संस्कृति शिरोमणि एवं पुरातत्वविद् हरिराम जोशी तथा संस्कृतिविद् तथा वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ सम्मानित
२९ कार्तिक २०८१, ललितपुर ।
ललितपुर महानगरपालिकाले आज यहाँ आयोजित एक विशेष कार्यक्रममा संस्कृति शिरोमणि एवं पुरातत्वविद् हरिराम जोशी तथा संस्कृतिविद् तथा वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई सम्मानित गरेको छ ।

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ललितपुर महानगरपालिका कला, संस्कृति र सम्पदाको सहर हो, कलासंस्कृति र सम्पदा ललितपुर महानगरपालिकाको पहिचान हो, यी अमूल्य निधिको संरक्षण र सम्बर्द्धनमा ललितपुर महानगरपालिकाले अविच्छिन्न रुपमा काम गर्दै आएको यहांहरुमा विदितै छ । ललितपुर महानगरपालिकाले कलासंस्कृति, सम्पदा संरक्षणमा अनवरत रुपले सक्रिय रहनु हुने व्यक्तित्वको योगदानको कदर गर्दै सम्मान र पुरस्कृत गर्ने गरेको छ । यसअघि पनि संस्कृतिविदः शताब्दीपुरुष सत्यमोहन जोशीको सम्मान स्वरुपः सवारीसाधन, सुरक्षाकर्मी र संचारसाधन उपलब्ध गराएको स्मरण गर्दै आज ललितपुर महानगर निवासी संस्कृति शिरोमणि, अनुसन्धानकर्ता एवम् पुरातत्वविद श्री हरिराम जोशी तथा संस्कृतिविद्, अन्वेषक एवम् वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई सम्मान स्वरुप उहांहरुको दिनचर्यालाई सहज बनाउन सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था गर्ने निर्णय गरेको बताउँदै अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउनु परेको अवस्थामा लाग्ने सम्पूर्ण खर्च समेत महानगरपालिकाले व्यहोर्ने बताए ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यज्यूले उपस्थित महानुभावहरुलाई स्वागत गर्दै सम्मान गर्ने संस्कृति हामी नेपालीमा रहेकाे र विशेषरुपमा नेवाः समुदायमा रहेको बताउँदै आज सम्मानित हुनुहुने वहाँहरु एक व्यक्ति नभै उहाँहरुले गर्नु भएको अध्ययन अनुसन्धानको विशाल भण्डारलाई हामीले एक विश्वविद्यालयको रुपमा लिनु पर्ने बताउनुभयो ।

सम्मानित व्यक्तित्वहरुले पनि आ–आफ्नो मन्तव्यको क्रममा आफ्ना अनुभवहरुलाई प्रस्तुत गर्दै महानगरले यसरी हामीलाई सम्मान गरेकोमा धन्यवाद दिनुभयो ।

