संस्कृति

चथा – नेवार समुदायको सानो दशैं आज

भदौ ६, काठमाडौं ।

नेवार समुदायले आज बेलुकीपख चन्द्रमालाई पूजा गरेर चथा पर्व मनाउँदै छन् । हरेक वर्षभाद्र शुक्ल चौथीको दिन मनाइने चथामा चन्द्रमालाई चोर देवताको संज्ञा दिएर पूजा गरिन्छ । त्यसैले आज चन्द्रमालाई हेर्यो कि मिथ्यामा चोरदोश लाग्छ भन्ने जनविश्वास छ । यस पर्वले नेवार समुदायमा दशैं भित्र्याउने पर्वको रुपमा पनि लिइन्छ ।

साँझ तिर छतको एक स्थानमा लिपपोत गरी कमलको पात विछयाएर कमलको फूल, चथास्वाँ, क्वँचास्वाँ, बुँस्वाँ, अदुवाको बोट, आरुको बियाँ सहित भुटेका गेडागुडी जसलाई नेपालभाषामा छुस्यामुस्या भनिन्छ आदि चढाएर प्रकृतिपूजक नेवाः समुदायले विशेष पूजा गरी चथा चखः मनाउने गरिन्छ ।

पुराणानुसार चन्द्रमाले गणेशलाई हात्तिको जस्तो अनुहार भएको, भुँडी पनि बडेमान भएको भनेर जिस्काएको थियो । गणेशले रिसमा चन्द्रमालाई ‘तिम्रो अनुहार जस्ले हेर्छ उसलाई चोरदोश लागोस्’ भन्ने सराप दिएको थियो । पछि महादेवको अनुरोधमा गणेशले सधैं नभै भाद्र शुक्ल चौथीको दिनमात्र चोरदोश लाग्ने गरि श्रापलाई छोट्टयाएको भन्ने उल्लेख छ । तसर्थ धार्मिक मान्यता अनुसार चथाको रातमा चन्द्रमा हेर्न नहुने धार्मिक विश्वास रहेको छ । चथाको रातमा चन्द्रमालाई हेरेमा चोर हुने धार्मिक विश्वास रहेको छ ।

संस्कृतिविद् हरिराम जोशीका अनुसार हाम्रा नेपालका चाडपर्वहरूको अवलोकनमा न केवल सच्चरित्रका देवताहरू बल्कि चोरी गर्ने जस्ता खराब आचरणका देवताहरूलाई पनि पूजा गरी चाड मनाउने परम्परा हाम्रो समाजमा विद्यमान रहेको पाइन्छ । चोर नै भए पनि यदि त्यसको अभावमा सबैको अकल्याण हुन्छन् भने तिनको पूजा गर्नु उचित नै मानिन्छ । त्यसकारण चथाको दिन चन्द्र दर्शन गर्न नहुने हुँदा हुँदै पनि चन्द्रमाकै पूजा गर्नुपर्ने अनिवार्यता रहेको हो ।

नेवार समुदायले यस पर्वलाई सानो दशैंको रुपमा मनाइ दशैंसँग जोडिएर हेरिने गरिन्छ । चथाको दिन पानी पर्यो कि दशैंमा पनि पानी पर्ने, चथा राम्रो भयो कि दशैं पनि राम्रो हुने नेवार समुदायको विश्वास रहेको छ ।

आजकै दिन गणेशको जन्म भएको विश्वासका कारण गणेश पीथमा धुमधामका साथ गणेश चौथी पनि मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *