जात्रा पर्वसंस्कृति

आज यःमह्री पुन्हि अर्थात् नेवाःहरुले मनाउने एक विशेष चाड

पुष १५, २०७७ ।
काठमाडाैं । आज यःमह्री पुन्हि, नेवाःहरुले मनाउने एक विशेष चाड, आजका दिन नयाँ बाली भित्र्याएको धानको पिठाेबाट बनेकाे एक विशेष परिकार यःमह्री बनाई खाने र बाँड्ने गरिन्छ ।
यःमह्रीकै सम्बन्धमा एक लाेकगित पनि प्रचलित रहेकाे छ, जुन गाउँदै आजकै दिन यःमह्री माग्दै खान जाने प्रचलन हराउँदै गै पुनः एकाध  स्थानमा शुरू गरीदै छ ।
“यःमह्री च्वामु, उकि दुने हामु, ब्युम्ह ल्यासे, मब्युम्ह बुरिकुती
त्यछिं त्य बकछिं त्य लातापाता कुलेचा जुस्यं त्य”
“अर्थात् यःमह्रीमा चुच्चाे हुन्छ, त्यसभित्र मीठाे चिज हुन्छ, दिने मान्छे धेरै राम्राे नदिने मान्छे खराब,
भरी भएनि हुन्छ, आधा भरेनि हुन्छ, नाप ताैल सहि चाहिदैन माना पाथी जे सुकै हाेस् भरी नै चाहिन्छ ।”
यसैसँग सम्बन्धित एक ऐतिहासिक कथा अनुसार पाञ्चाल देश (हालको पनौती) मा सुचन्द्र महाजन नाम गरेका एक दानी र धर्मात्मा दम्पति बस्दथे । उनीहरुको दयालु स्वभाव संसारभर फैलिएको थियो । एक दिन कुबेरलाई सुचन्द्र महाजन दम्पति कत्तिको दानी रहेछन् भनि बुझ्न मन लागेछ ।कुबेरले एक दरिद्र रुप धारण गरी उक्त महाजनको घरमा माग्न पुगेछन् । महाजन दम्पतीले दरिद्र रुपी माग्नेलाई स्वागत सत्कार गरी पकाएर राखेको यमरि सहित खानेकुरा खुवाउनुको साथै श्रद्धा गरेकाले कुबेर खुसी भै आफ्नो सक्कली रुप देखाएछन् र ति महाजन दम्पतिलाई यमरिको गुण र धानको भकारीमा गणेश, कुबेर र तिनका बाहन सहितको प्रतिमा बनाई पूजा गरी यःमह्री चढाउने विधि बताएर अन्तर्ध्यान भएछन् । त्यो दिन मंसिर शुल्क पूर्णिमा अर्थात् थिंलाथ्व पूर्णिमाको दिन थियो । महाजन दम्पतिले कुवेरले दिएको तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको रोटी यःमह्री बनाई अन्न राख्ने भकारीमा विधिपूर्वक स्थापना गरि ४ दिन सम्म छोपेर राखी पूजा गरेछन् र अन्न, धान र यःमह्री पनि दान गरेछन् । भकारीमा चढाएको चार दिनपछि दिइसकेका छोरीचेली समेतलाई माइतमा बोलाइ सपरिवार बसेर यःमह्री प्रसादका रुपमा बाँडेर खाने गरियाे। यसरी यःमह्री खाएकाले शरीरसमेत हृष्टपुष्ट हुन थालेछ र धन सम्पत्तिको बृद्धि हुन थालेछ र आम्दानी पनि बढ्न थालेछ ।
विस्तारै यो कुरा जताततै फैलिएपछि साेही समयदेखि नेवार समुदायमा यःमह्री पून्हीकाे संस्कृति विकास भएको विज्ञहरु बताउँछन् । यसरी कुबेरले भने अनुसार धनधान्य भएको हुनाले त्यहि बेलादेखि मंसिर पूर्णिमाको दिन भर्खरै भित्र्याएको धानबाट यःमह्री बनाएर खाने र पर्व मनाउने चलन चलिआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *