ललितपुरमा मनमानेश्वरी पायः जात्रा (खड्ग जात्रा) शुरु
२६ असोज २०७८, ललितपुर ।
उपत्यकामा मोहनी नखः अन्तर्गत आज ललितपुर दरबार परिसर मंगलबजारमा मनमानेश्वरी देवी सहित पायः जात्रा (खड्ग जात्रा) निस्कियो । काठमाडौंमा ज्यापु समुदायबाट चालंका दिन महाबु पायः, यटखा पायः, तेबहाः पायः, कोहिती पायः, कंग अजिमा पायः, भद्रकाली पायः, किलागः पायः आदि निकालिन्छ भने काठमाडौंकै असनमा तुलाधर समुदायबाट गुथिका कान्छा सदस्यलाई थकाली बनाई एकादशीको दिन असं चालं भनी पायः जात्रा निकालिन्छ ।

विविध कारणले बन्द प्रायः भैसकेको ललितपुरको जात्राहरु मध्य २०७५ सालमा भव्य रुपमा यो मनमानेश्वरी पायः जात्रा निकालिएको थियो भने गत वर्ष कोभिडका कारण सांकेतिक रुपमा मात्र जात्रा सम्पन्न गरिएको थियो ।
आज मूँछेँबाट मनमानेश्वरी देवीको पूर्णकदको मूर्ति सहित गुथियारहरु खड्ग बोकी मूलचोकमा भित्र्याइयो भने नवमीको दिन महालक्ष्मीस्थानबाट म्येछ्यो सहित मूलचोकसम्म खड्गजात्रा गरिन्छ र दशमीको दिन थेचो नवदुर्गा भवानी देवगणसँग मंगलबजारमा ढोगभेट पश्चात जात्रा समाप्त हुन्छ ।
तस्विर साैजन्य ः कृतन मंगल जाेशी र शरण ज्यापु हरि