अहिलेको संघीयता संघीयता नै हैन : मन्त्री श्रेष्ठ
९ फागुन २०७८ ।
काठमाडाैं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गए पनि वास्तवमा अहिलेको संघीयता संघीयता नै नभएको जिकिर गर्नु भएको छ । संघीयतामा देशका शोषित, उत्पीडित, पिछडा वर्ग र सीमान्तकृत वर्गको जून रुपमा उत्थान हुनु पर्ने हो त्यसो हुन नसकेको भन्दै अहिलेको संघीयता वास्तविक संघीयता नभएको उहाँले भन्नु भयो ।
अहिले संघीयतामा जुन रुपमा प्रदेशको नामाकारण गरिएको छ त्यो वास्तवमा भौगोलिक रुपमा नामकरण गरिएकोले त्यसले वास्तविक रुपमा पहिचानको कुरालाई अस्वीकार गरिएको पनि उहाँले भन्नु भएको छ ।
सो कुरा उहाँले नेवाःहरूको राष्ट्रिय संगठन नेवाः देय् दबूको काठमाडौं महानगर समितिको प्रथम अधिवेशनमा भन्नु भएको हो ।
साथै आफू संघीय मामिला मन्त्री भएपनि मन्त्रालयमा संघीयता सम्बन्धी कुनै काम गर्ने निकाय नरहेको गुनासो गर्नु हुँदै आफूले मन्त्रालय जिम्मेवारी लिएपछि अहिले सम्ममा संघीयता कार्यान्वयन गरी अगाडी जान ऐन निर्माण गर्ने कार्य भइसकेको तर त्यसलाई मन्त्रिपरिषद्बाट स्वीकृत गर्न बाँकी रहेको पनि बताउनु भयो ।
अधिवेशनमा विशेष अतिथि काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आफू यहाँ सम्म आउन चार दशकको राजनीतिक यात्रा गरेको अनुभव सुनाउँदै नेवाः महिलाहरू चुलोचौका, काममात्र सीमित नरही अब राजनीतिक रुपमा पनि अघि बढ्नु पर्ने बताउनु भयो ।
उहाँले आफूहरूले संविधान प्रदत्त अधिकार अनुरुप काठमाडौं महानगरमा स्थानीय भाषाबाट पठनपाठन गर्ने कार्यको कार्यान्वयन गर्न सकेको अत्यन्त खुशी लागेको भन्नु हुँदै नेपालभाषा संरक्षणमा महानगरले गरेको कार्यमा महानगरवासीहरूले पनि साथ दिनु पर्ने बताउनु भयो ।
उद्घाटन विशेष अतिथिमा देय् दबूका केन्द्रीय अध्यक्ष नरेशकुमार ताम्राकार, उपाध्यक्ष चन्द्रलाल राजभण्डारी, महासचिव माइलाबाबु द्यःला, पूर्व महासचिव पवित्र वज्राचार्य, बागमति प्रदेश समिति उपाध्यक्ष भगवान शाक्य, काठमाडौं जिल्ला अध्यक्ष मचाराजा महर्जन लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
बन्दसत्रमा महानगर समितिका सचिव अर्विन्द्रमान सिंले प्रगति प्रतिवेदन, जनसरोकार समितिका संयोजक मिरा महर्जन ताम्राकार र आर्थिक विभागका सहसंयोजक सुनिल महर्जनले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो ।
बन्द सत्रको दोश्रो चरणमा महानगर समितिको नयाँ कार्यसमितिको चयन गरिएको थियो । शोभा महर्जन वज्राचार्यको अध्यक्षतामा नवगठित कार्यसमितिमा रमेशकुमार जोशी वरिष्ठ उपाध्यक्ष, गीता सिख्राकार महिला उपाध्यक्ष, शैलेस डंगोल उपाध्यक्ष, अर्विन्द्रमान सिं सचिव, सुलोचना मानन्धर श्रेष्ठ महिला सचिव र मनोजरत्न शाही कोषाध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिएको छ । समितिमा महानगरका सबै वडाबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू सर्वसम्मत गरिएको छ ।
त्यसै गरी अधिवेशनबाट जिल्ला अधिवेशनको लागि प्रतिनिधिमा श्रीकृष्ण डंगोल, न्हुछेकृष्ण श्रेष्ठ, भरत मालाकार, निर्मला सिं, विनोद तुलाधर, संजय ध्याको, प्रकाशज्योति वज्राचार्य, धनकुमार तण्डुकार, राजाराम कपाली, अञ्जली शाक्य, सुरेश शिलाकार, सिलुकाजी महर्जन, केशव महर्जन, कविता प्रधान व अमिता महर्जनलाई चयन गरिएको छ भने प्रदेश अधिवेशनको लागि अमिता महर्जनयात चयन गरिएको छ भने प्रदेश प्रतिनिधिमा नीलकण्ठ महर्जन, प्रा. बालकृष्ण श्रेष्ठ, अशोककुमार तण्डुकार, संजय महर्जन र उदेन न्हूसाय्मिलाई चयन गरिएको छ ।