जात्रा पर्वसंस्कृति

शुभ साइतमा योसिं (इन्द्रध्वज) प्रतिस्थापन गरिएसँगै येँयाः पर्व शुरु, उपाकु आजै

१९ भदौ २०८२, शरण डंगोल, काठमाडौं ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको काठमाडौंको साँस्कृतिक महोत्सव येँयाः पर्व विधिवतरुपमा शुरु भएको छ । आज विहानको साईतमा योसिं (इन्द्रध्वज) प्रतिस्थापन गरिएसँगै यस वर्षको साताव्यापि येँयाः शुरु भएको हो ।


स्थानिय सायमिहरुको अगुवाइमा गुरुजुको पल्टन (शार्दुल जंग गुल्म) बाट तोप पड्काई शुरु भएको योसिं प्रतिस्थापनको क्रममा अन्य बाजा गाजा लगायत भक्तजनहरुको उल्लेख उपस्थिति हनुमानढोका परिसरमा देखिएको छ ।


येँयाःमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरिन्छ । मृतात्माको मोक्षको लागि नेवाः समुदायबाट मानिने यो पर्व अन्तर्गत आज पहिलो दिन साँझ उपाकु पर्व मनाइयो । यस वर्ष स्वर्गारोहण भएका परिवारका आफन्तजनबाट उपाकु मार्गमा रहेका शक्तिपीथहरूमा काँचो माटोको दियो बाल्दै ‘उपाकु वनेगु’ गरिन्छ । यस क्रममा स्थानियहरुबाट शक्तिपीथमा समयब्व छायेगु तथा बाजागाजा पनि बजाउने गरिन्छ ।


जात्रा अवधिभर जीवित देवी श्री कुमारी, श्री गणेश, श्री भैरवको रथयात्रा गरिन्छ भने दागीं र बौमतः पनि निकालिन्छ । जात्राका मुख्य आकर्षण अन्तर्गत देवी नाच, लाखे आजु, सवद्यः, पुलुकिसी (देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिक), दशअवतार, महाकाली नाच देखाउने गरिन्छ । साथै जात्रा अवधिभर विभिन्न स्थानहरुमा इन्द्र, भैरवको मूर्ति लगायत अन्य मूर्ती र ग्वरः पनि प्रतिस्थापन गर्ने गरिन्छ ।


इन्द्रजात्रा अन्तर्गत आजै यहाँका विभिन्न स्थानमा इन्द्राद्यः ब्वयेगु भनी इन्द्रलाई मचानमा प्रतिस्थापित गरी येँया अवधिभर पूजा आजा गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *