जात्रा पर्वफाेटाे फिचरसंस्कृति

वसन्तपुरमा चिरोत्थान गरी होली पर्व सुरु गरियो

१५ फागुन २०७९, काठमाडौं ।
आज बिहान ७.४५ को शुभ साइतमा वसन्तपुरमा राजकीय सम्मानसाथ चिरोत्थान गरी होली पर्व सुरु गरियो । गुरुजुको पल्टनद्वारा विगतमा जस्तै टोप सहितको सलामी दिई चिरोत्थान गरिएको हो । साथै हनुमान ढोका परिसर, दाख चोक र मोहन चोकमा पनि चिरोत्थान गरिएको छ ।
यहाँका मानन्धर समुदाय (धालसिक्व सायमी) को प्रत्यक्ष संलग्नतामा यो चिर तयार गरिन्छ भने वहाँहरूकै सक्रियता चिर ठड्याइन्छ र पूर्णिमाका दिन सो चिर ढाली टुँडिखेलमा लगेर दहन गरे पछि होली पर्व समाप्ति हुन्छ ।
ऋतुराज वसन्तको आगमनसँगै नेपालमा मनाइने पर्व हो होली । जसलाई फागु पनि भनिन्छ, अबिरको जात्रा पनि भनिन्छ । हिन्दूहरुले मनाउने यो पर्व नेवार समुदायमा पनि अत्यधिक प्रभाव रहेको छ । जसमा एउटा लोकगीत निकै नै प्रचलित छ ‘अबिरया होली तं चायाला ल्यासे, अबिरं छंगु ख्वा हिसी दयेका बि’ । प्राचीन कालदेखि प्रचलित हुँदै आएको यो पर्वलाई वसन्तोत्सवको रूपमा पनि लिइने गरिन्छ । विभिन्न प्राचीन ग्रन्थहरू कामसूत्र, लिङ्ग पुराण, वराह पुराण, भविष्योत्तर पुराण, महाभारत आदिमा यस पर्वलाई आ–आफ्नै कथा वस्तु अनुसार होली या फागुको रूपमा वर्णन गरिएको पाउँछौ ।
गोपालराज वंशावली अनुसार नेपालमा यो पर्व पूर्व मध्यकालदेखि सुरु भएको इतिहास पाइन्छ । होली फाल्गुण अष्टमीका दिन चिरोत्थान पश्चात् आठ दिनसम्म मनाइन्छ र पूर्णिमाको दिन चिर दाह पश्चात् यो पर्वको समाप्ति हुन्छ ।
एक आख्यान अनुसार भगवान् श्री कृष्णको समयमा गोपिनीहरू यमुना नदीमा सर्वाङ्ग नाङ्गो रही नुहाउने गर्दथे । सर्वाङ्ग नाङ्गो भई नुहाउनु अशोभनीय कार्य हुँदा श्रीकृष्णले ती गोपिनीहरूलाई ठीक बाटोमा ल्याउने उद्देश्यले तिनीहरू नुहाइरहेको बेला तिनीहरूका सम्पूर्ण लुगा फाटो रूखमा झुन्ड्याइदिएका थिए । पछि ती ग्वालिनीहरूले आइन्दा नाङ्गो भई ननुहाउने बाचा गरेपछि भगवान् श्रीकृष्णले उक्त लुगाहरू तिनीहरूलाई पुनः फर्काइदिएका थिए । चिरोत्थान गर्दा रूखमा विभिन्न रङ्ग विरङ्गी कपडाका टुक्राहरू झुन्ड्याउने जुन परम्परा छ त्यसको सम्बन्ध उपर्युक्त आख्यानसित नै सम्बद्ध रहेको स्पष्टतः देखिन आउँछ ।
त्यस्तै अर्को आख्यान अनुसार दानवराज हिरण्यकशिपुले आफ्ना विष्णुभक्त पुत्र प्रल्हादलाई बहिनी होलिकासँगै आगोमा राखी दाह गर्ने प्रयास गरेको, तर प्रल्हादलाई आगोले नछोएको र अग्निले नछुने वरप्राप्त होलिका स्वयम् नै दाह भएको घटनालाई लिई तिनकै नाममा होली उत्सव मनाई चिर दाह गरिएको सित सम्बन्ध रहेको स्पष्टतः देखिन आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *