मोक्षबहादुर अमात्यको हाइकु साहित्य “तिकि तिकि” र गिती एल्बम “छ व जि” लोकार्पण
काठमाडौं, २८ फागुन २०७७ ।
नेपालभाषाका मूर्धन्य साहित्यकार मोक्षबहादुर अमात्यको नेपालभाषाको पहिलो हाइकु साहित्य ‘तिकि तिकि’ र वहाँकै रचनामा तयार भएको गीतको एल्बम ‘छ व जि’ को लोकार्पण एक विशेष कार्यक्रमका बिच हिजो सम्पन्न भएको छ ।

नेपालभाषाका वरिष्ठ समालोचक एवं साहित्यकार डा. मोहन हिमांसु थापाको प्रमुख आतिथ्यतामा ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक एवं कार्यक्रमका सभापति नरेश वीर शाक्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि, सभापति, सर्जक मोक्षबहादुर अमात्य, साहित्यकार यज्ञरत्न धाख्वाः, डा. पुष्पराज राजकर्णिकार, सुरेश प्रधान, शाक्य सुरेन लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरिएको थियो भने, गीत संगीत क्षेत्रका जीवित जल्मी, सानुबाबु महर्जन, प्रवेशमान शाक्य लगायतका व्यक्तित्वहरुले एल्बमको लोकार्पण गरेका थिए ।
स्वागत मन्तव्यको क्रममा ईलोहं प्रकाशनका मुख्य व्यवस्थापक तथा पेजथ्री पत्रिकाका सम्पादक दर्शनवीर शाक्यले नेपालभाषा साहित्यको उत्थान र साहित्यकारको प्रोत्साहनका लागि इलोहं प्रकाशनबाट निरन्तर पुस्तक प्रकाशन गर्दै आएको र यसलाई निरन्तरता दिइने प्रतिबद्धता जाहेर गर्नुभयो ।

लोकर्पण गरिएको हाइकु पुस्तकका बारेमा र हाइकु साहित्यका सम्बन्धमा विभिन्न साहित्यकारहरुले आफ्नो विचार व्यक्त गरेका थिए भने एल्बममा समावेश गीतका सम्बन्धमा गायक तथा संगितकार अमरराज शर्माले आफ्नो विचार राखेका थिए ।
नेपालभाषा साहित्यफाँटका दिग्गज एवं साहित्यप्रेमीहरुको उपस्थिति रहेको सो कार्यक्रममा पुस्तक र एल्बम प्रकाशनमा सहयोग गर्ने सहयोगी हातहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

साहित्यकार मोक्षबहादुर अमात्यका “जनबहाद्यःया बाखं”, “छंगु हे नामय्” कृतिहरु यस अघि प्रकाशित भैसकेका छन् ।