापूजा पनि गरिएको थियो । महाशिवरात्रीको अवसर पारेर भण्डारखालमा मणिकेश्वर महोदवको रुद्रि गर्ने परम्परा रहेको थियो । तर यो परम्परा निकै समय अगाडीबाट रोकिएको थियो ।

पछिल्लो पटक यो रुद्रि कहिले गरिएको थियो भन्ने यकिनका साथ भन्न नसकिने पाटन संग्रहालयका अधिकृत सुरेश लाखेले बताए । यहाँ भएको अभिलेखको अध्ययनपछि महाशिवरात्रीको दिन यहाँ रुद्री गर्ने परम्परा रहेको जानकारी पाएकाे बताउँदै यो परम्परा रोकिएको सय वर्षभन्दा बढी भएको हुनुपर्छ । यसपटकको महाशिवरात्रीबाट यस परम्परालाई पुनः निरन्तर गरिएको हो ।

अभिलेख अनुसार यस मणिकेश्वर महोदवको शिवलिङ्गको स्थापना ने.सं ५३५ (वि.स. १४७१) पौष शूक्लपूर्णिमा बुधवारका दिन भएको थियो । जयज्योतिर्मल्लको पालामा वंथुनिम्ह निवासी यंकुलि वर्मा, उनकी पत्नी मदन लक्ष्मी र छोरा जयसिंहसहित भई शिवरात्री व्रत मनाउन साढे ३ रोपनी जग्गा राखी गुठी चलाई उक्त महादेव स्थापना गरेर रुद्राभिषेक पूजाको शुरुवात गरेको अभिलेखमा उल्लेख गरिएको छ ।

तलेजु पूजारी रक्षण राजोपाध्यायका अनुसार सो रुद्राभिषेक पूजा सम्पन्न भएपछि यस मणिकेश्वर महादेवको नित्य पूजा पनि शुरु गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *