श्री पचली भैरव जात्रा सम्पन्न
२६ असाेज २०७८, काठमाडौं ।
कौलाथ्व पारुदेखि शुरु भएको श्री पचली भैरव जात्रा हिजो सम्पन्न भयो ।
हिजो बिहानैदेखि जात्राको लागि पचली भैरव शक्तिपिठमा विशेष चहल पहल शुरु भएको थियो । गुथियारहरुद्वारा विशेष पूजा आजा सम्पन्न गरी जात्राको लागि जुटेका थिए । ताः गुथि (तान बाँध्ने गुथि) ले जात्राको लागि “ता चियेगु” पश्चात श्री रुद्र विनायक आई पञ्चनाली तीर्थबाट जल ल्याई श्री पचली भैरवको विशेष पूजा आजा पनि गरिएको थियो ।
जात्राको लागि हनुमानढाेका दरबारबाट शार्दुल जंग गुल्मकाे गुरुजुको पल्टन सहित दरबारबाट राज्यको प्रतीक खड्ग आइपुगेपछि जात्रा शुरु भएको थियो । जात्रा शुरु भएपछि गुरुजुको पल्टनले तोप पड्काई सलामी दिए पश्चात जात्रा अघि बढेको थियो । जात्राकाे क्रममा ठाउँठाउँमा ताेप पड्काइएकाे थियाे ।
जात्राको क्रममा देश परिक्रमा अन्तर्गत पचली पिथबाट टेकु मचली, गोफल, लगन, ज्याबहाल, जैशीदेवल, चिकंमुगल, मरु हुँदै बसन्तपुरबाट हनुमान ढोकामा सरकारी पूजा पश्चात जीवित देवी कुमारीसँग कुमारी घरकाे मूल ढाेकामा दृष्टि मिलाएपश्चात मरु, चिकंमुगल, जैशीदेवल, ज्याबहाल, दलाछी, ब्रम्हटोल हुँदै श्वेतभैरवको तीन पटक परिक्रमा पश्चात ज्याबहाल स्थित गुथियारको घरमा भित्र्याए पश्चात जात्रा सम्पन्न भएकोे थियो । काेभिड जाेखिमका कारण हनुमानढाेका अगाडि कुमारीकाे सवारी चलाएर श्री रूद्र विनायक, श्री अजिमा र श्री पचली भैरवसँग दृष्टि मिलाउनु पर्नेमा गतसाल जस्तै यसवर्ष पनि यसरी कुमारी घरकाे ढाेकामै दृष्टि जुधाइएकाे छ ।