आजबाट माधवनारायण व्रतको परदेश यात्रा सुरू
१६ माघ २०७८ ।
पवनलाल-किच, साँखु ।
साँखुमा हरेक वर्ष मिलापुन्हिदेखि सिपुन्हिसम्म मनाइने माधवनारायण व्रतको परदेश यात्रा आजबाट शुरु भएको छ ।
यस क्रममा आज पहिलो दिन शालिनदीबाट बज्रयोगिनी मन्दिरसम्म दुंदनेगु (अष्टाङ्ग दण्डवत) गर्दै जाने र १७ गते साँखुबाट बज्रयोगिनी र पशुपति, १८ गते पशुपतिबाट फर्पिङ्गमा बास बस्ने, १९ गते फर्पिङ्गबाट साँखु बास बस्ने, २१ गते साँखुबाट पनौति बास बस्ने, २२ गते पनौतिबाट साँखु बास बस्ने, २३ गते श्रीपञ्चमी पर्व, २५ गते लगला सप्तमी पर्व अन्तर्गत व्रतालुहरु झकीझकाऊ भै साँखु नगर परिक्रमा गर्ने, २७ गते द्रोण नवमीका दिन व्रतालुहरुलाई तस्मी भोजन गराइने छ भने माघ २९ गते साँखुबाट चाँगुनारायण पुगी १ गते चाँगुबाट साँखु फर्केपछि यस वर्षको माधवनारायण व्रतको परदेश यात्रा समाप्त हुन्छ ।
यसरी परदेश यात्रामा जाँदा साँखुको माधवनारायणलाई निश्चित स्थानमा राखी व्रतालुहरुद्वारा व्रत पूजा हुन्छ भने पुरुष व्रतालुहरुद्वारा सहस्रधारा बगाइन्छ र अष्टाङ्ग दण्डवत गर्ने गरिन्छ ।
यस्तै गरी भक्तपुरको हनुमानघाटमा हुने माधवनारायण व्रतको पनि परदेश यात्रा गर्ने गरिन्छ ।